आशा लघुवित्तको निमित्त सीईओमा दुलाल, लोहनीको राजीनामा स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दुलाललाई दिईएको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकले बद्री प्रसाद दुलाललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । लघुवित्तको सीईओ जया लोहनीले स्वास्थ्यको कारण देखाई राजीनामा दिएपछि दुलालले निमित्त सीईओको जिम्मेवारी पाएको जनाएको छ । साथै, सीईओ लोहनीले दिएको राजीनामा सञ्चालक समितिले कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृति दिइसकेको छ । निमित्त सीईओ दुलाल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुन् । मिर्मिरे लघुवित्त, नाडेप लघुवित्त लगायतका संस्थामा काम गरिसकेका दुलाल यसअघि आशा लघुवित्तको सीईओ समेत भएर काम गरिसकेका छन् ।

एभरेष्ट बैंकको अध्यक्ष बने डा.बालगोपाल बैद्य

काठमाडौं । एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल बैद्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले बैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्व अध्यक्ष बिके श्रेष्ठको निधन भएपछि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो । साथै, नवनियुक्त अध्यक्ष बैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएको बैंकका कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिए । काठमाडौंको सितापाइलास्थित घर भएका बैद्यले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उनी हाल अनुसन्धानको क्षेत्रमा संलग्न न्यू इरा नामक संस्थासँग आवद्घ छन् । बैद्य बैंकको संस्थापक होटेल स्नो लायन प्रा.लि.को प्रतिनिधित्व गर्दै बैंकको संचालक बनेका हुन् ।

नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया

काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो । मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओ थपलियालाई पुनः नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद गौतमले जानकारी दिए । पाँचखाल नगरपालिका काभ्रे स्थायी घर भएका थपलियाले तत्कालिन किष्ट बैंक र प्रभु बैंकमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रमा २ दशक बढिको अनुभव भएका थपलियाले बेष्ट फाइनान्समा कामु सीईओ भएर काम गरेका थिए । बेष्ट फाइनान्स (तत्कालिन जनरल फाइनान्स)लाई जापान लगायतका एनआरएनहरुको समुहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरे पछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रुपमा प्रवेश गरेका थिए । जनरल फाइनान्सको नाम परिवर्तन गरी वेष्ट फाइनान्सको नामबाट कारोवार गर्न, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा कम्पनीलाई फर्काउन र बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गरी बेष्ट फाइनान्सको नामबाट कारोवार गर्न आवश्यक पर्ने कार्य गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।