ग्लोबल स्कुल अफ साइन्सले लियो प्रवेश परीक्षा, उत्कृष्ट २५ जनाले छात्रवृत्ति पाउने

काठमाडौं । ग्लोबल स्कुल अफ साइन्स(जीएसएस) ले कक्षा ११ का लागि सञ्चालन गरेको प्रवेश परीक्षामा झण्डै ९ हजार विद्यार्थी सहभागी भएका छन् । आइतबार सम्पन्न प्रवेश परीक्षामा देखिएको विद्यार्थीको ठूलो सहभागिताले संस्थाप्रति विद्यार्थी र अभिभावकले राखेको विश्वास झल्काएको जीएसएसका कार्यक्रम निर्देशक गोकुलदेव बडूले बताए । उनका अनुसार जीएसएसले निर्माण गरेको शैक्षिक वातावरण, अनुशासन, व्यवस्थापन र समर्पित शिक्षक टोलीप्रतिको भरोसाका कारण विद्यार्थीको आकर्षण बढेको हो । प्रवेश परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थी पूर्ण छात्रवृत्तिका लागि अन्तर्वार्तामा सहभागी हुन योग्य हुनेछन् । सोमबार हुने अन्तर्वार्ताबाट छनोट भएका उत्कृष्ट २५ विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउने जीएसएसले जनाएको छ । अन्तर्वार्ताको नतिजा सोमबार साँझ सार्वजनिक गरिनेछ । त्यस्तै, ४० प्रतिशतभन्दा बढी र ७५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थी भने कलेज भर्नाका लागि योग्य हुनेछन् । उनीहरूले सोमबार बिहानदेखि नै भर्ना प्रक्रिया सुरु गर्न सक्ने कार्यक्रम निर्देशक बडूले जानकारी दिए । जीएसएसले पढाइसँगै विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित वातावरण तयार गरेको दाबी गरेको छ । कलेजका अनुसार शिक्षकहरूको मेहनत, विद्यार्थीको राम्रो प्लेसमेन्ट तथा निरन्तर उत्कृष्ट नतिजाका कारण अभिभावक र विद्यार्थीको विश्वास बढ्दै गएको हो । ‘यो भिड प्रचारले नभई विश्वासले आएको हो,’ कार्यक्रम निर्देशक बडूले भने, ‘यसले संस्थालाई अभिभावकप्रति अझ जिम्मेवार बनाएको छ ।’   

उच्च रक्तचापको समस्या : हामी कहाँ चुक्छौँ ?

उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरबारे मानिसमा पर्याप्त जानकारी नभएकाले होला, खासै महत्व दिएको पाइँदैन । यसले उच्च रक्तचापले गर्ने दुर्घटना प्रत्यक्ष देखेका हुन्छन्, भोगेका हुन्छन्, उनीहरूले मात्रै उच्च रक्तचाप यस्तो रहेछ भनेर आत्मसात् गरेका हुन्छन् । उच्च रक्तचापको औषधि खायो भने यस्तो हुन्छ रे, जिन्दगीभरि खानुपर्छ रे, ‘साइड–इफेक्ट’ गर्छ रे भन्ने धेरै किसिमका भनाइ सुनिन्छन् तर औषधि नखाई सधैँ उच्च रक्तचाप लिएर हिँड्दा के के खतरा हुन्छ भन्ने धेरैले विचार गरेको देखिँदैन ।      लक्षण बिनाको उच्च रक्तचाप      उच्च रक्तचाप भएका बिरामी सबैलाई लक्षण देखिनैपर्छ भन्ने छैन । कसैलाई १५० पुग्नासाथै टाउको दुख्ने, रिँगटा लाग्ने भएर आइपुग्छन् भने कोही कोहीमा माथिको (सिस्टोलिक) प्रेसर २५० पुग्दा पनि कुनै लक्षण नदेखिने हुनसक्छ । बिरामी अन्य कुनै कारणका लागि प्रेसर जाँच गर्दा उच्च देखिएपछि डाक्टर कहाँ पुग्छन् । कतिपय अवस्थामा रक्तचाप उच्च भएर पनि लक्षण नदेखिनु भनेको लक्षण देखिने रक्तचापभन्दा खतरनाक हुनसक्छ । यस अर्थमा कि लक्षण नदेखिँदा आफूलाई सबै ठिकै छ, म स्वस्थ छु भन्ने पर्छ र कुनै बेला त्यही रक्तचापले ठूलै समस्या गराउन सक्छ ।      