सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कञ्चन सापकोटाले पाएकी छिन् । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको प्रशासन तथा मानव संसाधन प्रमुख सापकोटालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको सेवा शर्त विनियमावली २०७५ को दफा ४५ को उपदफा ३ बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटालाई कायम मुकायमको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिले प्रविन पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाएपछि सीडीएससीको सीईओ खाली भएको थियो ।  पन्दाक सीडीएससीको सञ्चालकसहित सीईओको जिम्मेवारीमा पनि थिइन् ।  

डा खड्का कर्णाली प्रदेशसभाको सचिवमा नियुक्त

काठमाडौं । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुन कुमार खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा. खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गरेको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण रे । खड्का सिद्धिचरण नगरपालिका-९ ओखलढुङ्गा जिल्लाका स्थायी निवासी हुन् । सङ्घीय संसद सचिवालयमा ५ वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ । संविधान निर्माणका क्रममा संविधानको मस्यौदा समितिमा रहेर काम गरेका उनले वि.सं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गरेका थिए । 

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायण कुमार भट्टराई नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् । बैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराई यसअघि साबिक गुराँस लाइफ इन्स्योरेन्समा पूर्वसीईओका रूपमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी नेतृत्वदायी भूमिकामा परिचित छन् । उनको नियुक्तिसँगै कम्पनीले संस्थागत सुदृढीकरण, सेवा विस्तार तथा व्यवसायिक प्रतिस्पर्धामा थप प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ ।