यसरी उत्रिए नायक नायिकासँगै र्याम्पमा डेढ दर्जन मोडल

काठमाडौं । मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणासहित चलचित्र ‘रणबीर’का अभिनेता शुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै र्याम्पमा उत्रिएका थिए । आरआर ग्रुपले शुक्रबार काठमाडौंमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोमा अभिनेता अभिनेत्री ‘शोज’ टपरका रुपमा मञ्चमा उत्रिएका हुन् । कार्यक्रममा चलचित्र रणबीरको गितमा कलाकारले प्रस्तुत गरेको आयोजकले जनाएको छ । रणबीरकी निर्माता गोमा बिष्टले एलेक्सी फेसनकातर्फबाट कलेक्सन गरेका गर्मी लक्षित पहिरनका साथ रणबीरका अभिनेता अभिनेत्री, निर्माता दिपेन्द्र रेग्मी र गोमा मञ्चमा उत्रिएका थिए । धिमे वाजासहित शुरु भएको फेशन शोको शुरुमा अभिनेत्री सारा सिरपाली मञ्चमा प्रस्तुत भएकी थिइन् । गर्मी तथा वर्षालाई मध्यनजर गरेर तयार पारिएका समर फेशनसहित सो कार्यक्रममा १८ जना मोडलहरु र्याम्पमा उत्रिएका जानकारी गराइएकाे  छ । गायिका मनिषा पोखरेलले तयार पारेका पहिरन जिन्समा सारी लगाएर मोडलहरु प्रस्तुत भएका थिए । फेशन शो आयोजक आर एन्ड आर ग्रुपकी अध्यक्ष मञ्जु श्रेष्ठले बिगतका वर्षमा झै यस पटक पनि गर्मीलाई लक्षित गरेर तयार पारिएका फेशनहरुलाई यो फेशन शोमा प्रस्तुत गरिएको बताइन् । फेशनको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । फेशन शोमा मोडलहरु कुसुम तामाङ, दिव्य थापा, मन्दिरा राणा, प्रियँका, श्वेच्छा, कविता, दावा, एनी, रासिया, पल्लभी, मिलु, मेहन्दी, जुनु, रिजिना, दृष्टी, सिमा लगायतका मोडल र्याम्पमा उत्रिएको अयोजकको भनाइ छ ।  

आफ्नो टोल आफै सफा गर्दै कीर्तिपुरस्थित शान्तिमार्ग (फोटो फिचरसहित)

काठमाडौं । कीर्तिपुर नगरपालिकास्थित ट्याङलाफाँट १/२ मा रहेको शान्तिमार्ग टोलले आफ्नो टोल आफै सफा गरौ भन्ने उद्देश्यका साथ शान्तिमार्ग टोल सफा गरेको छ । पालैपालो महिना/महिनामा उक्त टोल शान्तिमार्ग टोल सुधार समिति र टोलस्थित अजिमाख्य गुठीले सफा गर्दै आइरहेको छ । सोही सेड्युलअनुसार शनिबार टोल सफा गरेको हो । टोल सुधार समितिको अध्यक्ष भरत बस्नेतले आफ्नो टोललाई सफा सुग्घर राख्ने उद्देश्यले टोल महिना/महिनामा गुठीसँगको सहकार्यमा पालै पालो सफा गर्दै आइरहेको बताए । ‘प्राय विदाको दिन पारेर टोलमा रहेका समुदाय स्वस्फूर्त रुपमा जम्मा भएर टोल सफा गर्दै आएका छौं,’ उनले भने ‘हामीले टोललाई सफा राख्नका लागि टोलमा रहेका पसलहरुलाई पनि कुहिने र नकुहीने फोहोरहरु छुट्याएर राख्नका लागि भनिसकेका छौं ।’ टोलको अवस्थाले त्यहाँ रहेको समुदायको प्रतिनिधित्व गर्ने भएकोले पनि टोल सफा, सुग्घर राखे समुदायको इज्जत बढ्ने भएकोले पनि सफाइलाई प्राथमिकता दिएको उनको भनाइ छ । सरसफाइमा सहभागी अर्का सदस्यले टोललाई सफा राख्न स्वस्फूर्त रुपमा सफाई अभियानमा सहभागी भएको बताए । सफाई भइरहदा घरवेटीहरुले अभियानमा सहभागीहरुलाई पानी, जुस लगायत उपलब्ध गराएको देखिन्थे ।

