काठमाडौंमा मोटरसाइकल चोरेर पाटपुर्जा बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेर पाटपुर्जा निकाली बिक्री गर्ने तीन जना पक्राउ परेका छन् ।  बुधबार बूढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडाका ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, बुढानीलकण्ठ नगरपालिका ६ हात्तीगौंडा २८ वर्षीय नरबहादुर चित्रे र बुढानीलकण्ठ नगरपालिका ७ हात्तीगौंडा ३८ वर्षीय करण खड्गी पक्राउ परेका हुन् । संकटा मन्दिरमा पार्किङ गरी राखेको बा प्र ०२-०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जा निकाली बिक्री गरेर अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुई थान टायर, इन्जिनको भाग, भाइजर, चेसिस नम्बर काटेको टुक्राहरू, साइलेन्सर, ट्यांकी, सकको भाग, मोटरसाइकलको पार्ट पुर्जा निकाल्न प्रयोग हुने विभिन्न समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । त्यसैगरी, पाटपुर्जा निकाली जडान गरिएका ३ वटा मोटरसाइकलहरूसमेत बरामद गरिएको उनले बताए ।

काठमाडौंमा निर्वाचनका लागि ७ हजार बढी कर्मचारी खटिने

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा निर्वाचन प्रयोजनका निम्ति ७ हजार बढी कर्मचारी खटिने भएका छन् । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा ७ हजार ३७७ कर्मचारी परिचालन हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मतदान अधिकृत ८२३, सहायक मतदान अधिकृत ८२३, सहायक कर्मचारी २ हजार ४५१ र स्वयं सेवक कर्मचारी २ हजार ४५७ जना परिचालन हुने छन् । काठमाडौंमा मतदानस्थल ३३० र मतदान केन्द्र ८१७ वटा रहेका छन् । अस्थायी मतदानस्थल ६ वटा रहेको उनले जानकारी दिए । अस्थायी मतदानस्थलमा सेना, कैदीबन्दी, प्रहरी र कर्मचारीले मतदान गर्ने उनले जानकारी दिए । स्थायी मतदानस्थलमा ९ जना कर्मचारी र अस्थायी मतदान स्थलमा ५ जना कर्मचारी खटिने उनले बताए । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ७ लाख १० हजार ७०८ मतदाता  कायम भएका छन् । महिला ३ लाख ६४ हजार, पुरुष ३ लाख ४६ हजार ११६ र ७ जना छन् । निर्वाचन क्षेत्र नं. १ मा मतदानस्थल २२, मतदान केन्द्र ५७ छ । २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदानस्थल ४०, मतदान केन्द्र १००  छ ।  यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ जना छन् । क्षेत्र नं. २ काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो । निर्वाचन क्षेत्र नं. ३ मा मतदानस्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ३३ मतदानस्थल, ८८ मतदान केन्द्र रहेको छ । ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता छन् । क्षेत्र नं. ५ मा मतदानस्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । क्षेत्र नं. ६ मा मतदानस्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ ।  क्षेत्र नं. ७ मा मतदानस्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । क्षेत्र नं. ९ मा ३४ मतदानस्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ छन् । क्षेत्र नं. १० मा मतदानस्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् । मतदानस्थलमा ६ देखि ८ जना सुरक्षाकर्मी परिचालन गरिने काठमाडौं जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजलालले जानकारी दिए । मतदानस्थल बाहिर सशस्त्र प्रहरी र मतदानस्थल भन्दा थोरै दुरीमा नेपाली सेनाले सुरक्षा दिने उनको भनाइ छ । सुरक्षाको संवेदनशीलतालाई हेरेर सुरक्षाकर्मीको संख्या बढाइने रिजालले बताए । उनका अनुसार काठमाडौंमा तारकेश्वर र शंखरापुरका मतदानस्थललाई संवेदनशील मानिएको छ । ‘मतदानस्लमै मतपेटिका लुटन आएमा अवस्था हेरेर फिल्डका सुरक्षाकर्मीले आवश्यक कारबाही गर्न सक्ने छन्,’ रिजालले भने, ‘के कस्तो कारबाही गर्ने त्यो अधिकार सबै फिल्डको सुरक्षाकर्मीलाई हुन्छ ।’ काठमाडौंको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ? काठमाडौं १ –३० काठमाडौं २– २२ काठमाडौं ३–२४ काठमाडौं ४–२८ काठमाडौं ५–२६ काठमाडौं ६–२२ काठमाडौं ७–२८ काठमाडौं ८–२२ काठमाडौं ९–२६ काठमाडौं १०–२६

