प्रभु इन्स्योरेन्सको सञ्चालकमा कर्मचारी सञ्चय कोषका महेश खनाल

काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा महेश प्रसाद खनाल चयन भएका छन् । मंसिर ११ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक समितिमा चयन गरेको हो । कम्पनीका संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषले खनाललाई प्रतिनिधि मनोनित गरि प्रभु इन्स्योरेन्समा पठाएको हो । यससँगै, नवनियुक्त सञ्चालक खनालले कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्नेछन् । खनाल कोषका कार्यवाहक प्रमुख प्रबन्धक हुन् । यसअघि उक्त कोषबाट राजेन्द्र शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए ।

निफ्राको लेखापरीक्षकको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को लागि श्री एमजीएस एण्ड एशोसियटस्, चार्टर्ड एकाउण्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई मंसिर १० गतेसम्पन्न बैंकको चौंथो वार्षिक साधारण सभाले स्वीकृत गरेको छ । यससँगै सो कार्यको लागि निजको पारिश्रमिक ३ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । उक्त पारिश्रमिक कर सहित भएको बैंकले जानकारी गराएको छ ।

जीवन बीमक संघको अध्यक्षमा पौडेल चयन, उपाध्यक्षमा पराजुली र महासचिवमा खत्री

काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन जीवन बीमक संघको अध्यक्षमा पोषक राज पौडेल चयन भएका छन् । मंसिर ९ गते सम्पन्न संघको तेश्रो वार्षिक साधारण सभाले पौडेलको नेतृत्वमा ७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । साथै, उनी यस संघको निवर्तमान उपाध्यक्ष हुन् । अघिल्लो कार्यसमितिको अध्यक्षमा मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ थिए । त्यसैगरी, संघको उपाध्यक्षमा प्रवीण रमण पराजुली चयन भएका छन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान कोषाध्यक्ष हुन् । महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाश विक्रम खत्री चयन भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । त्यस्तै, एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन् । त्यसैगरी, सदस्यहरुमा रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी‌, आइएमई लाइफका कवि फुयाल र एलआईसी नेपालका एलपी दास रहेका छन् । जसमध्ये फुयाल अघिल्लो कार्यसमिति सदस्य थिए भने लोहनी र दास भने नयाँ सदस्य हुन् ।