अर्थमन्त्रीको दाबी - सरकारले सय दिनमा अभूतपूर्व काम गरेको छ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकिएका कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रम फत्ते गर्नु आफैँमा अभूतपूर्व उपलब्धि भएको तर्क गरे । उनले विधेयकलगायतका विषय सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको स्पष्टिकरण पनि दिए । अर्थ मन्त्रालयले भने सय बुँदामध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेले भने, 'सय दिनको प्रसंग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकें– सरकारको आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रम फत्ते भएका छन् । यो आफैँमा अभूतपूर्व हो । आफैले मापदण्ड, एकदमै जटिल मापदण्ड तोकेर त्यसैमा खरो उत्रन सरकारले इमान्दार रूपमा प्रयास गरिरहेको छ । केही कामहरू निरन्तर छन् ।' अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचनअघि जनतासामु गरेका बाचाअनुसार नै काम गरिरहेको पनि बताए ।
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजना : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन् । प्रधानमन्त्री शाहले मंगलबार एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डासँगको भेटवार्ताका क्रममा सो धारणा राखेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता अभिवृद्धि गर्ने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणलाई अगाडि बढाउनेबारे पनि अध्यक्ष कान्डालाई जानकारी गराएका थिए । उनले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थाहरू नै लगानी आकर्षित गर्ने तथा दिगो र समावेशी विकास हासिल गर्ने आधार भएको विश्वास समेत व्यक्त गरे । उक्त भेटवार्तामा एडिबी साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । सो अवसरमा नेपालमा जलविद्युत्को ठूलो सम्भावना रहेको उल्लेख गर्दै एडिबीको ऊर्जा रणनीतिअन्तर्गत स्वच्छ ऊर्जा उत्पादनमा साझेदारलाई जोड दिइएको थियो । छलफलका क्रममा प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना नेपाल सरकारको प्राथमिकता प्राप्त आयोजना भएको र दीर्घकालीन ऊर्जा सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए । यसको वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र सुरु गरिदिन पनि प्रधानमन्त्रीले जोड दिएका थिए । भेटवार्ताका क्रममा एडिबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी’अन्तर्गत विशेषगरी ऊर्जा, कनेक्टिभिटी, सहरी विकास तथा डिजिटल पूर्वाधारका क्षेत्रमा थप सहकार्य गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री शाहले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट विगत पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकास यात्रामा एडिबीले निरन्तर रूपमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा सहयोगको अपेक्षा गरेका थिए । मुलुकको ठूलो विकास साझेदार रहेको एडिबीको हाल नेपालमा सक्रिय खुद ‘पोर्टफोलियो’ करिब चार अर्ब २० करोड अमेरिकी डलर बराबरको रहेको छ । यसबाट ३१ वटा परियोजना सञ्चालनमा रहेका छन् । एडिबीबाट ‘पोलिसी बेस्ड लेन्डिङ’ अन्तर्गत सन् २०२६ मा १५ करोड अमेरिकी डलरको सहायता कार्यक्रम रहेको छ । यसअन्तर्गत मुख्यतया खानेपानी, सरसफाइ, सहरी पूर्वाधार विकास, युवा रोजगारी प्रवर्द्धन, विपद् जोखिम व्यवस्थापन, डिजिटल सुशासन र सहकार्यको प्राथमिकताका क्षेत्रमा पनि त्यस अवसरमा छलफल केन्द्रित रहेको थियो । प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार प्रधानमन्त्रीसँग भएको शिष्टाचार भेटवार्तामा एडिबीका अध्यक्ष कान्डाले नेपाललाई प्रदान गरिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । यसैगरी नेपालको डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि र रोजगारीको नयाँ आधारका रूपमा विकास भइरहेकामा सन्तोष व्यक्त गर्दै अध्यक्ष कान्डाले डिजिटल पूर्वाधार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, छलफल सुशासन र विकासमा केन्द्रीत
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । हाल नेपाल भ्रमणमा रहेका कान्डाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए । सोमबार नै नेपाल सरकार र एडिबीबीच करिब २५ अर्ब रुपैयाँ अर्थात् १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो ।