नेपाल बैंकबाट बाहिरिए अधिकारी, पन्तले पाइन् जिम्मेवारी

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारी औपचारिक रुपमा बाहिरिएका छन् । सीईओको रुपमा ४ वर्षे कार्यकाल सकिएसँगै अधिकारी बैंकबाट बाहिरिएका हुन् । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका रुपमा नियुक्त नगरेपछि उनी बैंकबाट बाहिरिएका हुन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नदोहोर्याउने निर्णय गरेको बैंक स्रोतले बताएको छ । नेपाल बैंककै प्रडक्ट रहेका अधिकारी नेपाल बैंकबाटै सीईओ बन्ने पहिलो ब्यक्ति हुन् । नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । अधिकारी बाहिरिएपछि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी समता पन्तलाई दिईएको छ । आजै बसेको बैंक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी प्रमुख (डीसीईओ)पन्तलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । विभिन्न जिम्मेवारीमा रही २ दशक बढिको बैंकिङ्ग अनुभव सँगालेकी पन्तले एम.बि.एससम्मको अध्ययन गरेकी छिन् ।

पशुपति जलहरी प्रकरण : सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर, जनही एक करोड बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य-सचिव डा. प्रदिप ढकालसहित तीन जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध जलहरी लगाउने क्रममा एक किलो चारसय ९१ ग्राम ७१८ मिलीग्राम सुन हिनामिना गरेको अख्तियारको अनुसन्धनानले देखाएको छ । साथै, उनीहरुविरुद्ध जनही एक करोड १७ लाख १७८१ रुपैयाँ बिगो माग दावी गरिएको छ ।

हिमालयन रिको सीईओ बन्दै उपासना पौडेल

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको तर हालसम्म प्राधिकरणबाट स्वीकृति आइनसकेको कम्पनीले स्रोतले बताएको छ । ‘सीईओ चन्द्रशेखरनको राजीनामा स्वीकृत गरेको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको छ, प्रस्तावलाई स्वीकृत गराउन प्राधिकरणमा समेत पेश गरिएको छ, हालसम्म स्वीकृति भने आईसकेको छैन,’ कम्पनी स्रोतले विकासन्युजसँग भन्यो । पौडेलले पनि सञ्चालक समितिको बैठकले आफूलाई सीईओमा नियुक्त गरेको स्वीकार्दै प्राधिकरणको एप्रुभल भने आउन बाँकी रहेको विकासन्युजलाई जानकारी गराएकी छिन् । यसअघि हिमालयन रिको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । उनले गत साता राजिनामा दिएका र सोही साता बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । र, सोही बैठकले नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई प्राधिकरणले स्वीकृति दिएपछि मात्रै पौडेलले कम्पनीको सीईओ कार्यभार सम्हाल्ने छिन् । पौडेल हाल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत छिन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन्। त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।