करण चौधरी बने नाडाको उपाध्यक्ष, कार्यभार सम्हाल्नेमा हालसम्मकै कान्छा

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै कान्छा उपाध्यक्ष हुन् । उपाध्यक्षमा चयन भएसँगै चौधरीले भने- ‘अटोमोबाइल व्यवसाय संकटग्रस्त रहेको अवस्थामा पाएको नयाँ जिम्मेबारी चुनौतीपूर्ण छ तर यसलाई म सहर्ष स्वीकार्छु । अटोमोबाइल व्यवसायले गुमाएको गौरवलाई फर्काउन म सम्बन्धित सबै पक्ष र निकायसँग सहकार्य गर्नेछु । ’ नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ । हालै नाडाको अध्यक्षमा निर्वाचित कुष्ण प्रसाद दुलालको कार्यसमितिमा मुलुकको आर्थिक वृद्धिमा अटोमोबाइल व्यवसायलाई साझेदारका रुपमा स्थापित गर्न प्रतिबद्ध नयाँ पुस्ताका अटोमोबाइल उद्यमीहरुको बाहुल्यता छ ।

नेपाल पुनर्बिमा कम्पनीको सीईओमा शंकरकुमार रायमाझी नियुक्त

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकरकुमार रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले रायमाझीलाई सीईओको पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ रायमाझीले आगामी चार वर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने छन् । उक्त सीईओ पदमा ६ जनाको आवेदन परेको थियो जसमध्ये २ जना पहिलो चरणबाटै बाहिरिएका थिए । बाँकी ४ मध्येमा रायमाझीलाई नियुक्त गरिएको हो । कम्पनीको सीईओ पदको लागि राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझी, राष्ट्र बैंकको निर्देशकबाट अवकाश भएका अशोक पौडेल, नबिल बैकका पूर्व व्यवस्थापक ज्ञानेश्वर आचार्य, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य र युनाइटेड इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी शेखर बराल र नेपाल पुनर्बिमा कम्पनीकै पूर्व सीईओ चिरायु राजभण्डारीले आवेदन दिएका थिए ।

होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

सुर्खेत ।   होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीलाई अध्यक्षमा चयन गरेकाे छ । बुटवलका होटल व्यवसायीको नेतृत्वमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न  ७३ सदस्यीय समिति सर्वसम्मत शाहीलाई चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष (पर्यटनतर्फ) जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष (सङ्गठनतर्फ) केपी शर्मा, उपाध्यक्ष (महिलातर्फ) मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले (प्रशासनतर्फ) र इमान्द बराल चयन भएका छन् । त्यस्तै, महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहेका छन् । नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटल व्यवसायीको एकता जरुरी रहेको औँल्याए । होटल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।