कोशी प्रदेशमा ५०४ उम्मेदवार मैदानमा, मोरङ र सुनसरीमा धेरै
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशमा उम्मेदवारी दर्ताको आँकडाले राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत दिएको छ । प्रदेशका १४ वटै जिल्लाका २८ निर्वाचन क्षेत्रमा मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा कुल ५०४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन २०८२ मा कोशी प्रदेशमा गरिएको उम्मेदवारी दर्ता विवरणले सहरी र जनघनत्व बढी भएका जिल्लामा प्रतिस्पर्धा चर्को देखाएको छ । विशेषगरी, मोरङ र सुनसरीजस्ता औद्योगिक, व्यापारिक तथा राजनीतिक रूपमा प्रभावशाली जिल्लामा उम्मेदवारको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ । मोरङमा ११८ र सुनसरीमा १०९ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले बताएको छ । यी जिल्लामा ठूला दलका प्रभावशाली नेतादेखि स्वतन्त्र तथा नयाँ दलका उम्मेदवारसम्मको उपस्थितिले बहुकोणीय प्रतिस्पर्धा हुने देखिएको छ । यसको विपरीत, तेह्रथुम, भोजपुर र सोलुखुम्बुजस्ता पहाडी तथा भौगोलिक रूपमा विकट जिल्लामा उम्मेदवारी संख्या न्यून देखिएको छ । यी जिल्लामा समान रूपमा १२–१२ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् । यसपटक कोशी प्रदेशमा परम्परागत ठूला दलसँगै नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको पनि उल्लेख्य उपस्थिति देखिएको छ । यस्तो छ जिल्लागत तस्बिर : जिल्लागत रूपमा मोरङमा ११८ र सुनसरीमा १०९ जनाले उमेदवारी दर्ता गराएका छन् । झापामा ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने इलामका दुई निर्वाचन क्षेत्रमा २७ जनाको उम्मेदवारी परेको छ । यसैगरी, उदयपुरका दुई निर्वाचन क्षेत्रमा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसले मध्यमस्तरको प्रतिस्पर्धा देखाउँछ । तेह्रथुम, भोजपुर र सोलुखुम्बमा १२–१२ जना उमेदवार मैदानमा छन् । राजनीतिक विश्लेषक तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीका अनुसार उम्मेदवारी संख्या धेरै हुँदा मत विभाजनको सम्भावना उच्च हुन्छ । यसले कम मतान्तरमै नतिजा आउने अवस्था सिर्जना गर्न सक्छ । विशेषगरी मोरङ, सुनसरी र झापाजस्ता जिल्लामा मत विभाजन निर्णायक बन्न सक्ने आँकलन भण्डारीको छ । समग्रमा कोशी प्रदेशमा देखिएको उम्मेदवारीको वितरणले क्षेत्रगत असमानता भए पनि निर्वाचनप्रति जनचासो र राजनीतिक सक्रियता उल्लेखनीय रूपमा बढेको संकेत देखिएको भण्डारीको दाबी छ । यसले आगामी निर्वाचनलाई नतिजाका हिसाबले मात्र होइन, राजनीतिक सन्देशका दृष्टिले पनि महत्वपूर्ण बनाउने देखिन्छ । जिल्लागत रूपमा उम्मेदवारी विवरण : ताप्लेजुङ- १३ जना पाँचथर- १५ जना इलाम- २७ जना झापा- ८६ जना संखुवासभा- १६ जना तेह्रथुम- १२ जना भोजपुर- १२ जना धनकुटा- १८ जना मोरङ- ११८ जना सुनसरी- १०९ जना सोलुखुम्बु- १२ जना खोटाङ- १५ जना ओखलढुङ्गा- १६ जना उदयपुर- ३१ जना
विद्यार्थी राजनीतिमा खारिएका कांग्रेसी नेता, संसद पुग्ने प्रतिस्पर्धामा
काठमाडौं । फागुन २१ गते हुने आमनिर्वाचनले देशको राजनीतिक वातावरणलाई छपक्कै छोपेको छ । दल, क्षेत्र, समूह र पृष्ठभूमिअनुसार उम्मेदवारको चर्चा हुनु यसबेला स्वाभाविक बनेको छ । त्यसमाथि विद्यार्थी राजनीतिबाट राष्ट्रिय संसदसम्मको यात्रा कुन–कुन नेताले तय गर्दैछन् भन्ने चासो झनै बढ्दो छ । यही सन्दर्भमा नेपाली कांग्रेसको नेतृत्व उत्पादन गर्ने कारखाना भनेर चिनिने नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्व सभापतिहरूमध्ये कसले संसद यात्राको टिकट काटे भन्ने विषयले विशेष अर्थ राख्छ । इतिहासले देखाउँछ कि नेपाली कांग्रेसको मूलधार राजनीतिमा नेविसंघ निर्णायक नर्सरी रहँदै आएको छ । पार्टीका थुप्रै शीर्ष नेता विद्यार्थी राजनीतिबाटै उदाएका छन् । यही पृष्ठभूमिमा हेर्दा यसपटकको निर्वाचनमा नेविसंघका ८ जना पूर्वसभापतिले प्रतिनिधि सभा सदस्यको टिकट पाउनु आफैमा महत्त्वपूर्ण राजनीतिक संकेत हो। एक जना पूर्वसभापति रञ्जित कर्णले भने प्रतिनिधिसभा होइन, राष्ट्रियसभाको टिकट पाएका छन् । नेविसंघका तत्कालीन सभापति शेरबहादुर देउवाले दुई कार्यकाल पार्टीको नेतृत्व गरेपछि उनलाई प्रतिस्थापन गर्दै तत्कालीन महामन्त्री गगन थापाको पुस्ताले कांग्रेसको नेतृत्वमा प्रवेश गरेको छ । नेपाली कांग्रेसबाट संसद यात्राको टिकट पाउने भाग्यमानी नेतामध्ये अग्रपंक्तिमा पर्छन् नेविसंघका पूर्वसभापति विमलेन्द्र निधि । निधिले धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन् । नेविसंघका तेस्रो सभापति रहेका निधि कांग्रेस राजनीतिमा लामो समयदेखि प्रभावशाली भूमिकामा छन् । त्यस्तै, नेविसंघका चौथो सभापति ज्ञानेन्द्रबहादुर कार्की पनि संसद यात्राको टिकट काट्न सफल भएका छन् । कार्की सुनसरी क्षेत्र नं. ४ बाट कांग्रेसका उम्मेदवार बनेका छन् । लामो समय पार्टी संगठन र सरकार दुवै तहमा अनुभव बटुलेका कार्कीलाई कांग्रेसले अनुभवी र व्यवस्थापन क्षमतायुक्त नेताका रूपमा अघि सारेको देखिन्छ । नेविसंघका सातौं सभापति एनपी साउदले कञ्चनपुर क्षेत्र नं २ बाट टिकट पाएका छन् । सुदूरपश्चिम राजनीतिमा प्रभाव जमाइसकेका साउद विद्यार्थी राजनीतिदेखि नै संगठन निर्माणमा खारिएका नेता मानिन्छन् उनी । उनको उम्मेदवारीले कांग्रेसले क्षेत्रीय सन्तुलन र अनुभवी नेतृत्वलाई प्राथमिकता दिएको सन्देश दिन्छ । यसपटक टिकट पाउने सूचीमा नेविसंघका नवौं, एघारौं र बाह्रौं सभापतिहरू पनि अटाएका छन् । नवौं सभापति गोविन्द भट्टराई तनहुँ क्षेत्र नं १ बाट कांग्रेसका प्रत्यासी बनेका छन् । संगठनमा स्पष्ट धारणा र निरन्तर सक्रियताका कारण भट्टराईलाई पार्टीले विश्वास गरेको देखिन्छ । एघारौं सभापति किशोरसिंह राठौर बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, बाह्रौं सभापति गुरुराज घिमिरे मोरङ क्षेत्र नं ४ बाट कांग्रेसका उम्मेदवार बनेका छन् । विद्यार्थी राजनीतिदेखि संसदीय अभ्याससम्मको अनुभव जोड्दै आएका राठौर र घिमिरेलाई पार्टीको बलियो अनुहारका रूपमा हेरिएको छ । नेविसंघका पन्ध्रौं सभापति प्रदीप पौडेल काठमाडौं क्षेत्र नं. ५ बाट कांग्रेसका प्रत्यासी बनेका छन् । सहरी मतदाता र युवामतलाई लक्षित गर्दै कांग्रेसले पौडेलमार्फत नयाँ सन्देश दिन खोजेको देखिन्छ । त्यस्तै, नेविसंघका अठारौं सभापति नैनसिंह महर पनि यसपटक प्रतिनिधि सभा सदस्यको टिकट पाउने सूचीमा छन् । महर नेविसंघका दोस्रो सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुराबाट उम्मेदवार बनेका छन् । देउवाको राजनीतिक विरासत बोकेको क्षेत्रमा महरको उम्मेदवारीलाई संगठनात्मक निरन्तरताको रूपमा व्याख्या गरिएको छ । नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य भन्छन्, ‘अब प्रश्न एउटै छ- नेविसंघको नर्सरीबाट संसदको टिकट काट्न पुगेका यी नेताहरूले आफ्नो विद्यार्थीकालीन आदर्श, संगठनप्रतिको प्रतिबद्धता र जनअपेक्षालाई आम जनतावाट अनुमोदन दिलाउन सक्छन् सक्दैनन् ? यसको उत्तर निकट भविष्यले दिनेछ ।’
जो जनताले दिएको जिम्मेवारी छोडेर संघीय निर्वाचनमा होमिए
