कृषि विकास बैंकको सञ्चालकमा आचार्य नियुक्त
काठमाडौं । सरकारले कृषि बिकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ । आचार्य अर्थमन्त्री प्रकाश शरण महतको मन्त्रिस्तरिय निर्णयबाट संचालक सदस्यमा नियुक्त भएका हुन् । नवनियूक्त सञ्चालक सरकारी सेवाको लामो अनुभव भएका व्यक्ति हुन् । हाल उनी अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त संचालक सदस्य महेश आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथ बैंकका कम्पनी सचिव समेतको उपस्थिती रहेको थियो । नेपाल सरकारको ५१ प्रतिशत सेयर स्वामित्व भएको कृषि विकास बैंक सार्वजनिक संस्थान हो । यसको सञ्चालक समितिमा नेपाल सरकारको प्रतिनिधि पनि हुने व्यवस्था भएकोले सोही व्यवस्था बमोजिम आचार्य सञ्चालक सदस्य नियुक्त भएका हुन् ।
माछापुच्छ्रे बैंकको सीईओमा पुनः कोइराला नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ कोइरालालाई थप अर्को कार्यकालका लागि नियुक्त गरेको हो । यससँगै उनले थप ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । साढे २ दशकभन्दा लामो अनुभव बटुलेका सीईओ कोइराला आफ्नो करियरको छोटो समयमा नै सफल बैंकरको रुपमा चिनिएका छन् । आफ्नो पहिलो कार्यकालमा कोइरालाले माछापुच्छ्रे बैंकको वित्तीय सूचकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मारेका बैंकले जानकारी गराएको छ । साथै, उनले बैंकलाई संस्थागत सुशासनमा अब्बल सावित गराएका बैंकको दावी छ ।
आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा थापा र अग्रवाल नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सिताराम थापा र संदिप अग्रवाल नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापा र अग्रवाललाई रिक्त रहेको संस्थापक सेयरधनी समूह तर्फको सञ्चालकमा नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह तर्फबाट प्रतिनिधित्व गरेको आईएमई जनरल इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाएपछि रिक्त रहेको स्थानमा थापा र अग्रवाल नियुक्त भएका हुन् । यससँगै उनीहरुले बाँकी कार्यकाल सम्हाल्ने छन् ।