सानिमा बैंकको ४१औँ शाखा नुवाकोटको बिदुरमा सञ्चालन
काठमाडौं, १० मंसिर । सानिमा बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय नुवाकोटको बिदुरमा सञ्चालन गरेको छ । बैंकले यूके एडद्वारा प्रवद्र्धित सक्षम परियोजनाको सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका अध्यक्ष बिनय श्रेष्ठद्धारा भएको छ । सानिमा बैंकका अध्यक्ष श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस बिदुर शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घाटन समारोहमा मह जोडीले बिदुरमा सानिमा बैंक संचालनमा आएकोमा बिदुरवासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् । सानिमा बैंकको उक्त शाखा समेत गरी मेचीदेखि महाकालीसम्म ४१ वटा शाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन् ।
सिभिल बैंक सातौँ वर्षमा, गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने
काठमाडौं, १० मंसिर । शुक्रबारदेखि सिभिल बैंक लिमिटेड सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरका दिन पारेर बैंकले वित्तिय साक्षरताको लागि प्रभातफेरी आयोजना गरेको छ । साथै, बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । बैंकको वार्षिकोत्सव देखि १ हप्तासम्म देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरताका विभिन्न चेतना मूलक कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । साथै सो सप्ताह भित्रै देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिने कुरा बैंकले जनाएको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको यस बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । यस बैंकले समाज प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आफ्नो सेवाको परिधी र व्यवसाय वृद्धी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताएका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनको फिल्म ‘ज्योति’ प्रदर्शन, बालमैत्री देश बनाउने घोषणा
काठमाडौं, ४ मंसिर । समाजसेवी तथा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव रहेको भन्दै उनीहरुले त्यसका लागि नयाँ अभियानको सुरुवात गरेको बताएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि युनिसेफ नेपालको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको फिल्म ‘ज्योति’ प्रर्दशन गर्दै उनीहरुले बालमैत्री देश बन्नका लागि जनचेतना आवश्यकता महसुस गरेर नयाँ अभियान सुरु गरेको जिकीर गरेका छन् । पुनर्निर्माणमा जुटेका धुर्मुस सुन्तलीले त्यसका साथमा भविष्यका कर्णधार बालबालिकालाई हरेक क्षेत्रमा समान सहभागिता गराउन सके नेपालको भविष्य उज्जवल हुने उनीहरुको सोचाई छ । करिब ५ हजार जनाको उपस्थितिमा भएको उक्त कार्यक्रमपछि अधिकाँसले हस्ताक्षर गरेर आफ्नो क्षेत्रलाई बालमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले ‘ज्योति’ फिल्मले आम नागरिकलाई बालमैत्री समाज निर्माणका लागि प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । रामेछाप जिल्लालाई बालमैत्री जिल्ला घोषणाका लागि सुरु गरिएका कामलाई अब झन् तिव्रताका साथ अघि बढाउने उनले प्रतिबद्धता समेत जनाएका छन् । यस्तै, रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले सहज ढंगमा सबैले बुझ्ने गरी निर्माण भएको फिल्मले मानिसको सोचाई परिर्वतन गर्न सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । एकैपटकमा समाजका अधिकाँस नागरिकलाई सुसुचित गराएर बालमैत्री समाज निर्माणमा फिल्म निकै सहयोगी हुने उनको भनाई छ । सदरमुकामसँगै गा.वि.स स्तरमा समेत बालमैत्री फिल्म ज्योति प्रदर्शन गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । रामेछापसँगै दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, गोरखा, सिन्धुलीलगायत अन्य १६ जिल्लाका ३२ ठाउँमा फिल्म प्रर्दशन गर्ने फाउण्डेशनको योजना छ । पहिलो चरणमा भूकम्प प्रभावित जिल्लाहरुमा बालमैत्री समाज निर्माणको अभियान सुरु गरिएको र त्यसपछि देशैभर पुग्ने उनीहरुको योजना छ ।