सुरु भयो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी, दश देशको १ सय २० स्टल समावेश

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा आज(बिहीबार) देखि अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु भएको छ । कृषि क्षेत्रको व्यावसायिक विकास गर्ने उद्देश्यले मिडिया स्पेश सोलुसन्सन प्रालि र फ्युचरएक्स ट्रेड फायर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजना उक्त दोस्रो अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गरिएको हो । प्रदर्शनीमा नेपालसहित भारत, मलेसिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डस लगायतको १० भन्दा बढी मुलुकको १ सय २० भन्दा बढी प्रदर्शनीकर्ताहरुकाे स्टल समावेश भएको आयोजकले जनाएको छ । आयोजक मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सृजल भट्टराईले प्रदर्शनीमा पछिल्लो आधुनिक कृषि यन्त्र तथा उपकरणहरु, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन, पोल्ट्री एवं पशुपालन उद्योग सम्बन्धि विभिन्न प्रविधिहरुको प्रदर्शनी रहेको बताए । उनका अनुसार प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने सानादेखि ठूला कृषि तथा पशुपंक्षी पालन उद्योगमा प्रयोग हुने उपकरणहरु राखिएको छ । ‘नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा प्रर्दशनी कोशेढुंगा सावित हुने हाम्रो विश्वास छ,’ उनले भने । आयोजकका अनुसार प्रदर्शनी अबधिमा श्रीकृष्ण इन्नोभेसन हबसँगको साझेदारीमा कृषि, पशुपालन, माछापालन, कुखुरपालन लगायका बिषयमा बिभिन्न बिज्ञहरुद्वारा प्राविधिक गोष्ठी, एग्री सिम्पोजियम् सेमिनार आयोजना गरिनेछ । त्यस्तै प्रदर्शनीमा नेपाली कृषकहरुद्वारा उत्पादित कृषि उत्पादनलाई बजारिकरण एवं खरिद बिक्री गर्ने उद्देश्यले ‘एग्री मार्ट’ को समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ । ५० हजारभन्दा वढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको सो प्रदर्शनी फागुन ६ गतेसम्म सञ्चलन हुने आयोजकले बताएको छ ।  

शाश्वत धाममा बुद्धिष्ट सेन्टर स्थापना हुने, फागुन पहिलो साता वसन्त महोत्सव हुँदै

काठमाडौं । नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रुपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पुर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीब्र गतिमा भइरहेको छ । सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । बौद्ध धर्मका ९ जना गुरूहरुले विधिवत पूजा अर्चना गरि प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो । शाश्वत धाममा दर्शन एवं भ्रमणमा आउने भक्तजनहरूका लागि आठ फिट अग्लो उक्त बुद्ध मूर्ति थप आकर्षक हुनेछ । बुद्धिष्ट सेन्टरमा बुद्ध धर्मसँग सम्वन्धित ऐतिहासिक एवं पुरातात्विक महत्वका दुर्भल वस्तुहरूको संग्रह रहनेछ । बुद्ध धर्मका अनुसन्धाता, अनुयायी एवं धार्मिक पर्यटकहरूका लागि यो सेन्टर विशेष महत्वको रहनेछ । ‘शाश्वत धामलाई सनातन धर्मको विशेष पावन भूमीका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । सनातन धर्ममा विश्वास राख्ने विश्वभरका अनुयायीका लागि यो गर्व गर्न लायक स्थान बनाउन सकियोस् भन्ने सोंचका साथ हामी शाश्वत धामको विकास गरिरहेका छौँ’, शाश्वत धामका फाउण्डिङ ट्रष्टी विनोद चौधरीले भने, ‘अहिले हामी यहि सोंचलाई व्यवहारमा रूपान्तरण गरिरहेका छौ“ ।’ बुद्धिष्ट सेन्टरसँगै शाश्वत धाममा बौद्ध धर्मसँग सम्वन्धित शिक्षा पनि शुरू गरिनेछ । यसअघि स्थापित गुरूकुलमा विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । यसअघि शाश्वत धाममा एकाम्बरेश्वर महादेवको मन्दिर, धार्मिक संग्राहलय लगायत हिन्दू धर्मसँग सम्वन्धित सम्पदाहरू निर्माण भईसकेका छन् । विगत ११ महिनामा १२ लाख भक्तजनहरूले शाश्वत धामको दर्शन एवं अवलोकन भ्रमण गरिसकेका छन् । फागुन पहिलो साता बसन्त महोत्सव हुँदै आगामी फागुन ३ र ४ गते शाश्वत धाममा ३५ औं ‘वसन्त महोत्सव’ गर्न लागिएको छ । शाश्वत धाम र श्री राणी सतीजी मन्दिर, झुन्झुनबीचको सहकार्यका यो महोत्सव आयोजना गर्न लागिएको हो । उक्त महोत्सवका लागि श्री राणी सतीजी मन्दिरबाट राणी सतीजीको मूर्ति र अखण्ड ज्योति शाश्वत धाममा ल्याइनेछ । उक्त धार्मिक यात्रा शुरू भइसकेको छ । उक्त अवसरमा भारतबाट कम्तिमा दुइ हजार भक्तजनहरूका लागि शाश्वत धाममा आवासीय व्यवस्था मिलाइएको छ । महोत्सवको पहिलो दिन फागुन ३ गते हात्ती, घोडा, रथ, पञ्चै बाजा, भजनकिर्तन र विभिन्न झाँकि सहित शोभायात्रा गरिनेछ । नारायणघाटदेखि शुरू हुने उक्त शोभायात्रा शाश्वत धाममा पुगेर टुंगिनेछ । महोत्सव अवधीभर शाश्वत धाममा भजन किर्तन लगायतका विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । यो महोत्सवसन् १९८४ मा कोलकाताबाट शुरु भएको हो । यो ३५ औं वसन्त महोत्सव हो ।

बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू, विकास निर्माणका लागि डोजर र ट्रिपर पनि

काठमाडौं । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले चौथो नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ शुक्रबारदेखि शुरू भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचर ट्रेड फियर एण्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित सो प्रदर्शनी आइतबारसम्म चल्ने छ । भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनीमा विभिन्न देशका २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, सवडिलर र बिक्रेताले निर्माण व्यवसाय तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने छन् । यहाँ विकास निर्माणका लागि आवश्यक डोजर, ट्रिपरलगायत राखिएको छ । त्यसैगरी, प्रदर्शनीमा घर बनाउन आवश्यक निर्माण तथा काठ क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, बिल्डर्स तथा इन्टिरियर डिजाइनरको समेत सहभागिता रहेको छ । प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले प्रदर्शनीले नेपालको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । भारतलगायत अन्य मुलुकको विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले भारतले सधैँभरि नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास चाहेको बताएका छन् । रासस