हानको अध्यक्षमा अमरमान शाक्य, २१ सदस्यीय नयाँ कार्यसमिति छनोट
काठमाडौं १७, असोज । होटल संघ नेपाल (हान)मा अमरमान शाक्य चयन भएका छन् । हानलको ४५ औं अधिवेनबाट ताहाचलस्थित अमर होटलका संचालक शाक्यर्लाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । हानको अहिलेसम्मको इतिहासमा अध्यक्ष निर्विरोध नै चयन गर्ने गरिएकोले यो पटक पनि सोही मापदण्ड लागू गरिएको हानले बताएको छ । हानको आगामी दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्ष होटल अन्नपूर्णकी संचालिका सिर्जना राणा, द्वितिय उपाध्यक्षमा शंकर होटलका संचालक विनोद शंकर श्रेष्ठ, महासचिवमा एयरपोर्ट होटलका संचालक विनायक शाह चयन भएका छन् । शाहले महासचिवमै आफ्नो कार्यकाल दोहोर्याएका हुन । कार्यसमितिको कोषाध्यक्षमा पार्क भिलेज रिसोर्टका संचालक सुनिल शाक्य चयन भएका छन् । क्षेत्रिय होटलमा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष विप्लव पौडेल, क्षेत्रीय होटल संघ चितवनबाट घनश्याम श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन क्षेत्रमा होटलको महत्व स्पष्ट पारेर अगाडि बढ्ने बताए । पर्यटन क्षेत्रमै सबैभन्दा बढी लगानी भएको यो क्षेत्रलाई सरकारले प्राथमिता नदिएको र पर्यटन क्षेत्र नै ओझेमा परेकोले आफ्नो कार्यकालमा होटल क्षेत्रकै स्थायित्वको लागि आफूले पहल गर्ने बताए ।
प्रस्तावित राजदुतहरुमा लीलामणि सर्वसम्वत, दिपकुमारलाई बहुमतबाट अनुमाेदित
काठमाडौं, १६ असोज । भारत र चीनका लागि प्रस्तावित राजदुतहरुलाई संसदिय समितिले अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले भारतका लागि प्रस्तावित राजदुत दिपकुमार उपाध्याय र चीनका लागि प्रस्तावित राजदुत लिलामणि पौडेलको नाम अनुमोदन गरेको हो । लिलामणि पौडेलको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ भने दिपकुमार उपाध्यायको विपक्षमा एमाले र राप्रपा नेपालले मतदान गरेका थिए । यद्यपी उपाध्यायको नाम पनि बहुमतले अनुमोदन भएको छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले दिएको जानकारी अनुसार आइतबारको बैठकमा समितिका समितिका सदस्य समेत रहेको मन्त्री बालकृष्ण खाँण र प्रकाश शरण महत पनि सहभागी भएका थिए । केपी ओली नेतृत्वको सरकार ढाल्न सक्रिय भूमिका निर्वाह गरेको आरोप लगाउँदै अघिल्लो सरकारले भारतका लागि तत्कालिन नेपाली राजदुत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएको थियो । तर प्रचण्ड नेतृत्वको सरकारले पुनः उपाध्यायलाई नै भारतका लागि नेपाली राजदुत सिफारिस गरेको थियो ।
ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पर्वतकुमार कार्की नियुक्त
काठमाडौं, १३ असोज । नेपाल ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पर्वतकुमार कार्की नियुक्त भएका छन् । असोज ९ गते बसेको ६७ औँ बैंक सञ्चालक समितिको बैठकले कार्कीलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीले आगामी ४ वर्ष सम्म ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।