युवा उद्यमी पाण्डे बने सिटिजन्स बैंकको अध्यक्ष, व्यवसायिक अब्बलता प्रयोग गर्ने अवसर
काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । बैंकको १७औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । साधारण सभाले उनीसँगै सीता कार्की केसी, सजन शर्मा र दिग्विजय बिष्टलाई बैंकको सञ्चालकमा निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यका रुपमा काम गरिरहेका छन् । बैंक, बीमा, सिमेन्ट, मेडिकल, पर्यटन लगायत क्षेत्रमा लगानी गरेर नेपाली उद्योग व्यवसायमा उदाहरणीय उद्यमीको छवि पाण्डेले बनाएका छन् । नेपाली व्यवसायमा पाण्डे समूहले पृथक किसिमको छाप बसालेको छ । पाण्डे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् । नेपालमा बुवासँगै व्यवसाय गरेर पृथक किसिमको छवि निर्माण गरेकामध्ये उनका दाजुभाइहरु पर्छन् । उनीहरु आफ्नै मिहेनतले नेपाली उद्योग व्यवसाय क्षेत्रमा स्थापित भएका छन् । भारतको बैंलोरबाट इन्जिनियरिङमा स्नातक गरेका पाण्डे दुई दशकभन्दा बढी समयदेखि व्यवसायमा सक्रिय छन् । अध्यक्ष पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन् । अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पु¥याउने प्रतिवद्धता गरेका छन् । यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए । निवर्तमान अध्यक्ष राजनसिंह भण्डारीले सेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने बताए । आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्द रहेको बताए ।
माई खोला हाइड्रोको सञ्चालक समिति गठन, अध्यक्षमा गुरागाईं नियुक्त
काठमाडौं । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ७ जनाको सञ्चालक समिति गठन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा भने शोभा घिमिरे निर्वाचित भएकी छिन् । असोज १८ गते सम्पन्न कम्पनीको तश्रो वार्षिक साधारण सभाले उक्त सञ्चालकहरुलाई निर्वाचित गरेको हो ।
एसबिआई बैंकको डीसीईओ र सीएफओको जिम्मेवारी पंडालाई, आलमले दिए राजीनामा
काठमाडौं । नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा राजेश कुमार पंडा नियुक्त भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले भारतीय स्टेट बैंकको तर्फबाट आएका पंडालाई डीसीओमा नियुक्त गरेको हो । साथै, पंडाले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ) पद पनि सम्हाल्ने छन् । बैंकले बैंक तथा भारतीय स्टेट बैंकबीचको प्राविधिक सेवा सम्झौता अनुसार पंडालाई उक्त जिम्मेवारी दिएको हो । यसअघि बैंकको डीसीओको जिम्मेवारी मोहमद रिजवान आलमले सम्हाल्दै आएका थिए । उनी बैंकको प्रमुख वित्तीय अधिकृत समेत थिए । तर उनको कार्यकाल असोज २३ गतेदेखि सकिने र एसबीआई भारत फिर्ता जाने भएकाले बैंकले पंडालाई उक्त स्थानमा नियुक्त गरेको हो ।