सरकारसामु सिन्डिकेटधारी झुकेपछि यातायात चल्याे, यात्रुमा खुसी छायो (फोटो फिचरसहित)

काठमाडौं । सरकारसामु सिन्डिकेटधारी यातायात व्यवसायीहरु झुकेपछि पूर्ववत यातायात सञ्चालन भएको छ । सरकार सिन्डिकेटको विरुद्धमा कडा रुपमा प्रस्तु भएपछि आन्दोलनरत यातायात व्यवसायीहरु झुक्न बाध्य भएका हुन् । व्यवसायीको आन्दोलनप्रति सरकार कडा रुपमा उत्रदै शुक्रबार महासंघको संयुक्त आन्दोलन मूल समितिका पदाधिकारीहरुलाई पक्राउ गर्दै रुटपरमिट खारेजदेखि व्यवसायीहरुको सम्पत्तिमाथि छानबिन गर्नेसम्मको प्रक्रिया अघि बढाएपछि शनिबार यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समिटिले आन्दोलन फिर्ता लिएको हो । शुक्रबार नयाँ वसपार्क, सामाखुुुुसी, सिनामंगल र रत्नपार्क चल्ने २६ ओटा माइक्रोवसको रुटपर्मिट सरकारले खारेज गरेकोे छ । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्त लागयत देशभर रहेका यातायात संघ, पदाधिकारीहरु गरि सय जनाको हाराहारीमा पक्राउ गरिएको छ । यात्रुमा खुसी छायो आन्दोलनकारी यातायात व्यवसायी गलेकाेमा यात्रु तथा गाडी चालकहरु खुसी भएका छन् । बर्षौदेखि जरा गाडेको सिन्डिकेट हट्ने भएपछि यात्रु, सर्वसाधानरण, यातायात व्यवसायी, सवारी चालक लगायतमा खुसी छाएको हो । काठमाडाैंबाट नेपालगन्ज जान लागेका दिवाकर अधिकारीले यातायात व्यवसायीहरु पछि हटेकोमा खुसी भएको बताए । ‘सरकारले कडा कदम चालेपछि उनीहरुले आन्दोलन फिर्ता लिन बाध्य भएका हुन्,’ उनले भने ‘हामीलाई शुक्रबार यात्राको लागि केही असहज भएपनि देशको लागि राम्रो हुने भएको छ ।’ अर्का दाङको लागि कलंकिमा वस पर्खाइमा रहेका कमल केसीले पनि सिन्डिकेटर व्यवसायीहरुप्रति आक्रोस पोख्दै पक्रेकाहरुलाई सहजै छोड्न नहुने धारणा राखे । ‘सरकारले यातायात क्षेत्रमा कडा कदम चालेर राम्रो गरेको छ,’ उनले भने ‘त्यस्तै अन्य विभिन्न क्षेत्रको सिन्डिकेट हटाउन पनि त्यस्तै कदम चालोस् ।’ त्यस्तै रत्नपार्कदेखि कोटेस्वर सार्वजनिक यातायातका चलाउदै आएका एक चालकले यातायात क्षेत्रमा ठुलो समस्याको रुपमा रहेको समितिहरुको सिण्डिकेट अन्त्य हुने भएकोमा खुसी माने । ‘ठिकै छ शुक्रबार उनीहरुले आन्दोलनले केही असर पर्यो,’ उलने भने ‘तर सिन्डिकेट हटेपछि यातायात क्षेत्रको भविश्य धेरै राम्रो हुन्छ ।’ उनको अनुसार अहिले समितिको नाममा दैनिक, मासिक, वार्षिक हजारौं, करोडौं रकम असुल्दै आएको छ । समितिको हालिमुहालीनै चलेको छ । त्यो हट्नेछ । प्रतिस्पर्धाको आधारमा सर्वसाधारणले पनि गाडी सञ्चालन गर्न सक्नेछन् ।