एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । पौष १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता गौतमले आइतबार प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी छन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेको सरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत बताए ।
ज्योति क्यापिटलको अध्यक्षमा बराल नियुक्त
काठमाडाैं । ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका प्रकाश बराल मिति २०८० पौष १ गते देखि लागू हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । प्रकाश बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेकोे अनुभव रहेको छ । यसका साथै, एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गर्नुभएका श्री बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका प्रकाश बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् । नव नियुक्त सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।
आयल निगमको निमित्त कार्यकारीमा नागेन्द्र शाह
काठमाडौं । नेपाल आयल कर्पोरेसनको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् । कर्पोरेसनका प्रमुख उमेश थानीले राजीनामा दिएपछि अर्को व्यवस्था नभएसम्मको लागि शाहले निमित्त कार्यकारीको जिम्मेवारी पाएका हुन् । निगमलाई मन्त्रालयले सिनियर कर्मचारीको सूची मागेको थियो । सोअनुसार निगमले शुक्रवार नागेन्द्र शाह, वीरेन्द्र गोइत र दिपक बरालको नाम पठाएको थियो । निगमको ‘सिनियरिटी’ मा शाहपछि गोइत र बरालको नाम पठाइएको जानकारी गराइएको छ ।