खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त (विज्ञप्तीसहित)

काठमाडौं ।  डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । ‘आज मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. पुन नियुक्त

काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।  पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरे । प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताएका छन् । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिएका हुन् । उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् । विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ ।

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बस्ताकोटी

भक्तपुर । निर्माण व्यवसायी सङ्घ भक्तपुर जिल्ला कार्यसमितिको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले राजकुमार बस्ताकोटी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नगर समिति संयोजकसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष निरञ्जन बजगाईंले जानकारी दिए। सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्वितीय उपाध्यक्ष लब गिरी, महासचिवमा शिवहरि दाहाल केसी, उपमहासचिव प्रेम खत्री, कोषाध्यक्षमा सुधीर थापा र सहकोषाध्यक्षमा विमल शिल्पकार चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा रामहरि फुँयाल, रोशनकुमार थापा, राजकुमार खड्का, सुनिता खत्री र तुलसीमैया ज्याख्वा चयन हुनुभएको छ । त्यसैगरी अधिवेशनले चाँगुनारायण नगरमा राजेश खड्का, सूर्यविनायकमा रामशरण प्रजापति, मध्यपुरमा राम श्रेष्ठ र भक्तपुर नगरसंयोजकमा सुरेन्द्र सुवाल चयन गरेको छ ।