मुलुकमा अब ७७ जिल्ला समन्वय समिति कायम हुने, नवलपरासी र रुकुमलाई दुई/दुई जिल्ला
काठमाडौं। निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई÷दुई जिल्ला बनाउने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार आयोगले प्रदेश नं ४ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा प्रदेश नं ५ मा पर्ने रुकुम (पूर्वी भाग) र प्रदेश नं ६ मा रहने रुकुम (पश्चिम भाग) गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको हो । आयोगले उक्त जिल्लामा निर्वाचन गराउनका लागि चार जना जिल्ला न्यायाधीशको नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। उक्त जिल्लामा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि आयोगले गरेको छ । ती जिल्लाको जिल्ला सभाको बैठक राखी जिल्ला समन्वय समितिको सदस्य संख्या निर्धारण गरी मुख्य निर्वाचन अधिकृतलाई उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सम्बन्धित स्थानीय विकास अधिकारीलाई निर्देशन दिने निर्णय पनि भएको प्रवक्ता शर्माले बताउनुभयो । चितवन जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचनका लागि हाल चितवन जिल्लाको मुख्य निर्वाचन अधिकृतका रूपमा कार्यरत जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई नै थप जिम्मेवारी दिने निर्णय पनि आयोगले गरेको छ । रासस
नेपाल र भारतबीच आठवटा समझदारी, भूकम्पपछिको पुनःनिर्माण र मेची पुल निर्माण गर्ने
काठमाडौं । नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज नयाँदिल्लीमा दुवै देशका अधिकारीले ती समझदारीपत्र आदानप्रदान गरेका हुन् । भारत भ्रमणमा जाने विदेशका उच्च पाहुनासँग भेटवार्ता हुने हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्ता र सोही स्थानमा आयोजित विशेष समारोहमा दुवै देशका प्रधानमन्त्री, मन्त्रिगण र उच्च पदाधिकारीको उपस्थितिमा सम्बद्ध अधिकारीले आजै ती समझदारीपत्र आदानप्रदान गरेका हुन् । भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित चार र मेची पुल निर्माण, लागुऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रण, गुणस्तर मूल्याँकन र लेखा परीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । भूकम्पबाट भत्केका ५० हजार घर पुनःनिर्माण, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, स्वास्थ्य क्षेत्रका भौतिक संरचना र शिक्षा क्षेत्रका संरचना पुनःनिर्माण गर्नेसम्बन्धी समझदारीपत्र अर्थ सचिव शान्तराज सुवेदी र भारतको बाह्य मामिला मन्त्रालयका सचिव एस जयशंकरले एकापसमा आदानप्रदान गरेका छन् । मेची पुल निर्माणसम्बन्धी समझदारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र भारतको सडक यातायात राजमार्ग सचिव युधवीर सिंह मल्लिक, लागुऔषधको गैरकानुनी ओसारपसार एवं मनोदीपक पदार्थको नियन्त्रणसम्बन्धी समझदारीमा गृहसचिव लोकदर्शन रेग्मी र भारतका राजश्व सचिव हसमुख अधिया, गुणस्तर मूल्याँकनसम्बन्धी समझादारीमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी र भारतको नाप तौल विभागका महानिर्देशक सञ्जय सिंह तथा लेखा परीक्षण संस्थासम्बन्धी समझदारीपत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रकाश थापा र भारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष निलेस बिकाम्सले हस्ताक्षर गरेका थिए । रासस
प्रधानमन्त्री देउवालाई गार्ड अफ अनर, देउवाले भने,‘सम्बन्ध ऐतिहासिक’
नयाँ दिल्ली । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आज विहान राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । स्वागतपछि मोदीले देउवासमक्ष मिडियालाई संबोधन गर्न आग्रह गरेका थिए । मिडियासँग कुराकानी गर्दै खुल्ला सिमाना रहेको नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताए । उनले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै यो भ्रमणले यो सम्बन्ध अझै प्रगाढ बन्ने बताए । लगतै प्रधानमन्त्री देउवाले महात्मा गान्धीको समाधी स्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेका छन ।