मन्त्रिपरिषद्का ४ निर्णय
काठमाडौं । सरकारले ओजोन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनका लागि महत्वपूर्ण निर्णय गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गत ओजोन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसँग सम्बन्धित सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो । त्यसैगरी, गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बलका नायब निरीक्षक अन्जनीकुमार पोख्रेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरिएको छ । मन्त्रिपरिषद्ले भूमि समस्या समाधान समितिका रिक्त पदहरूमा पनि पदाधिकारी नियुक्त गरेको छ । समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरिएको छ । समितिका सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौंकी डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले मनोनयन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि ४५ दिन थप गर्ने निर्णय पनि भएको छ ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक मंगलबार (आज) अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
एमालेको राष्ट्रिय कार्यशाला अध्यक्ष ओलीले उद्घाटन गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ को निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुने भएका छन् । जेठ २० र २१ गते काठमाडौंमा पार्टीको संगठन विभागले आयोजना गर्ने राष्ट्रिय कार्यशालालाई अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक कार्यशालाको अध्यक्ष ओलीले उद्घाटन गर्ने एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार कार्यशालामा संगठन सुदृढीकरण, सदस्यता विस्तार, पार्टी संरचनाको प्रभावकारी परिचालन तथा भावी कार्ययोजनाबारे छलफल र अभिमुखीकरण गरिनेछ । कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, पदाधिकारी, कार्यालय सचिव तथा विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता रहने डा. अधिकारीले जानकारी दिए । एमालेले कार्यशालामार्फत सदस्यता नवीकरण तथा विस्तार अभियानलाई थप प्रभावकारी बनाउने र पार्टी संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ ।