कांग्रेस सभापति थापाद्वारा एकताका लागि पहल सुरु, पूर्णबहादुर खड्कासँग भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । उनले आज साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका हुन् । सभापति थापा नेता खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु ’, सभापति थापाले भने। सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उनको भनाइ थियो । उनले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गरे ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले दिएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार (आज) बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ । बैठकले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ । यसअघि प्रवास विभाग प्रमुखको जिम्मेवारीमा उपसभापति डिपी अर्याल रहेका थिए । अर्याल सभामुखमा निर्वाचित भएपछि उनी पार्टीको जिम्मेवारीबाट अलग भएका छन् । उनी सभामुखमा निर्वाचित भएसँगै सो पद रिक्त थियो । सचिवालयले केन्द्रीय समिति बैठकको ‘एजेन्डा’ तय गरेको छ । पार्टी प्रवक्ता झाका अनुसार केन्द्रीय समिति बैठकको प्रारम्भमा पार्टी गतिविधिबारे ‘ब्रिफिङ’ हुनेछ । बैठकमा केन्द्रीय सदस्यहरुको रिपोर्टिङ हुनेछ । केन्द्रीय सदस्यलाई दुई मिनेटका दरले समय छुट्याइएको छ । बैठकमा केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधनका विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकारलगायत विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।