‘बालेन सरकार गठनपछि महँगी बढ्यो, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउनु आपत्तिजनक छ’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ सरकार गठन लगत्तै महँगी र कालो बजारी बढेको बताएको छ । नेकपाले आइतबार विज्ञप्ति जारी गदै नयाँ सरकार बनेलगत्तै महँगी र कालोबजारी बढेको बताएको हो । नेकपाले विज्ञप्तिमा संविधानको मर्म र भावनाविपरीत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास अत्यन्तै आपत्तिजनक भएको पनि उल्लेख गरेको छ ।  सरकारले सुकुम्वासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने कार्यप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।    यस्तो छ विज्ञप्ति हालै सरकारले सुकुम्वासी परिवारहरूलाई बसोबास र जीविकोपार्जनको उचित विकल्प उपलब्ध नगराई जबरजस्ती उठिबास लगाउने तथा झुप्रा भत्काउने कार्यप्रति नेपाली कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको अमानवीय कदमले पीडित परिवारलाई बिचल्ली पार्नुका साथै सीमान्तकृत समुदायको राज्यप्रतिको जनविश्वास कमजोर बनाउने खतरा बढ्ने हाम्रो ठहर छ । सुकुम्वासी व्यवस्थापनका सन्दर्भमा समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं ।  यसैगरी नयाँ सरकार गठन लगत्तै महङ्गी र कालो बजारी बढेकोमा तत्काल नियन्त्रण गर्न हाम्रो पार्टी आग्रह गर्दछ । साथै संविधानको मर्म र भावनाविपरीत विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास अत्यन्तै आपत्तिजनक छ । पञ्चायती कालखण्डमा समेत संगठित हुने अधिकार उपभोग गर्दै आएका विद्यार्थीहरूमाथि बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो प्रतिबन्ध लगाइनु स्वीकार्य हुन सक्दैन । संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरीत ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति पनि हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ । सरकारलाई यो विषयलाई हलुकारूपमा नलिन र पुनर्विचार गर्न आग्रह गर्दछौं । ताजा जनादेशबाट बनेको वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय तथा समृद्धिको ठूलो अपेक्षा गरेका छन्। सरकारले अघि सारेका वाचा तथा प्रतिबद्धतापत्रका सकारात्मक विषयहरूलाई हाम्रो पार्टी सकारात्मक रूपमा स्वागत गर्दछ । तथापि, शासन सञ्चालन प्रक्रिया तथा संसदीय अभ्यासका क्रममा देखिएको पूर्वाग्रही, मनोगत तथा एकपक्षीय दृष्टिकोण चिन्ताजनक छन् । नेपाली कम्युनिष्ट पार्टी सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुम्वासी, किसान, मजदूर तथा उपेक्षित, उत्पीडित समुदायप्रति सहिष्णु र जिम्मेवार बन्न, सामाजिक न्याय र सुशासनको विषयमा अनावश्यक स्टनबाजी नगर्न तथा लोकतान्त्रिक अधिकारहरूलाई थप संस्थागत गर्ने दिशामा अघि बढ्न आग्रह गर्दछ । हामी लोकतन्त्रको सर्भिसिङका पक्षमा छौं । तर लोकतन्त्रको सुदृढीकरण, अधिकारहरू खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन, बरु सीमान्तीकृत समुदायका अधिकारहरूलाई सुदृढ गर्दै यी समुदायका पक्षमा सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै सही मार्ग हो भन्ने हाम्रो ठहर छ ।  

रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यस्तै, पार्टीका विभिन्न विभागहरू, केन्द्रीय आयोग, सल्लाहकार परिषद् र संघीय नेतृत्व मञ्चमा मनोनयन गर्ने विषयमा पनि सचिवालयले निर्णय लिने जनाइएको छ ।

महामन्त्री पौडेलको स्पष्टोक्ति– पुरानो सदस्यता खारेज हुँदैन, झनै व्यवस्थित बनाउन खोजिएको हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए ।  एक पटक डिजिटल रेकर्ड भए पछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एकपटक आ-आफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरूलाई आग्रह गरे ।  सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे।  ‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने, ‘यसमा कोही अलमलमा नपरौं ।’ महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए ।  महामन्त्री पौडेलले पार्टीको सदस्य सँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए ।  महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानु पर्ने व्यवस्था गरिएको बताए ।  ‘हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो,’ उनले भने, ‘यसले विवरणमा पारदर्शितासमेत कायम गर्न सकिनेछ । कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुंग्याइने उनले बताए ।  कांग्रेसले जिल्ला सभापति मार्फत सबै वडामा सदस्यताको फारम पठाउनेछ । वडा सभापति मार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ ।  सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।