रास्वपाको महामन्त्री दौड रोमाञ्चक : विपिन आचार्यको पक्षमा नेताहरूको लहर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको चुनाव अन्तिम घडीमा थप रोचक बनेको छ । एकपछि अर्को उम्मेदवारले उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन जनाएपछि महामन्त्रीको प्रतिस्पर्धाले नयाँ मोड लिएको हो । महामन्त्रीका आकांक्षी प्रमोद न्यौपाने र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् । यसअघि नै निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल र जगदीश खरेलले पनि आचार्यको पक्षमा खुलेर उभिएका थिए । यस्तै, उम्मेदवार राजुनाथ पाण्डेले पनि अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै महामन्त्रीको चुनावी समीकरण फेरिएको छ । लगातारको समर्थन र उम्मेदवारी फिर्तासँगै विपिन आचार्य महामन्त्री दौडका बलिया दाबेदारका रूपमा उभिएका छन् । अब महामन्त्री पदका लागि मनिष झा, विपिन आचार्य, गणेश कार्की, सागर ढकाल र रञ्जु दर्शनाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ ।

रास्वपाको महामन्त्री पदमा आठजनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि आठ जनाको नाम उम्मेदवार सूचीमा कायम भएको छ ।  केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महामन्त्री पदमा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भएपछि पार्टीले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयन प्रक्रिया अघि बढाएको छ । यस चरणमा महामन्त्री पदका लागि आठ जना चुनावी मैदानमा उत्रिएका छन् । आयोगले सार्वजनिक गरेको अन्तिम सूचीअनुसार महामन्त्री पदमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन पराजुलीको नाम कायम रहेको छ ।

डा. शेखरसँग दाहाल-नेपालको भेटवार्ता, के भयो छलफल ?

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक  र सहसंयोजक  नेपालले शुक्रबार (आज) नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग कोइराला निवासमा भेटवार्ता गरेका छन् । भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, वर्तमान सत्ता समीकरण, राष्ट्रिय राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा विचार आदानप्रदान भएको कोइरालाका निजी सचिव दिनेश थपलियाले जानकारी दिए । कोइराला निवासमा भएको उक्त भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच प्रमुख दलका शीर्ष नेताबीच भएको महत्त्वपूर्ण संवादका रूपमा हेरिएको छ । यद्यपि भेटवार्तापछि कुनै औपचारिक निर्णय वा संयुक्त धारणा सार्वजनिक गरिएको छैन । यसअघि कोइरालालाई कांग्रेसका महामन्त्री गुरु घिमिरेले पनि भेटेका थिए ।