चीनद्वारा नौ देशका लागि राजदूत नियुक्त, नेपालका लागि यु होङ नियुक्त
चीन, २२ कात्तिक । चीनले नेपाललगायत विभिन्न नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ । चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गरेकाचीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु चुन्ताइको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएइको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ । यसैगरी नाइजरका लागि झाङ लिजुन, सियरालिअनका लागि वु पेङ, संयुक्त अरब इमिरेट्सका लागि नि जियान, मेसेडोनियाका लागि यिन लिसियान, फिनल्यान्डका लागि चेन ली, क्युबाका लागि चेन सी र डोमिनिकाका लागि लु कुनलाई नियुक्त गरिएको जनाइएको छ । रासस/सिन्ह्वा
अन्तराष्ट्रिय सहकारी महासंघको सदस्यमा केशव बडाल सर्बसम्मत रुपमा निर्वाचित
काठमाडौं, २१ कात्तिक । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडाल अन्तराष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । बडाल सभाले घोषणा गर्नु अगाडि नै सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । महासंघको आगामी सभामा नोभेम्बर १७ मा हुने भएको छ । उक्त सभामा बडाललाई सदस्य घोषित गरिने भएको छ । करीब २ सयको प्रतिनीधिहरुको उपस्थीतिमा हुने सो सभामा नेपालबाट बडालसहित १५ जनाको प्रतिनिधित्व रहने बताइएको छ । बडालले राष्ट्रिय सहकारी संघको प्रतिनिधित्व गर्नेछन् । २८ वटा देशहरुको सहभागीता रहेको महासंघमा एक देशबाट एक जना मात्रै उम्मेदवार हुन पाउने व्यवस्था छ । उक्त महासंघ ११ सदस्यीय हुनेछ । महासंघले हरेक चार वर्षमा सभा गरी नयाँ कार्यसमिति चयन गर्ने प्राबधान रहेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल नियुक्त
काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। सिंहदरबारमा शुक्रबार बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । रासस