काठमाडौं । स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित भएर ‘जनताकै सेवा गर्छु’ भनेर जिम्मेवारी लिएका जनप्रतिनिधिहरू आफ्नो कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन् । ५ वर्ष कार्यकालको जिम्मेवारी पाएका जनप्रतिनिधिले कार्यकाल समाप्त हुनुअघि नै राजीनामा दिएपछि स्थानीय शासनको स्थायित्व, विकासप्रति प्रश्न खडा भएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि राजीनामा दिएसँगै केही पालिकाहरूमा प्रमुख पद रिक्त भएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन) ले राजीनामा दिएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावमा लडेका छन् । महानगरका निवर्तमान प्रमुख शाहले झापा–५ बाट मनोनयन दर्ता गरेका छन् । झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको इपिसेन्टरको रूपमा लिइन्छ । चितवन महानगरको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकी र जनताको विश्वास जित्न सफल मेयर रेणु दाहालले पदबाट राजीनामा दिएर चितवन ३ बाट उठेकी छिन् । उनको प्रतिस्पर्धीको रूपमा चितवन ३ बाटै रास्वपाबाट सोविता गौतमले मनोनयन दर्ता गरेकी छिन् । त्यस्तै, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले आफ्नै पार्टी श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उमेदवार मनोनयन दर्ता गराएका छन् । धरानबासीलाई पानी खुवाएर छाड्छु भनेर प्रतिबद्धतासहित मेयरमा उठेका साम्पाङले कार्यकल अवधिभरि त्यही काममै निरन्तर लागिरहे । यद्यपि उनी विवादरहित हुन सकेनन् । समयमै बजेटसमेत ल्याउन सकेनन् । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले पनि राजीनामा दिएर बाँके २ बाट चुनावमा लड्दैछन् । उनले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट मनोनयन दर्ता गराएका छन् । धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले पदबाट राजीनामा दिएर नेकपा एमालेबाट काभ्रे–२ बाट लड्दैछन् । यस क्षेत्रमा यसअघि २०७४ र २०७९ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा उम्मेदवार रहेका थिए । कैलालीको टिकापुर नगरपालिका प्रमुखविहीन भएको छ । नगरपालिकाका मेयर रामलाल डगौरा थारूले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न पदबाट राजीनामा दिएका हुन् । उनले २०७९ सालको स्थानीय चुनावमा उनले नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका थिए । अहिले भने उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार बनेका हुन् । इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले नेकपाबाट इलाम क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका छन् । स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयर जितेका राई पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा जित हासिल गरेका थिए । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा राईले एमालेका काजीमान कागतेसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि राई र कागतेबीच नै प्रतिस्पर्धा भएको थियो । मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार अग्रवालले पदबाट राजीनामा दिएर चुनावमा उठेका छन् । उनले एमालेको तर्फबाट मोरङ २ बाट उम्मेदवारी दिएका छन् । दुई कार्यकालसम्म रंगेली नगरपालिकाको मेयर रहेका अग्रवाल हालै सम्पन्न एमालेको ११औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएपछि लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी एमाले केन्द्रीय सदस्य अस्मिता थापाले ओखलढुंगाबाट चुनावमा उठ्दैछिन् । उनी हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत निर्वाचित भएकी थिइन् । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई नेकपा एमालेले स्याङ्जा–२ बाट निर्वाचनमा उठाएको छ । स्याङ्जा–२ मा दुईपटक पालिका जितेका थापालाई उम्मेदवार बनाएसँगै पालिका अध्यक्षविहीन भएको छ । उनी २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा निर्वाचित भएका थिए । थापाले गत निर्वाचनमा स्थानीय तहको अध्यक्ष पदमा ६७ सय मत ल्याएर निर्वाचित भएका थिए ।