उता सर्वदलीय बैठक, यता बैठकको पर्खाइ
काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार (आज) ११ बजेबाट सुरु हुने भनिए अझैसम्म सुरु हुन सकेको छैन । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक बसिरहेकाले बैठक सुरु हुन नसकेको हो । उता संसद्को जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप प्रमुख राजनीतिक दलहरूबीच छलफल चलिरहँदा यता प्रतिनिधि सभाको बैठक कक्षमा सांसदहरूले बैठक सुरुवातको प्रतीक्षा गरेर बसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षका नेताहरू सहभागी छन् । वैठकमा उपस्थित एक नेताका अनुसार प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक गतिरोध अन्त्यगरी संसद् सञ्चालनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको छ । ती नेताले भने, ‘अन्तिम घडीमा आएर विवाद मिलाउने प्रयास हुँदा उता प्रतिनिधि सभाको वैठक बस्न ढिलाई भइरहेको छ ।’ सर्वदलीय बैठकबाट सहमति ननिस्किएसम्म सदनको कार्यवाही अघि बढ्ने सम्भावना न्यून देखिएको छ । प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् । सोही विषयमा सहमति खोज्न संवाद तीव्र बनाइएको हो ।
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो । आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् । रास्वापका प्रवक्ता मनिष झाका अनुसार कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेका छन् । उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ । मधेसका महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपश्चात् निर्वाचनको प्रक्रिया अघि बढेको छ । सप्तरी र बारामा आज तथा धनुषामा मङ्गलबार अधिवेशन हुने सो पार्टीले जनाएको छ बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, सिन्धुली, धादिङ, रामेछाप, चितवन र ललितपुरको अधिवेशन पनि सम्पन्न भइसकेको छ । सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित भएको छ । गण्डकीका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सम्पन्न भइसकेका छन् भने बागलुङमा जिल्ला कार्यसमितिमा सहमति भए भनिएपछि उजुरी परेपछि हाललाई रोखिएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा निर्वाचन प्रक्रिया चलिरहेको प्रवक्ता झाले जानकारी दिए । लुम्बिनीका गुल्मी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीमा अधिवेशन सम्पन्न भइसकेका छन् । कर्णालीका कालीकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन हुँदैछ । सुदूरपश्चिमका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको तथा डोटी र बाजुरामा निर्वाचन प्रक्रिया बाँकी रहेको प्रवक्ता झाले जानकारी दिए । रास्वपाले यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन गर्दैछ । मङ्गलबार बागमती प्रदेशको अधिवेशन हुँदैछ । पार्टीका तल्ला कमिटीको अविधेशन सम्पन्न गरेर रास्वपा अगामी असार ७ देखि ९ गतेसम्म प्रथम राष्ट्रिय महाधिवेशनमा होमिँदैछ । रास्वपाको पहिलो महाधिवेशन चितवनमा आयोजना गरिएको छ । रास्वपाले यसअघि चार हजार २५० वडा तथा ५१६ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ ।
एमाले पुनर्गठन कार्यदलको पहिलो बैठक मंगलबार बस्ने
काठमाडौं । नेकपा एमालेले गठन गरेको पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलको पहिलो बैठक मंगलबार (भोलि) बस्ने भएको छ । बैठक अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने तय भएको एमाले सचिव छविलाल विश्वकर्माले जानकारी दिए । उनका अनुसार कार्यदल गठनपछि पहिलोपटक बस्न लागेको बैठकले कार्यविधि, कार्ययोजना तथा आगामी कामको ढाँचा तय गर्नेछ । एमाले सचिवालयको जेठ १० गते बसेको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । गठन भएको करिब १५ दिनपछि कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठकले कार्यविधि स्वीकृत गरेपछि प्रदेश तथा आवश्यकताअनुसार जिल्ला तहसम्म पुगेर नेता–कार्यकर्ता र सरोकारवालासँग सुझाव संकलन गर्ने तयारी गरेको छ ।