प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार

काठमाडाैं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा राजन खनालले पदभार ग्रहण गरेका छन् । साेमबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् । कार्यकारी निर्देशक डा खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको क्षमता विकास गरी कर्मचारीलाई गुणस्तरीय तालिम प्रदान गरिने बताए । उनले प्रतिष्ठानप्रति सरकारको ठूलो आशा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने दिशातिर लैजाने प्रयास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका अध्ययन निर्देशक वसन्तराज सिग्देलले नयाँ नेतृत्व, नयाँ विचार र नयाँ कार्यशैलीका साथ अघि बढ्नुपर्ने भन्दै प्रतिष्ठानले सरकारको ‘थिंक ट्याङ्क’का रूपमा निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक विष्णुप्रसाद लम्सालले प्रतिष्ठानलाई अझै नयाँ उचाइमा लैजानुपर्ने बताए । सरकारको सचिव पदबाट सेवानिवृत्त भएका डा खनाललाई केही दिनअघि मात्र मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । प्रतिष्ठानका कार्यकारी निर्देशकमा पुण्यप्रसाद न्यौपानेको कार्यकाल सकिएपछि डा. खनाल नियुक्त भएका हुन् । रासस

बिओके क्यापिटलको अध्यक्षमा मिश्र र संचालकमा शर्मा नियुक्त

काठमाडौं । बैंक अफ काठमाण्डू(बिओके) को सहायक कम्पनी बिओके क्यापिटल मार्केटको संचालक समितिको अध्यक्ष पदमा महेश मिश्र नियुक्त भएको छ । संस्थाको ५९औं संचालक समितिको बैठकले मिश्रलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले संचालकमा चन्द्र राज शर्मालाई नियुक्त गरेको छ । शर्मा बैंक अफ काठमाण्डूको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त भएका हुन् ।

सानिमा जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय नियुक्त

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा हेमन्तकुमार दवाडीले जानकारी दिए । उपाध्यायलाई सीईओमा नियुक्त गर्ने कम्पनीको प्रस्तावलाई बीमा समितिले गत साता स्वीकृत दिएको थियो । नब नियुक्त सीईओ उपाध्यायले आईतबारदेखि जिम्मेवारी समालेका छन् । विगत २३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत उपाध्याय यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । प्रिमियरमा ४/४ वर्षको दुई कार्यकाल सकेपछि उनी कुलिङ पिरियड बिताउन घरमा बसेका थिए । सानिमा जनरल इन्स्योरेन्स स्थापनाकाल देखि नै उपाध्ययले बाहिरबाट अनौपचारिक रुपमा सहयोगि भूमिकामा खेलेको बताइएको थियो । कम्पनीले सेवा सञ्चालन गरेकाे २ वर्षपछि उनलाई नै  प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएकाे छ । अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत पद खाली थियो भने व्यवस्थापकीय नेतृत्व नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले गर्दै आएका थिए ।