भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नारायणगढ शाखा स्थानान्तरण

काठमाडौं, २० असोज । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले नारायणगढ शाखा कार्यालय स्थानान्तरण गरेको छ । ग्राहक वर्गमा सरल, सहज र अधिक पहुचको दृष्टिले उक्त शाखालाई बिहीबारदेखि साविक नारायणगढ, पुरानो वजार क्षेत्रबाट नारायणगढको मुख्य वजार क्षेत्र, लायन्स चोकमा स्थानान्तरण गरेको छ । उक्त शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन बैंकका अध्यक्ष सुशिल राज पराजुलीले गरेका छन् । उक्त अवसरमा अध्यक्षले बैंकको शाखा संजालको माध्यमद्धारा सरल तथा स्तरीय बैंकिङ्ग सेवाबाट ग्राहक महानुभावहरु थप लाभान्वित हुने बताएका छन् । उक्त बैंकले विभिन्न शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस, मोबाइल बैंकिङ् लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराएको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टर गरी कुल ४३ स्थानहरुवाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ ।

चन्द्रागिरि केबलकार दशैँको टिकाको दिन बाहेक अन्य दिन सञ्चालनमा आउने

काठमाडौं, १९ असोज । साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केबलकार विजयादशमी टिकाको दिन अर्थात असोज २५ गते एक दिन मात्र बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्य विदाका दिनमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने छ । साथै सेवाग्राहीको सुविधाका लागि सञ्चालित रेष्टुरेन्ट, बार, बाल उधान लगायतका सेवाहरु समेत सुचारु हुनेछन् ।

सिटिजन्स बैंकले ७५ करोड बोनसका साथै ३ करोड नगद लाभांश दिने, ८ अर्व पूँजी पुर्याउन २५ प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं, १६ असोज । सिटिजन्स इन्टरनेसनल बैंकले आर्थिक वर्ष ७२/७३ को नाफाबाट सेयरधनीलाई ७५ करोड ६ लाख ७५ हजार ७६२ रुपैयाँ बोनस दिने भएको छ । साथै, कर प्रयोजनको लागि ३ करोड ९५ लाख ९ हजार २५१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने बैंकको निर्णय पारित भएको छ । उक्त निर्णय आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको छ । सो मात्रामा बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्व ७५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्व रुपैयाँ पुर्याउने उद्देश्य अनुरुप बैंकले आफनो पूँजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र १०:२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्ष शंकर प्रसाद शर्माका अनुसार बैंकले आर्थिक वर्ष २०७२।७३ मा थप ११ अर्व ६१ करोड रुपैयाँ निक्षेप परिचालन गरी कूल निक्षेप ४७ अर्व ३९ करोड रुपैयाँ परिचालन गरेको छ । साथै कर्जा लगानी तर्फ बैंकले ११ अर्व ३६ करोड रुपैयाँ वृद्धि गरी कुल ४० अर्व ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै सोही आ.व.मा बैंकको संचालन मुनाफामा ४२.४५ प्रतिशत र खुद मुनाफामा ४९.९९ प्रतिशत वृद्धि भई क्रमश १ अर्व ५६ करोड रुपैयाँ तथा १ अर्व ८ करोड रुपैयाँ आर्जन गरेकोे बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सभाबाट समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न गरिएको निर्वाचनमा मनोहरदास मूल निर्विरोध निर्वाचित भएका छन् ।