हुण्डाईको नयाँ थ्री एस सेन्टर नेपालगञ्जमा, प्राविधिक सहितको स्टेट-अप-आर्ट सुविधा
काठमाडौं, २७ मंसिर । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज स्थित नयाँ थ्री एस सेन्टर उद्घाटन गरेको छ । कम्पनीले आफ्नो डिलर हिम अटो डिस्ट्रिब्युटरको संयोजकतोमा एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित सो स्थानमा नयाँ सेन्टर खोलेको हो । नेपालगञ्ज र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जनाएको छ । थ्री एस सेन्टरको उद्घाटन श्रेष्ठ परिवारका सदस्य, हिमप्रसाद श्रेष्ठ तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा.लि. का कार्यकारी निर्देशक निराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । नेपालगञ्जको केन्द्रीय स्थानमा स्थापना गरिएको नयाँ हुण्डाई थ्री एस सेन्टरमा ५ वटा सम्म गाडिको सोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यस उत्कृष्ट सेन्टरमा प्रति महिना ३०० वटा सम्म गाडिलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै यस सेन्टरमा प्रशस्त हुण्डाई जेनुइन् पार्ट्स पनि उपलब्ध हुनेछ । हुण्डाई तालिम केन्द्रबाट विशेष तालिम प्राप्त हुण्डाई कर्मचारीहरुले यस सेन्टर मार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने छन् । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा। लि। ले उपत्यका बाहेकका ठाउँमा पनि उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्य सहित पोखरा, नारायणघाट, बुटवल, दाङ, बिराटनगर, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ ।
विश्व रामसार सूचीमा सूचीकृत पोखराका नौ तालको व्यवस्थापन योजना तयार
पोखरा, २६ मंसिर । विश्व रामसार सूचीमा सूचीकृत पोखरा उपत्यकाका नौ तालको व्यवस्थापन योजना तयार भएको छ । सिमसारको एकीकृत ताल बेँसी व्यवस्थापन योजना विषयको राष्ट्रिय कार्यशाला गोष्ठीमा संरक्षण विकास फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले विभिन्न चरणका छलफलपछि योजनाको अन्तिम मस्यौदा तयार गरिएको जानकारी दिए । उनले रामसार सूचीमा सूचीकृत यस क्षेत्रका ताल प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परिरहेको हुँदा त्यसबाट जोगाउनु सरोकार भएका सबैको कर्तव्य भएको बताए । स्थानीयवासीको सक्रियताबिना तालको संरक्षण सम्भव नभएको बताउँदै उनले संरक्षणका साथसाथै आसपासका बासिन्दाको आर्थिक समृद्धि र विकासका लागि योजना तयार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। व्यवस्थापन योजनामा ताल संरक्षणका लागि सीमाङ्कन, जलाधार क्षेत्रमा हुने बाढीपहिरोजन्य प्रकोपको नियन्त्रण, बाँध निर्माण, जैविक विविधता तथा वातावरणीय संरक्षण लगायत कुरालाई समेटिएको छ । उनका अनुसार पोखराका नौ तालको संरक्षण गर्न लगभग १३ अर्ब रुपैयाँ लाग्ने योजनामा उल्लेख छ । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सङ्घीय संरचनामा स्थानीय प्राकृतिक सम्पदा आर्थिक समुन्नतिका लागि महत्वपूर्ण आधार बन्ने बताउँदै पोखरा क्षेत्रका ताल आर्थिक समृद्धि र विकासका लागि महत्वपूर्ण सहयोगी बन्नुपर्नेमा जोड दिएका छन्। उनले तालको संरक्षणका लागि स्थानीयवासीकै महत्वपूर्ण भूमिका हुने बताउँदै स्थानीयवासीको सक्रियताका आधारमा सरकारका तर्फबाट संरक्षणमा सक्दो सहयोग गरिने आश्वासन दिए। राष्ट्यि ताल संरक्षण समितिका अध्यक्ष नानीकाजी थापाले मुलुकमा पाँच हजार ३५८ वटा ताल रहेको जानकारी दिँदै तालको माध्यमबाट स्थानीयवासीको आयआर्जन गर्न सकिएमा मात्र संरक्षण प्रभावकारी बन्नसक्ने बताए । स्थानीय विकास अधिकारी बलराम ढकालले जिविसले यहाँका तालको संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै पर्यटकीय रुपमा तालको उपयोग गर्दै आर्थिक समृद्धिसँग जोडिनुपर्नेमा जोड दिए । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले दीर्घकालीन सोचका साथ संरक्षण तथा विकास योजना निर्माण गर्नुपर्ने औँल्याउँदै तयार भएको योजना कार्यान्वयनमा जोड दिइने बताए। पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले तालको सीमाङ्कन तत्काल टुङ्ग्याउँदै लामो समयदेखि राष्ट्रिय ताल संरक्षण समितिले रोक्का गरेका स्थानीयवासीका जग्गा फुकुवा गरिदिनुपर्ने माग गरेका छन् । जिविसका अधिकृत अर्जुन न्यौपानेका अनुसार रामसार सूचीमा सूचीकृत फेवा र कमलपोखरी पोखरा उपमहानगरपालिकामा तथा वेगनास, रुपा, मैदी, दिपाङ, गुँदे, खाष्टे र निउरेनी ताल लेखनाथमा पर्छन् । रासस
हेर्नुहोस्! यस्तो छ २५ किलोको एउटै लौका
धनगढी, २६ मंसिर । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको एउटा लौका फलेको छ । धनगढी वसन्त टोलका लालितमान सोपको बारीमा यति ठूलो लौका फलेको हो । केही दिनदेखि यहाँ जारी सुदूरपश्चिम महोत्सव अन्तर्गत कृषि प्रदर्शनी स्टलमा राखिएको यो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनी कक्षका किसान बालकुमार रानामगरले बताए । स्थानीय जातको यो गोलो लौकाको बोटमा कम्पोष्ट मल प्रयोग गरिएको बताइएको छ । यति ठूलो लौका फलेको देख्दा आफूलाई अनौठौ लागेको लौका अवलोकन गरिरहेका स्थानीयवासी हरिश जोशीले बताए । महोत्सवस्थलमा प्रदर्शनका लागि ल्याइएको हिमालको चौरी गाई र मरुभूमिको उँट पनि अर्को आकर्षणको केन्द्र बनेको छ । चौरी गाई र उँट नदेखेकाले हेर्न आएको हुँ, अवलोकनमा भेटिएका हेमराज पनेरुले भने—“आफूहरुको लागि चौरी गाई र उँट अनौठो जन्तु लाग्यो ।” रासस