एनएमबि बैंकका नायब महाप्रबन्धक उपाध्याय र घिमिरे डीसीईओमा बढुवा

काठमाडौं । एनएमबि बैंकका दुई नायब महाप्रबन्धकहरु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन् । नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे सो पदमा बढुवा भएका हुन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जुन आगामी असोज ११ गतेदेखि लागू हुने छ ।

काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री डा. अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री तथा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त भएका छन् । उनी आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका डा. वाग्ले काठमाडौं विश्वविद्यालय ऐनको दफा १५ (१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा नियुक्त भएका हुन् । यसअघि यो विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक सुवोध शर्मा रहेका थिए । उनको कार्यकाल भदौ ३१ गतेदेखि सकिएसँगै डा. वाग्लेलाई उक्त रिक्त पदमा नियुक्त गरिएको हो । प्रा. डा. वाग्ले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम)मा एसोसियट डिन थिए । अर्थराजनीतिक विश्लेषक डो वाग्लेले विभिन्न विश्वविद्यालायबाट एमए तथा एमएस्सीको डिग्री समेत हारिस गरिसकेका छन् । साथै, उनले अर्थशास्त्रमा पनि पीएचडी गरेका छन् ।

नेपाल ट्रान्जिट तथा वेयरहाउजिङको अध्यक्षमा पन्त, निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता

काठमाडौं । नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनीको अध्यक्षमा छपिराज पन्त नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले उनलाई सो कम्पनीको अध्यक्षका रुपमा नियुक्त गरेको हो । सरकारी स्वामित्वको उक्त कम्पनीको अध्यक्षको रुपमा उनले मंगलबार सपथ पनि लिएका छन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयबाट उनले सपथ लिएका हुन् । बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव हासिल गरिसकेका उनी नेपाल एसबिआई बैंकका सल्लाहकार पनि हुन् । उनले सो बैंकबाट अवकास पनि पाएका हुन् । उनीसँग करिब ५ वर्ष सरकारी बैंकमा काम गरेको अनुभव पनि छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् । नव नियुक्त अध्यक्ष पन्तले सफ्टवेरको प्रयोग, कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको क्षमता अभिवृद्धि तथा निजी क्षेत्रलाई यस क्षेत्रमा आकर्षित गर्नका लागि आफुले महत्वपूर्ण पहल गर्ने बताए । विभिज्न गोदाम तथा बन्दरगाहहरुलाई इनोभेट गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ । नेपाल ट्रान्जिट एण्ड वेयरहाउजिङ कम्पनी लिमिटेड नेपाल सरकारको एक मात्र सार्वजनिक क्षेत्रको संस्था हो । जसले पारवहन यातायात, गोदाम र लजिस्टिक सञ्चालनको हेरचाह गर्छ । यस कम्पनीले कोलकत्ता, हल्दिया र नेपाल सीमानाको बन्दरगाहको बीचमा सामानको ट्रान्जिट आवागमनको संरक्षकको रूपमा काम गर्दै आएको छ ।