टाटा कम्पनीद्वारा मिस्ट्रीलाई अध्यक्षबाट हटाइयो, जिम्मेवारी रतन टाटालाई
साइरस मिस्ट्री मुम्बई, ८ कात्तिक । भारतीय प्रसिद्ध कम्पनी टाटा सन्सले साइरस मिस्ट्रीलाई कम्पनीको अध्यक्षबाट हटाएर सो जिम्मेवारी पुनः रतन टाटालाई दिएको छ । भारतीय टाटा कम्पनीले सन् २०११ मा रतन टाटाको उत्तराधिकारीका रुपमा मिस्ट्रीलाई चयन गरेपछि विगत चार वर्षदेखि टाटाले उपप्रमुखका रुपमा कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका थिए । टाटा सन्स कम्पनीले नेतृत्व परिवर्तन किन गरियो भन्ने बारेमा कुनै प्रतिक्रिया नदिएको तर कम्पनीको बोर्डको बैठकले सोमबार टाटालाई जिम्मेवारी तोकेको बताएको छ । कम्पनीले यसका विभागीय कार्यकारी प्रमुखको जिम्मेवारी भने यथावत राखेको छ । रासस
आइसिएफसी फाइनान्सको अध्यक्षमा अग्रवाल र विज्ञ सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं, ९ कात्तिक । आइसिएफसी फाइनान्सको अध्यक्षमा सुरेशकुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको १९६औँ सञ्चालक समितिको बैठकले अग्रवाललाई आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । साथै, उक्त बैठकले कम्पनीको विज्ञ सञ्चालकमा राजेन्द्र गोपाल श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले श्रेष्ठलाई पनि आगामी चार वर्षको लागि विज्ञ सञ्चालकमा नियुक्त गरेको हो । कात्तिक ८ गतेको नियुक्त पाएका दुबै जना अग्रवाल र श्रेष्ठले कम्पनीको कार्यभार सम्हाल्नेछन् ।
सिविआईएल क्यापिटलको स्वतन्त्र संचालकमा दुई जना नियुक्त
काठमाडौं, १ कात्तिक । सिविआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र संचालकमा दुई जना नियुक्त भएका छन् । सोमबार संस्थाको संचालक समितिको बैठकले कमल विक्रम सिंह र भोला प्रसाद पाण्डेलाई आगामी २ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो । सिविआईएल सिटिजन्स बैंकको सहायक कम्पनी हो । यो कम्पनीमा श्री नागरीक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको सह–लगानी रहेको छ । उक्त कम्पनीले नेपाल धितो पत्र बोर्डबाट धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने अनुमति पाएको छ । संस्थाको रजिष्ट्रर कार्यालय काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा रहेको छ । संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका १४ अञ्चल स्थित सम्पूर्ण शाखा कार्यलयहरुबाट प्रदान गरी त्यहाँ अवस्थित इच्छुक लगानी कर्ताहरुलाई संस्थाको व्यावसायिक तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्ने लक्ष्य संस्थाले लिएको छ ।