केही लक्षण नदेखिए पनि निरन्तर उच्च रक्तचापले शरीरका अङ्गहरू विशेषगरी मुटु, मिर्गौला, आँखा र मस्तिष्कमा पुर्याउने क्षति पुर्याई नै रहेको हुन्छ । रक्तचाप उच्च भएर पनि लक्षण नदेखिने बिरामी नै एकैचोटि हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ । त्यसैले आफ्नो उच्च रक्तचाप समय समयमा देखाइरहनु आवश्यक छ । साथै रक्तचाप उच्च भएर लक्षण नदेखिए पनि भविष्यमा हुनसक्ने क्षतिबाट बच्न औषधि सेवन आवश्यक छ ।      औषधि सुरु गर्न हिच्किचाहट      उच्च रक्तचापले गर्नसक्ने खतराबारे आवश्यक ज्ञान नभएकाले नै होला उच्च रक्तचापको औषधि भनेपछि हिच्किचाइहाल्छन् । उच्च रक्तचाप त्यति धेरै उच्च नभएको अवस्थामा, पहिलोपल्ट देखिएको उच्च रक्तचाप, तथा शरीरका अङ्गहरूमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर उच्च रक्तचाप घटाउन कोसिस गर्न सकिन्छ । तर यी उपायहरू अपनाउँदा पनि उच्च रक्तचाप उच्चै रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन ।       उच्च रक्तचापको औषधिको मुख्य काम उच्च रक्तचापलाई नियन्त्रणभित्र राख्नु हो । उच्च रक्तचापलाई नियन्त्रणभित्र राखेर शरीरका अन्य अङ्गहरूमा क्षति पुग्नबाट यसले बचाइराखेको हुन्छ । नियमित औषधि सेवन गर्दै जाँदा र चिकित्सकको सल्लाहबमोजिम खानामा परहेज, नियमित व्यायाम आदि गर्दै गएमा कुनै समय उच्च रक्तचाप घट्दै पनि जानसक्छ । बारम्बार नाप्दा पनि आवश्यकभन्दा घट्दै गएको पाइएमा चिकित्सकको सल्लाह लिएर खाने औषधिको मात्रा कम वा औषधि नै बन्द पनि गर्न सकिन्छ ।      औषधि खाएपछि ‘साइड–इफेक्ट’ गरिहाल्छ भन्ने भ्रम      साइड–इफेक्ट सबै औषधिको हुन्छ । उच्च रक्तचापका औषधिहरूको पनि आफ्नै किसिमका साइड इफेक्टहरू छन् । तर ती सबै साइड इफेक्टहरू सधैँ सबैलाई हुने सम्भावना मात्रै हो, हुन्छ नै भन्ने होइन । कुनै साइड–इफेक्ट छोटो समयमै देखापर्छन् भने कुनै २०–३० वर्षको लगातार औषधि सेवनपछि देखिन्छन् । डाक्टरको सम्पर्कमा बसेर डाक्टरको सल्लाहअनुसार नियमित चेक जाँच गरिरहेमा साइड इफेक्टहरू हुन थालेमा तुरन्तै पत्ता लाग्छ ।  साइड–इफेक्ट भएको थाहा पाएमा औषधि अदलबदल गरेर साइड–इफेक्टले गर्ने क्षतिबाट बच्न सकिन्छ । तर साइड–इफेक्ट गर्छ भनेर औषधि सुरु नगरी सधैँ उच्च रक्तचाप लिएर बस्दा प्यारालाइसिस, हृदयाघात हुने, मिर्गौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्नेजस्ता भयानक असरहरू हुनसक्छन् जुन असरहरूको तुलनामा औषधिको साइड–इफेक्टहरू केही होइनन् ।      