प्रिमियर इन्स्योरेन्सको सीईओ तिमिलाले दिए राजिनामा, जोशीले पाइन् कामुको जिम्मेवारी
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले सीईओ पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सोही बैठकले कम्पनीको कायम मुकायम सीईओ पदमा कबिता जोशीलाई नियुक्त गरेको छ । यससँगै उनले अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीको कामु सीईओको जिम्मेवारी सम्हाल्ने छिन् । उनी कम्पनीको चिफ अपरेटिङ्ग अफिसर तथा आरआई विभागको प्रमुख हुन् । साथै, अर्को व्यवस्था नभएसम्म इन्स्योरेन्सको कम्पनी सचिवमा पदम बहादुर थापालाई नियुक्त गरिएको छ ।
डिशहोमको अध्यक्षमा देवी प्रकाश भट्टचन
काठमाडौं । डिश मिडिया नेटवक प्रालि (डिशहोम)को अध्यक्षमा देवी प्रकाश भट्टचन चयन भएका छन् । डिशहोम सञ्चालक समितिकाे बैठकले प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । प्रभु ग्रुपका अध्यक्ष रहेका भट्चनले प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, रेमिट्यान्स, हवाइ सेवा, पानी जहाज र सहकारी लगायतका व्यवसाय संचालन गरिरहेका छन् । यसअघि डिशहोमको अध्यक्ष हेमराज ढकाल थिए ।
अशोक शेरचन तेस्रो पटक प्रभु बैंकको सीईओमा नियुक्त
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन तेस्रो पटक नियुक्त भएका छन् । यसअघि २ कार्यकाल सीईओ भइसकेका शेरचन प्रभु बैंकमा तेस्रो पटक नियुक्त भएका हुन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् । २७ वर्षको बैंकिङ्ग अनुभव सँगालेका सीईओ शेरचनले सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । त्यसपछि उनी तत्कालिन नेपाल बंगलादेश बैंक प्रवेश गरे । त्यसपछि उनी सन् २००६ मा प्रभु फाइनान्समा जोडिए । उनी फाइनान्सको सीईओ बने । साथै, तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए । जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ बने । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका शेरचनले बैंकलाई अब्बल बनाउँदै टप फाइभ भित्र राख्न सफल भएका छन् । शेरचन सन् २००७ मा तत्कालिन प्रभु फाइनान्सको सीईओमा नियुक्त भएका उनी सन् २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् । विभिन्न मर्जर र एक्विजिसनहरू सीईओ शेरचनको महत्वपूर्ण भूमिका रहेको छ । सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो तेस्रो कार्यकाल सुरु हुनेछ । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् । मर्जरमा अब्बल र सफल सीईओ शेरचनले आफ्नो कार्यकालमा प्रभु बैंकसँग विभिन्न बैंक तथा वित्तीयको मर्जर तथा एक्विजिसन गर्न सफल भएका छन् । प्रभु बैंकसँग मर्ज भएका विभिन्न मर्जर र एक्विजिसनहरूमा सीईओ शेरचनको महत्वपूर्ण भूमिका रहेको छ । प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक बनाउन उनले ठूलो भूमिका खेलेका थिए । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो । यी सबै मर्जर तथा एक्विजिसनमा उनले ठूलो भूमिका निर्वाह गरेका छन् । साथै, उनले वित्तीय सूचकहरमा कमजोर रहेका बैंक तथा वित्तीय संस्थालाई गाभ्दै अब्बल बैंकका रुपमा उभ्याएका छन् । उनको कार्यकालमा पछिल्लो समय सेञ्चुरी बैंकलाई प्राप्ति गर्न सफल भएका छन् । सेञ्चुरी बैंकलाई प्राप्ति गरी गत पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो ।