प्रभु इन्स्योरेन्सको १७ प्रतिशत बोनस पास, ५० प्रतिशत हकप्रद सेयर निष्काशन हुने
काठमाडौं, १२ कात्तिक । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस दिने निर्णय पास भएको छ । शुक्रबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणासभाले बोनस पश्चात ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने बैंक सञ्चालक समितिको प्रस्ताव समेत पारित गरेको छ । साथै उक्त सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पनि पास गरेको छ । बोनस तथा हकप्रद शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैयाँ हुनेछ । कम्पनीले आर्थिक वर्षमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष ०७२/०७३ मा ७६ करोड १७ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । साथै चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्ममा २४ करोड २७ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलब ३० प्रतिशत बृद्धि भएको छ । कम्पनीले बिगत वर्षदेखिनै मुलुकका दुर्गम जिल्लाहरुमा कृषि शाखाहरुको स्थापना गरि बीमा सेवा विस्तार गरेको छ ।हाल मुलुकभर कम्पनीका केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु संचालनमा रहेका छन् । आगामी दिनमा कम्पनीको सेवा विस्तारको लागि आवश्यक क्षेत्र पहिचान गरि शाखा बिस्तार गर्ने तथा कम्पनीलाई आवश्यकता अनुसार अझ बढी आधुनिकिकरण गर्दै लैजाने कम्पनीको योजना रहेको छ । भविष्यमा आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा शेयरधनी महानुभावहरुलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको छ ।
एस डेभलपमेन्ट बैंकको २१ औं साधारण सभा, २० प्रतिशत लाभांश पारित
काठमाडौं, १२ कात्तिक । एस डेभलपमेन्ट बैंकको २१ औं बार्षिक साधारण सभाले २० दशमलब २५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ । बैंकका अध्यक्ष राजीव राजभण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले अघि सारेको २० करोड २५ लाख ८१ हजार ४ सय रुपैंयाँ बराबरको बोनस सेयर दिने निर्णय पारित गरेको हो । अघिल्लो आर्थिक बर्षको नाफाबाट यस्तो बोनस सेयर वितरण गर्न लागिएको हो । साधारण सभाले आगामी कार्याकालका लागि पाँच सदस्यिय सञ्चालक समिति पनि चयन गरेको छ । जसमा योगेन्द्र बहादुर शाक्य, राजिव राजभण्डारी, राजेन्द्र प्रसाद दाहाल संस्थापक समुह चयन भएका छन् । त्यस्तै, बिनोद रत्न तुलाधर र केशब बोहरा साधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा चयन भएका हुन् । संस्थाक समुहका सञ्चालक सबै अघिल्लो कार्यकालकै दोहोरिएका हुन् । बैंकले १२ वटा शाखा र एउटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । गत साउन २१ गते नेपाल इन्भेष्टमेन्ट बैंकसँग अक्वायरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको बैंकले नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पर्खिरहेको बताएको छ ।
सनराइज बैंकको एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा
काठमाडौं, ११ कात्तिक । सनराइज बैंक लिमिटेडले आफ्नो एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा बैकिंङ् सेवाको संचालन गरेको हो । बैंकको गाईघाट शाखाका विश्वेश्वर नायकको उपस्थितिमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन पंचावती गा.वि.स.का सचिव खिलराज कार्कीले गरेका हुन् । सो अवसरमा बैंकको गाईघाट शाखाका प्रमुख विश्वेश्वर नायकले शाखारहित बैंकिङ्ग सेवाका व्यावसायिक प्रतिनिधि बोधकुमार घिमिरेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका छन् । बैंकको शाखाहरु नभएको ठाँउबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठाको छापबाट, पोइन्ट अफ सेल मेसिनको माध्यम बाट कारोबार गरिन्छ ।