प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त भएका छन् । पुस ६ गते बसेको बैंक संचालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बैंकको सीईओ बने पाण्डेय, खराब कर्जा घटाएर बैंकलाई थप उचाईमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिले आज  पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले पाण्डेयलाई सीईओ बनाउने निर्णय गरेको हो । तत्कालीन भिवोर विकास बैंक समस्याग्रस्त हुँदा उनी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर बैंक प्रवेश गरेका थिए । भिवोर विकास बैंकको अवस्था सुध्रिएपछि लुम्बिनी विकास बैंकसँग मर्ज भयो । र, उनी बाहिरिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिक डाइरेक्टर भएर १ वर्ष काम गरेका थिए । उनले हाल नेपाल बैंकको खराब कर्जा बढी, रिकभरीको समस्या र लगानीको सुस्तता भएकोले यो समस्या समाधानका लागि आफूले काम गर्ने बताए । उनले ग्राहकहरुको मनोबल उठ्न नसकेका समस्या पहिचान गरी समाधान गर्ने पनि बताएका छन् ।

लघुवित्त बैंकर्स संघको अध्यक्ष बने यादव, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १७औं वार्षिक साधारणसभाबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि संघको महासचिव हुँदै कार्यवाहक अध्यक्ष थिए । यादव नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । यस्तै, संघको उपाध्यक्षमा रामहरी दाहाल चयन भएका छन् । उनी मेरो माइक्रोफाइनान्सका सीईओ हुन् । महासचिवमा जीवन विकास लघुवित्तका सीईओ सञ्जय मण्डल, सचिवमा महुलि लघुवित्तका सीईओ गंगाधर पाण्डे र कोषाध्यक्षमा हिमालयन लघुवित्तका सीईओ विनोद आचार्य चयन भएका छन् । संघको कार्यसमिति सदस्यमा आरम्भ चौतारी लघुवित्तका सीईओ शिव ज्ञवाली, धौलागिरी लघुवित्तका सीईओ सुरेश बम, आत्मनिर्भर लघुवित्तका सीईओ सौगात चौधरी, ग्रामीण विकास लघुवित्तका सीईओ श्याम कटुवाल, उपकार लघुवित्तकी सीईओ शारदा खत्री र आशा लघुवित्तका सीईओ बद्रि दुलाल चयन भएका छन् ।