सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिव १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छिन् । बैंकको स्थापनाकाल देखिनै कार्यरत शर्माले यस दौरानमा कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एस एम ई जस्ता क्षेत्रमा उलेख्य काम गरिसकेकी छिन् । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

हाथवे फाइनान्सको सीईओमा सुवास पौडेल नियुक्त

काठमाडौं । हाथवे फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुवास पौडेल नियुक्त भएका छन् । गत साउन ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओ पदमा नियुक्त गरेको हो । पौडेलले सोही मितिदेखि उक्त पदको कार्यभार सम्हालेका छन् । यसअघि कम्पनीको सीईओ विष्णु पाण्डेले राजिनामा दिएपछि उक्त रिक्त पदमा पौडेल नियुक्त भएका हुन् । कम्पनीको गत असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले पाण्डेको राजिनामा स्वीकृति गरेको थियो ।

प्राइम लाईफ इन्स्योरेन्सको सीईओमा मनोज भट्टराई पुनः नियुक्त

काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराई पुनः नियुक्त भएका छन् । चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिले असार पहिलो साता नै भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । कम्पनीको निर्णयमा बीमा समितिले साउन १ मा सहमति दिएको कम्पनी सचिव राजनप्रसाद अधिकारले सार्वजनिक गरेका छन् । बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशक काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको छ ।