विश्वका सवैभन्दा धनी देशको सम्मेलनमा आइसक्रिम कोसेली

हाङझाउ, २० भदौ । मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि बीस प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिएका छन् । चीनको पूर्वी नगर हाङझाउस्थित सरकारी अतिथिगृहमा चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीलाई स्वागत गर्दा ‘आइसक्रिम’ स्वादको विषयमा भने कुराकानी भएन । ‘तपाईंका लागि मैले यो ल्याउने बचन दिएको थिएँ, मैले तपाईंका लागि आइसक्रिमको एक बाकस नै ल्याइदिएको छु’, रसियाली राष्ट्रपति पुटिनले भने । चिनियाँ राष्ट्रपतिले रसियाली समकक्षीको दयालुपनाका लागि अध्यवाद दिए र आफ्नो मस्को भ्रमणहरुमा आफूले रसियाली आइसक्रिमको स्वाद पाएको बताए । रसियाली प्रतिनिधिमण्डलले दिएको टिप्पणी अनुसार चिनियाँ राष्ट्रपतिले आफू रसिया जाँदा हरेकपटक रसियाली आइसक्रिम खरिद गर्न भनेको र त्यसलाई चीन फर्केपछि उपभोग गर्ने गरेको बताएका थिए । ‘जी ट्वान्टी’ शिखर सम्मेलनका समयमा दुई नेताबीच परम्परागत रुपमा दुई मुलुकबीच सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ । रासस/एएफपी

छुटेका भूकम्पपीडितको नाम सङ्कलन गरिन्छ- प्रधानमन्त्री

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले छुट भएका भूकम्पपीडितको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको बताएका छन । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भूकम्पपीडितको सूचीमा छुट भएका वास्तविक पीडितको नाम थप्ने गरी प्रक्रिया अघि बढेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति सरकार गम्भीर रुपमा लागिरहेको बताउँदै उनले भूकम्पपीडितलाई तत्काल एक लाख थपेर तीन लाख अनुदान दिइने र दुई लाख सहुलियत ऋण गरी पाँच लाख उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको प्रतिनिधिमण्डललाई जानकारी दिएका थिए । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफुले पहल गरिरहेको समेत बताएका थिए । भेटका क्रममा प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि र भूकम्पपछि पनि पीडितलाई राहत र अनुदानका लागि आफु सिन्धुपाल्चोकमा पटक पटक पुगेको स्मरण गराए । सिन्धुपाल्चोकका सांसदको टोलीमा अमृतकुमार बोहरा, अग्निप्रसाद सापकोटा, मोहनवहादुर बस्नेत, शेरबहादुर तामाङ र रमेश लामालगायत सहभागी थिए । प्रतिनिधिमण्डलले छुट भएका भूकम्पपीडितको नाम समावेश गर्नुपर्ने, भूकम्प र बाढीपहिरो पीडितलाई राहत, अरनिको राजमार्ग र तातोपानी नाका तत्काल पुनःसञ्चालन गर्नुपर्ने लगायत माग राख्दै ज्ञापनपत्र बुझाएको थियो । रासस

पूनर्निर्माणको लागि बेलायतद्वारा १० अर्ब १० करोड रुपैयाँ अनुदान

काठमाडौँ, १६ भदौ । भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायत सरकारले १० अर्ब १० करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ । अर्थ मन्त्रालयमा बुधबारआयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र अन्तर्राष्ट्रिय सहयोग विकास विभाग नेपालका प्रमुख गेयल मर्जेट्टीले सहयोगसम्बन्धी पत्रमा हस्तारक्षर गरेका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा र बेलायतको अन्तर्राष्ट्रिय सहयोग विकास विभागका राज्यमन्त्री रोडेरिक जेम्स नुजेन्ट स्टेवार्टको उपस्थितिमा भएको उक्त सम्झौतामा भूकम्प अतिप्रभावित जिल्ला नुवाकोट, रसुवा, धादिङ र गोरखाका १० लाख जनतालाई सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त सहयोग कार्यक्रममा ४०० किमी ग्रामीण सडक निर्माण गरी तीन लाख जनतालाई बजार पहुँच विस्तार गर्ने लक्ष्य छ । त्यसैगरी भूकम्पले क्षति पु¥याएको पर्यटन पूर्वाधारको सुधार गरिनाका साथै दुई लाख ५० हजार जनताको खानेपानी तथा सरसफाइमा सुधार ल्याइने छ । सो अवसरमा अर्थमन्त्री महराले बेलायत नेपालको ऐतिहासिक मित्र भएको उल्लेख गर्दै भूकम्पपछिको पुनःनिर्माणमा सहयोग उपलब्ध गराएकामा बेलायतलाई धन्यवाद दिए ।बेलायती राज्यमन्त्री स्टेवार्टले भूकम्पबाट नेपाल नराम्रोसँग प्रभावित भएको र त्यसबाट लाखौँ जनता मारमा परेकाले नेपालाई सहयोग गरिएको बताए ।