हराएका विदेशी पर्यटक भेटाउनेलाई पाँचलाख रुपैयाँ पुरस्कार
म्याग्दी, १५ असार । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ । जेठ २ गतेदेखि सम्र्पकविहीन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो । प्रहरी, पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, हेलिकप्टर र तालिमप्राप्त कुकुर परिचालन गरेर उइन्सलको खोजी गरिए पनि कुनै पत्तो लागेको छैन । उइन्सलको खोजीका लागि म्याग्दीमा आएका उनका परिवारका सदस्य र आफन्तले उनको बारेमा सूचना दिनेलाई पाँच सय डलर पुरस्कार दिने बताएका छन् । धौलागिरि आधार शिविरबाट तल इटली आधार शिविर फर्कने क्रममा उइन्सल बेपत्ता भएका थिए । स्नोयी होराइजन ट्रेकिङ कम्पनीमार्फत उनी वैशाखको २० गते धौलागिरि बेसक्याम्प पुगेका थिए । रासस
गरिबी घटे पनि जोखिम कायम छ : विश्व बैंक
काठमाडौं, १५ असार । बितेका दुई दशकमा गरिबी घटाउन नेपालले उल्लेख्य प्रगति गरे पनि गरिबीबाट माथि उठेको जनसङ्ख्या पुनः गरिब हुने जोखिम यथावत रहेको एक अध्ययनले देखाएको छ । विश्व बैंक समूहले बुधबार यहाँ ‘मुभिङ अप द ल्याडरः पभर्टी रिडक्सन एन्ड सोसियल मबिलिटी इन नेपाल’ प्रतिवेदन सार्वजनिक गर्दै आम्दानीको दिगोपन नहुँदा गरिबीको रेखामुनिबाट उठेका जनता फेरि गरिबीमै झर्न सक्ने जोखिम रहेको बताएको छ । विप्रेषण आय, गैर कृषि र कृषि क्षेत्रको उचित ज्यालाले गरिबी घटाएको भए पनि आयको दिगोपन एवम् स्थायित्व नहुँदा जोखिम बढेको प्रतिवेदनले औँल्याएको छ । बर्सेनि २.२ प्रतिशतले गरिबी घटेको र कुल जनसङ्ख्याको २५.२ प्रतिशत अझै गरिब रहेको प्रतिवेदनमा उल्लेख छ । रासस
काठमाडौंका बार तथा रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने, आजदेखि नै अनुगमन शुरु
काठमाडौं, १५ असार । काठमाडौंमा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारवाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताए । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ मा भएको व्यवस्थाबमोजिम उक्त दर्ता प्रक्रियालाई अगाडि बढाइएको हो । यसअघि २०७० साल चैत १० गते दर्ता हुन कार्यालयले सूचना जारी गरे पनि अधिकांश व्यवसायी दर्ता हुन नआएकाले मंगलबार बैठक बसी पुनः ३५ दिने म्याद दिई सूचना जारी गरिएको प्रमुख सुवेदीले जानकारी दिए । यसका लागि आजदेखि नै अनुगमन प्रक्रिया थालनी गरिनेछ । अब पनि दर्ता हुन नआए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । दर्ता हुनका लागि व्यवसायीको प्रकार, व्यवसायमा संलग्न श्रमजीवी महिला एवम् पुरुषको नाम, थर गोप्य राखिनेछ । यसैगरी दर्ताका लागि व्यवसायमा कार्यरतले काम गरेबापत पाउने पारिश्रमिक, व्यवसाय, अन्य निकायमा दर्ता भएको भए प्रमाणपत्र तथा कर दाखिला समेतका विवरण पेस गर्नुपर्नेछ । रासस