रास्वपाको महाधिवेशनमा १ हजार ६ सय बढीले गरे मतदान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । रातिदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरूले पार्टीका केन्द्रीय सदस्य चयनका लागि मत हालिरहेका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान आज दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । हालसम्म १ हजार ६ सयभन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् । निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि कुल ३८४ जनाको उम्मेदवारी परेको छ । तीमध्ये खुलातर्फ ६४ पदका लागि २१० जना र भूगोलतर्फ ३५ पदका लागि १७४ जना प्रतिस्पर्धामा छन् । भूगोलतर्फ सातवटै प्रदेशबाट ५-५ जना गरी ३५ जना निर्वाचित हुनेछन् । प्रदेशगत रूपमा उम्मेदवारी संख्या हेर्दा सुदूरपश्चिमबाट १८, मधेशबाट २०, लुम्बिनीबाट ३१, कोशीबाट २०, कर्णालीबाट ३१, बागमतीबाट २७ र गण्डकीबाट २७ जनाले उम्मेदवारी दिएका छन् । मतदान चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा जारी छ । पहिलो चरणको मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । त्यसलगत्तै दोस्रो चरणको मतदान सुरु हुनेछ, जसमा सबै प्रतिनिधिले पार्टीका पदाधिकारी चयनका लागि मतदान गर्नेछन् ।
रास्वपा महाधिवेशन: केन्द्रीय समिति चयनका लागि मतदान सुरु, भोलि बिहान १० बजेसम्म समय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदानको समयतालिका सार्वजनिक गरेको छ । आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनका लागि मतदान प्रक्रिया बुधबार (आज) असार १० गते राति १०ः३० बजेदेखि सुरु भइसकेको छ । यो मतदान प्रक्रिया भोलि (२०८३ असार ११ गते) बिहान १०ः०० बजेसम्म जारी रहनेछ । केन्द्रीय निर्वाचन आयोगले तोकिएको समयभित्र व्यवस्थित, पारदर्शी र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको जनाएको छ । आयोगले महाधिवेशनमा सहभागी सम्पूर्ण सम्बन्धित प्रतिनिधिहरूलाई तोकिएको समयसीमाभित्र आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध समेत गरेको छ । मतदान स्थल, डिजिटल मतपत्र र निर्वाचनका अन्य प्राविधिक प्रक्रियाका बारेमा प्रतिनिधिहरूलाई छुट्टै माध्यमबाट जानकारी गराइने सूचनामा उल्लेख छ ।
रास्वपामा मन्त्रीहरू नै प्रतिस्पर्धामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।