वोमी लघुवित्तको नवनियुक्त अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले लिइन् सपथ ग्रहण

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको नवनियुक्त अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष प्रधानले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देबकुमार ढकालद्धारा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । प्रधान साविक वोमी लघुवित्त वित्तीय संस्था तथा ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी थिइन् । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा केन्द्रीय बैंकका अन्य अधिकृत तथा वोमी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । दुई संस्था मर्जर पश्चात् २०७७ चैत्र ३ गतेदेखि एकीकृत वित्तीय कारोबार शुरु भइसकेको छ ।

नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा नयन देवकोटा

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो । बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति निहुँदासम्म कामु सीईओमा संस्थाका कर्मचारी देवकाटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त देवकोटाले चैत २५ गतदेखि लागू हुने गरी आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

महुली लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा ६ जना नियुक्त भएका छन् । चैत २५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको हो । सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौंला र रोशन कुमार मंडरलाई सञ्चालक समितिमा चयन गरेको हो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको ८औं वार्षिक साधारणसभा चैत २५ गते सप्तरीको रहेका संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।