नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा घिसिङ

काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। प्राधिकरणकै ११औ तहका कर्मचारी घिसिङलाई निवर्तमान प्रबन्ध निर्देशक मुकेशराज काफ्लेले पदबाट राजीनामा दिएपछि नियुक्त गरिएको हो । काफ्लेले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका थिए। काफ्लेले राजीनामा दिएको पाँच दिन पछि सरकारले घिसिङलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको हो । प्रबन्ध निर्देशक नियुक्त गर्न उर्जा मन्त्रीले तीन सदस्यीय समिति बनाएका थिए। मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा बनेको समितिलाई तीन दिनभित्र नाम सिफारिस गर्न निर्देशन दिइएको थियो। समितिकै सिफारिसमा परेको घिसिङलाई सरकारले बुधबार प्रबन्ध निर्देशक बनाएको हो।

१२ जना सचिव सरुवा, डा स्वार्णिम वाग्ले योजना आयोगमा नियुक्त

डा स्वर्णीम वाग्ले काठमाडौं, २६ भदौ । सरकारले विभिन्न १२ मन्त्रालयका सचिवको सरुवा गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव शारदाप्रसाद त्रिताललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलाई श्रम तथा रोजगार मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा सरुवा गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साललाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई नेपाल ट्रस्टको कार्यालय, रक्षा सचिव महेशकुमार दाहाललाई युवा तथा खेलकुद मन्त्रालय, जल तथा ऊर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, नेपाल ट्रस्टका सचिव भीमप्रसाद उपाध्यायलाई जल तथा ऊर्जा आयोग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । आजै सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । सदस्यमा नियुक्त हुनेमा डा स्वर्णीम वाग्ले, डा प्रेम बुढाथोकी र धीरेन्द्रमान प्रधान रहेका छन् । त्यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।केही दिन पहिले कार्यकारी निर्देशक काफ्लेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफ्नो पदबाट दिएका थिए ।

देवः विकास बैंकको डेपुटी सिइओमा बोहोरा

काठमाडौं, २६ भदौ । देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुख(सिइओ)मा नरेशसिंह बोहोरा नियुक्त भएका छन । विगत १५ वर्ष भन्दा बढी समय देखि बैकिङ क्षेत्रमा कार्यरत बोहरा यसअघि नारायणी नेशनल फाईनान्समा प्रमुख कार्यकारी अधिकृत थिए । उनी प्रमुख कार्यकारी भएका बेला सन् २०१४ मा उत्कृष्ट फाइनान्स कम्पनीको अवार्ड समेत पाएको थियो । नारायणी नेशनललाई सनराईज बैंकले अक्वाएर गरेपछि बोहोराले राजीनामा गरेका थिए । आइतबारदेखि नै बोहोराले देवः विकास बैंकमा कार्यभार सम्हालिसकेका छन् ।