मानसिक स्वास्थ्यदेखि जलन उपचार कोषसम्म, यस्तो छ रास्वपाको स्वास्थ्य सुधार रोडम्याप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानसिक स्वास्थ्यलाई समेत स्वास्थ बीमाभित्र समेट्ने गरी कार्यक्रम सुदृढ गर्ने वाचा गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम संकटमा रहेको बेला निर्वाचन लक्षित वाचापत्रमा यो कार्यक्रमलाई सुदृढ गर्ने वाचा गरेको हो । प्रत्येक नागरिकको पहुँच सुनिश्चित हुने गरी स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्दै औषधी, उपचार तथा सेवाहरू, उपलब्ध गराउने वाचापत्रमा उल्लेख छ ।  क्यान्सर लगायत नसर्ने रोगलाई उपचारमुखिभन्दा रणनीतिक लक्ष्यका रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिएको रास्वपाले नसर्ने रोगको उपचारभन्दा कसरी जोगिने सचेत रहने भन्ने विषयमा सचेतना जगाउने कार्यक्रम सञ्चालन गरिने भनेको छ ।  हाल भइरहेका सबै कार्यक्रम उपचार मुखी रहेको बेला विज्ञहरूले पनि सचेतनामूलक गर्न आवश्यक रहेको बताउँदै आएका छन् । रास्वपाले मानसिक तथा अन्य रोगको रोकथाम र समग्र जीवनशैली सुधारका लागि योग र ध्यान कार्यक्रम सञ्चालन गर्ने बताएको छ । यसका लागि विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सञ्चालन गर्ने र वैज्ञानिक अध्ययनका आधारमा वैकल्पिक उपचार पद्धतिलाई संस्थागत ढङ्गले व्यवस्थित गर्ने भनेको छ । रास्वपाले जलन पीडितहरूको उपचारका लागि जलन उपचार कोष सञ्चालन गर्ने बताएको छ । निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न कोष स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण गर्ने उसको वाचा छ । मानसिक स्वास्थ्य सेवालाई सहज पहुँचमा पुर्याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्ने जनाएको छ ।  प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य उपचार सुरु गर्ने,यसका लागि सबै जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने र २४ सै घण्टा सञ्चालन हुने राष्ट्रिय हेल्पलाइनमार्फत सेवा प्रवाह गर्ने बताएको छ  । रास्वपाले प्रत्येक प्रदेशमा कम्तीमा एक ‘अत्याधुनिक अपाङ्गता पुनस्र्थापना विशिष्टिकृत स्रोत केन्द्र’ स्थापना गर्ने जनाएको छ । केन्द्रबाट अपाङ्गता भएका नागरिकलाई गुणस्तरीय र एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न सहज हुने उसको अनुमान छ ।  यी केन्द्रहरूमा ‘प्रोस्थेटिक्स र अर्थोटिक्स’ सेवा, सहायक सामाग्री, फिजियोथेरापी, अकुपेसनल थेरापी, र स्पीच थेरापी जस्ता विशेषज्ञ सेवाहरू एउटै छानोमुनि उपलब्ध गराइनेछ भने कृत्रिम अङ्गहरूको निर्माण र मर्मतका लागि आधुनिक प्रयोगशालाको व्यवस्था गरिने उल्लेख छ ।  यस्तै, रास्वपाले आगामी २०८७ सम्ममा रोकथाम गर्न सकिने अपाङ्गताबाट हुने व्यक्तिगत, पारिवारिक र राष्ट्रिय भारलाई न्यून बिन्दुमा झार्ने वचनवद्धता गरेको छ ।  अपाङ्गता पुनस्र्थापनकालागि ‘प्रारम्भिक पहिचान र शीघ्र हस्तक्षेप’ प्रणालीलाई तल्लो तहका स्वास्थ्य संस्थासम्म विस्तार गरिने, बालबालिकामा देखिने अटिजम, सुस्त श्रवण, दृष्टिसम्बन्धि र अन्य न्यूरो–डेभलपमेन्टल समस्याहरूको समयमै पहिचानका लागि स्थानीय तहका स्वास्थ्य डेस्कहरूलाई अत्याधुनिक ‘अर्ली स्क्रिनिङ’ औजार र दक्ष जनशक्तिसहित सक्रिय बनाइने उल्लेख छ ।  यस्तै, रास्वपाले देशभरि आधारभूत स्वास्थ्य क्षेत्रमा ‘न्यूनतम मापदण्ड’ कायम गरी सेवा प्रवाह गर्ने बताएको छ । यसका लागि आवश्यक मानव संसाधन, पर्याप्त औषधि आपूर्ति, अत्यावश्यक उपकरण, सहज पहुँच तथा आधारभूत पूर्वाधारको सुनिश्चितता सहितको एकीकृत मोडेल तयार गरी लागू गर्ने, भौगोलिक विकटता र जनसंख्या घनत्वका आधारमा सेवा विस्तारको स्पष्ट मापदण्ड तय गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ विस्तार गर्ने जनाएको छ । देशभरका स्वास्थ्यकर्मीहरुलाई जोड्न भर्चुअल शैक्षिक तथा सामाजिक सञ्जाल खडा गर्ने भनेको छ, जसले गर्दा दुर्गम ठाऊमा खटेका स्वास्थ्यकर्मीहरूलाई एक्लो तथा पृथक महसुस हुने अपेक्षा रास्वपाको छ ।