नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । पुस १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी पुस १२ गतेदेखि नै लागू हुनेगरी नियुक्त भएको बैंकले जनाएको छ । उनीसँग बैकिङ क्षेत्रको करिव ४ दशक लामो अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका डा. आत्रेय त्यसपछि पनि विभिन्न संस्थामा सक्रिया रहदै आएका छन् । राष्ट्र बैंककै प्रतिनिधिको रुपमा उनले नेपाल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम पनि गरेका थिए । पछिल्ला समय विशाल ग्रुप सम्बद्ध कम्पनीहरूमा सक्रिय भएका डा आत्रेयले इमर्जी नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत, प्रुडेन्सियल इन्स्याेरेन्समा विज्ञ सञ्चालक,  सूर्य लाइफ इन्स्याेरेन्समा विज्ञ सञ्चालक भएर काम गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो । आयोगले जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निर्वाचन अधिकृत छन् । त्यस्तै मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला निर्वाचन अधिकृत बनेका छन् । लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।