जग्गा विवादमा फस्यो भक्तपुरको दमकल कार्यालय, पाँच करोड बजेट आउँदा पनि बनेन नयाँ भवन
भक्तपुर । जग्गा विवादका कारण बजेट बिनियोजन भएर पनि भक्तपुर दमकल कार्यालयको भवन पुनःनिर्माण हुन सकेको छैन् । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको भक्तपुर दमकल कार्यालय भवन पुनःनिर्माणका लागि सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी २००१ सालमा स्थापना गरेर जुद्धबारुणयन्त्र (दमकल) सञ्चालनमा ल्याएको थियो । भक्तपुर नगरपालिका– १ दूधपाटीमा रहेको दमकल कार्यालयले भोगचलन गर्दैआएका जग्गा २०४३ सालमा नेपाली सेनाले आफ्नो नाममा दर्ता गराएपछि नयाँ भवन बन्न नसकेको जुद्ध बारुणयन्त्र (दमकल) कार्यालय भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले बताए । आज भक्तपुर दमकलले भत्किएकै भवनमा ७४ औं स्थापना दिवस मनाइरहँदा उहाँले भने, ‘२००१ सालदेखि जुद्ध बारुणयन्त्रले भोगचलन गर्दैआएको भवन एवं जग्गा २०४३ सालमा कसैलाई थाहै नदिइ सैनिक आवासीय महाविद्यालयले आफ्नो नाममा दर्ता गर्दा अहिले नयाँ भवन बनाउन पाएनौ ।’ दमकल र यहाँका कर्मचारी विगत दुई वर्षदेखि क्षतिग्रस्त भवनमा बस्दैआएका छन् । प्रमुख धौभडेलले भने–’दमकल भवन बसेको जग्गा सैनिक विद्यालयको नाममा हुँदा नक्सापास हुनसकेको छैन, त्यसैले भवनको पुनःनिर्माण अन्योलमा बनेको छ ।’ धौभडेलले जिल्ला प्रशासन कार्यालय भक्तपुर, गृह मन्त्रालय हुँदै रक्षा मन्त्रालयमासमेत दमकलको भवन बनाउन मञ्जुरीनामा माग्दा पनि महाविद्यालयले नै आफैलाई चाहिन्छ अरुलाई दिन मिल्दैन भनेर पत्राचार गरेपछि दमकलको नाममा जग्गा नआएको उनले भने । दमकल कार्यालयको नाममा जिल्लामा अन्त कतै जग्गा नहुँदा भवन कहाँ बनाउने भन्ने अन्यौल बनेको छ । सरकारले बहु वार्षिक बजेट अन्तर्गत रकम विनियोजन गरेकाले आव ०७४/०७५ मा भवन निर्माण गरिसक्नुपर्ने प्रावधान भएको धौभडेल बताए । भक्तपुर, काठमाडौँ, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदैआएको भक्तपुर दमकलले अहिले आफू बस्ने सुरक्षित ठाउँ एवं भवनसमेत नहुँदा समस्या भोग्नु परेको छ । चारवटा दमकल बिग्रिएर जीर्ण भएपछि हाल मध्यपुरथिमि नगरपालिकाले दिएको र अर्को सिद्धिस्मृति अस्पतालले दिएको दमकल गरी दुईवटा दमकल कार्यालयले सञ्चालन गर्दैआएको छ । आज आयोजना गरिएको स्थापना दिवसमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले दमकलको भवन बनाउन उक्त जग्गा प्राप्तिका लागि आफूले सरकारसँग पहल गर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, कार्यालयका पूर्वप्रमुख माधव सिग्देललगायतले आगलागी र विपद्को साहरा बनेको दमकलको नयाँ भवन निर्माणका लागि अहिले भोगचलन गरेकै जग्गा उलपब्ध गराउनुपर्नेमा जोड दिए । सो अवसरमा कार्यालय हातामा वृक्षरोपणसमेत गरिएको थियो । रासस
एनसिसिआई-वाणिज्य राज्यमन्त्रीबिच भेटवार्ता, लगानी भित्र्याएर व्यापारघाटा कम गर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) ले भारतसँग नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न सहयोगको आग्रह गरेको छ । व्यापार घाटा कम गर्नका नेपालमा पर्याप्त भारतीय लगानी तथा प्रविधि भित्र्याई उत्पादकत्व क्षमता तथा प्रतिस्पर्धी क्षमता विस्तारमा सहयोग गर्न महासंघले भारतीय वाणिज्य राज्यमन्त्री निर्मला सितारमणसँग आग्रह गरेको हो । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा भारत भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डलले आज भारतीय वाणिज्य राज्यमन्त्री सितारमणसमक्ष वाणिज्य मन्त्रालयमा भेटवार्ता गरेको छ । सन् १९९६ मा सम्पन्न व्यापार सन्धी दुई देश बीचको आर्थिक, व्यापारिक तथा लगानी विस्तारमा महत्वपूर्ण औजारको रुपमा रहेको बताउँदै अध्यक्ष राणाले निरन्तर रूपमा बढ्दै गएको व्यापार घाटा नेपालका लागि अत्यन्त चिन्ताको विषय भएको बताए । पछिल्लो तथ्यांक अनुसार आयात निर्यातको अंश १५:१ रहेको छ । राणाले खाद्यन्न प्रशोधन, ऊर्जा उत्पादन तथा विकास, सेवा क्षेत्रमा भारतीय लगानीको आवश्यकता रहेको बताए । उनले भनिन्, ‘जसले भारतीय बजारमा नेपाली निर्यात बढाउन प्रत्यक्ष सहयोग पुर्याउछ ।’ वाणिज्य राज्यमन्त्रीसंगको भेटमा महासंघको प्रतिनिधिमण्डलले भारतीय सरकारले लागू गरेको क्वारेन्टाइन, सेनिटरी फाइटो सेनिटरी (एसपिएस), टेक्नीकल ब्यारियर टु ट्रेड (टिबिटि), रुल्स अफ ओरिजिन (आरओओ) जस्ता गैर भंसार अवरोधका कारण नेपाली उत्पादनहरूको भारत निर्यातमा समस्या रहेको स्पष्ट रूपमा राख्यो । यस्ता अवरोधहरूलाई संबोधन गर्न आग्रह गर्दै नेपाली उत्पादनको गुणस्तर एवं ल्याव परीक्षण सुधार लगायतमा भारतीय प्राविधिक सहयोगको लागि अनुरोध समेत ग¥यो । नेपाली ग्यास बुलेटलाई अनुमति दिन आग्रह महासंघले राज्यमन्त्रीलाई अनुमति नपाएर भारतमा अलपत्र नेपाली ग्यास बुलेटको विषय ध्यानाकर्षण गराएको छ । भेटमा भारतीय पेट्रोलियम तथा एक्सप्लोसिभ सेफ्टी अर्गनाइजेशन ले भारतीय मापदण्ड अनुसार भारतमा निर्माण भएका ग्याँस बोक्ने नेपाली बुलेटलाई अनुमतिपत्र जारी नगर्दा निकै ठूलो समस्या परेको कुरा महासंघले उल्लेख गर्यो । प्रतिनिधिमण्डलले आत्मनिर्भर उन्मुख नेपाली अर्थतन्त्र र औद्योगिक विकासमा यसले निकै ठूलो घाटा पुगेकाले समस्या समाधानमा भारतीय वाणिज्य राज्यमन्त्रीको ध्यानाकर्षण गरायो । जिएसटीको प्रभाव सकारात्मक पर्ने भारत सरकारले हालै लागू गरेको जीएसटीबाट नेपालको औद्योगिक विकासमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास प्रकट गर्दै अध्यक्ष राणाले भारतबाट नेपाल निर्यात हुने व्यापारिक वस्तुहरूमा जीएसटी छुट सुविधा रहेपनि सेवामा जीएसटी लाग्ने वा नलाग्ने यद्यपी स्पष्ट नभएपनि जीएसटी छुट हुनुपर्ने सुझाव सो अवसरमा राखे। महासंघको प्रतिनिधिमण्डलले भेटघाटका क्रममा अन्तराष्ट्रिय कम्पनीहरू भारतमा आकर्षित भैरहेको सन्दर्भमा त्यसले भारत तथा नेपाल दुवै देशमा औद्योगिक विकासमा सहयोग गर्ने स्पष्ट पार्दै कोलकत्ता तथा विशाखापटनमबाट नेपालको भैरहवाको नौतनवा, विराटनगरको जोगवनी, सीमासम्म ठूला कार्गो बोक्ने रेल आवात जावतको सुविधा दिन वाणिज्य राज्यमन्त्री समक्ष आग्रह गर्यो ।
आर बी कम्पलेक्स व्यवसायीले बाढीपीडितलाई ६ लाख राहत दिने
काठमाडौं । आर बी कम्प्लेक्स व्यवसायी संघले नेपाल चेम्बर अफ कमर्सको डिजास्टर म्यानेजमेन्ट सेललाई बाढीपहिरो पीडितलाई वितरण गर्न एक लाख ११ हजार र पाँच लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान हस्तान्तरण गरेको छ । आर बी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालको उपस्थितिमा संघका उपाध्यक्ष सुसान्त घिमिरेले सेलका संयोजक एवं चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल नगद जिन्सी (लत्ताकपडा, जुता लगायतका) सामान दिएको हो । यस अवसरमा संघका महासचिव सन्दीपकुमार अग्रवाल, सचिव थानेश्वर ज्ञवाली, चेम्वर कार्यसमिति सदस्य टिकाराम शर्मालगायतको उपस्थिति रहेको थियो ।