धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त

काठमाडौं । बाग्लुङस्थित धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले मंसिर २५ गतेबाट लागु हुने गरि जोशीलाई सो पदमा नियुक्त गरेको हो । २०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालिन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए । २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् । जोशीको आगमनले धौलागिरी लघुवित्तको वित्तीय कारोबारमा थप टेवा पुग्ने सञ्चालक समितिले विश्वास लिएको छ । ३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको हालसम्म ७० करोड लगानी र ४७ करोड बचत रहेको बताइएको छ ।

एनआईसी एशिया लघुवित्त सञ्चालक समितिको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालक समितिकाे अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । संस्थाको ३९औं सञ्चालक समितिको बैठकले  ढकाललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । साथै,  ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । अध्यक्ष ढकालसँग आइसिआइसिआइ बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डिलोइटमा कार्य गरेको र उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव छ । ढकालले सो दिन नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनियालगायतको उपस्थिति रहेको थियो ।      

फिनल्यान्डमा ३४ वर्षिय युवा प्रधानमन्त्री, नेपालमा कहिले

काठमाडौं । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । नेपालमा भने युवाले राजनितीमा स्थान नपाएको भनेर बेला बेलामा चर्चा हुने गरेको छ । नेपालमा प्रधानमन्त्री ५० वर्ष भन्दा माथिका नै हुने गरेका छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् ।