उच्च रक्तचापका कुनै औषधि खाँदा खुट्टा सुन्निने समस्या हुनसक्छ । कुनैले मुटुको ढुकढुकी बढाउन सक्छ । कुनैले ढुकढुकी चाहिनेभन्दा कम गराउन सक्छ । उच्च रक्तचापककै कुनै औषधिले सुक्खा खोकी लाग्ने गर्छ । कुनै औषधि सुरु गरेपछि पहिले नहुने स्वाँ..स्वाँ.. सुरु भएको हुनसक्छ । कुनै औषधिले मिर्गौलामा असर पार्न पनि सक्छ । एक किसिमको औषधिले लोग्ने मानिसको लिङ्गको उत्तेजनामा कमी, यौन इच्छामा कमी आउने आदि समस्या गराउन सक्छ । उच्च रक्तचापको औषधि सुरु गरेपछि पहिले नभएको समस्या देखापरे जस्तो लागे आफ्नो डाक्टरसँग सम्पर्क राखिहाल्नु पर्छ । यो साइड–इफेक्ट औषधि खानासाथै सबैलाई सधैँ हुने कुरा होइन । औषधि सुरु गर्दा नभएका लक्षणहरू पछि सुरु भएमा आफ्नो चिकित्सक कहाँ तुरन्तै सम्पर्क राखिहाल्नु पर्छ । त्यसैले उच्च रक्तचापको औषधि विशेषज्ञ डाक्टरसँग परीक्षण गरेर मात्र सुरु गर्नुपर्छ । कुनै परीक्षण नगराई मेडिकलबाट सिधै किनेर खाने बानी गर्नु हुँदैन । साथै औषधि सुरु गरेपछि उच्च रक्तचाप ठिकै रहिरहे पनि तथा शारीरिक, मानसिक रुपमा ठिकै लागे पनि कम्तीमा १५ दिनमा एकचोटि उच्च रक्तचाप नाप्ने बानी बसाल्नैपर्छ र डाक्टरसँग कम्तीमा तीन महिना र बढीमा छ महिनामा एकचोटि भेट्नै पर्नेपर्छ ।      अपनाउनुपर्ने सावधानी      उच्च रक्तचाप बढाउनुमा धूम्रपान तथा रक्सीको पनि उत्तिकै योगदान रहन्छ । उच्च रक्तचाप भएका व्यक्तिहरूले कुनै पनि किसिमको नशाको सेवन गर्नु हुँदैन । यस्ता वस्तुले उच्च रक्तचापलाई नियन्त्रणमा राख्न गाह्रो हुने, एकभन्दा बढी औषधिको सेवन गर्नुपर्ने अवस्था निम्त्याउँछ । उच्च रक्तचाप नियन्त्रणका लागि चलाइने औषधि मानिसको शारीरिक बनावट, वजन, साथमा रहेको अरू समस्या, खानपान, उसले गर्ने शारीरिक व्यायाम आदिमा भर पर्छ । त्यसैले कसैलाई एउटा औषधिको सानो डोज मात्र खाए पुग्छ भने कसैलाई दुई, तीनवटा त्यो पनि दिनको दुई पटक वा बढी पनि खानुपर्ने पनि हुनसक्छ । उच्च रक्तचापको औषधि कति मात्राको खाने भन्ने कुरा मानिस मानिसमा निर्भर गर्छ ।      विशेषगरी घरमा एक्लै बस्ने, कम पढेलेखेका, नपढेका बिरामीमा तथा उच्च रक्तचापका साथै अन्य समस्याको पनि औषधि खाने बिरामीमा यो समस्या देखिन्छ । एउटाभन्दा धेरै गोली खानुपरेको अवस्थामा यस्ता बिरामी झुक्किएर एउटा खानुपर्नेमा दुई पटक खाएको, खानुपर्ने चाहिँ नखाएको, राति खानुपर्ने बिहान खाएको, खानापछि खानुपर्ने अगाडि खाएको आदि समस्या सामान्य हुन् । अझ कति त औषधि सकिएपछि ल्याइदिने मान्छे नभएको भनेर औषधि खानै बन्द गरेर पनि आउँछन् । यसको कारण रक्तचाप अनियन्त्रित भइदिन्छ र कतिपय अवस्थामा प्यारालाइसिस, हृदयाघात भएको अवस्थामा पनि बिरामी आउँछन् । यस्तो कुरामा घरमा भएका पढेलेखेका मानिसहरूको गहन जिम्मेवारी हुन्छ । त्यस्ता बिरामीहरूलाई नामभन्दा पनि औषधिको आकार, रङ तथा साइजको जानकारी बढी हुन्छ । एकभन्दा बढी औषधि खानुपरेको अवस्थामा हरेक औषधिलाई छुट्टाछुट्टै सानो सानो बट्टामा राखेर यो बट्टाको यतिखेर खाने भनेर बुझाउने गरेमा गल्ती हुने समस्या कम हुन्थ्यो कि ? मानसिक तनावको व्यवस्थापन       मानसिक समस्याको व्यवस्थापन स्वस्थ जीवनका लागि एकदमै महत्वपूर्ण मानिन्छ । अत्यधिक तनावमा काम गर्ने, ढिलो सुत्ने, पर्याप्त निद्रा नपुग्ने व्यक्तिहरूमा हृदयाघातसम्म पनि हुने गरेको छ । व्यस्त कार्यशैली हुनेहरूमा यस्ता समस्याहरु प्रशस्तै देखिन्छ । उनीहरूको कामको कुनै समय नै हुँदैन ।       सधैँ तनावपूर्ण वातावरण, आरामको कमी, शारीरिक व्यायामको कमी, अव्यवस्थित खानपान, नियमित स्वास्थ्य जाँचको कमी आदि भएपछि यसैगरी, व्यक्तिहरूमा उच्च रक्तचाप, मधुमेहको समस्या देखापर्दछ । यसले गर्दा पछि गएर ह्दयाघात, पक्षघात जस्ता भयानक समस्या भोग्नुपर्दछ । धेरैजसो व्यापारी पढेलेखेकै हुन्छन्, स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भन्ने पनि थाहा हुन्छ तर पनि परीक्षणका लागि समय छुट्याउन सक्दैनन् ।      डाक्टरसँग नियमित ‘फलोअप’ नगर्ने बानी      धेरै बिरामी औषधि सुरु गरेपछि शरीर आराम भएको महसुस भएपछि नियमित औषधि त खान्छन् तर डाक्टरसँग वर्षौंसम्म परीक्षण गराउँदैनन् न त फेरि फेरि रक्तचाप जचाएरै हेर्छन् । कारण सोध्दा औषधि सुरु गरेपछि आफूलाई आराम भएको, कुनै नयाँ समस्या नआएको, घर टाढा भएर आउने मौका नपाएको जस्ता कुराहरू गर्छन् ।      माथि भनिएजस्तै उच्च रक्तचाप आफैँले शरीरका विभिन्न अङ्गहरूमा असर पुर्याइरहेको हुन्छ । त्यसमाथि नियमित औषधि खानेहरूलाई औषधिको साइडइफेक्ट पनि हुनसक्ने सम्भावना रहन्छ । आफूलाई केही गाह्रो नभए पनि डाक्टरसँग नियमित कम्तीमा छ महिनामा एकचोटि चेकजाँच गराउने गरेमा शरीरमा कुनै किसिमको हानिनोक्सानी हुन लागेको भएमा तुरन्तै पत्ता लाग्छ र भविष्यमा हुनसक्ने क्षतिबाट जोगिन सकिन्छ । कति बिरामीहरू औषधि नखाने तर करेला, मेथी, निमको पात, घ्यूकुमारी खाने, आयुर्वेदिक उपाय गर्ने, योगा, ध्यान गरेरै प्रेसर ठीक पार्छु भनेर अड्डी कस्छन् । यसमा म के भन्छु भने जसरी हुन्छ, रक्तचाप नियन्त्रणमा आउनुपर्यो । माथि उल्लेखित सबै कुरा गर्दा कुनै नकारात्मक असर त पर्दैन । तर यी सबै पनि गर्नुस्, उच्च रक्तचाप नाप्दै पनि गर्नुस्, यस्ता कुराहरूले उच्च रक्तचाप नियन्त्रण भएन भने औषधि त खानैपर्छ । गुगल गर्ने बानी      एउटा वर्गको मानिसहरूमा जे पनि इन्टरनेटमा पढेर सम्पूर्ण जानकारी लिने प्रवृत्ति हुन्छ । यसो गर्नु एक किसिमले राम्रो पनि हो तर पूर्ण कुरा प्रस्ट नबुझिएको खण्डमा यसको नकारात्मक असर पनि पर्दछ । कुनै रोगका बारेमा पढ्दै जाँदा कतिपय प्राविधिक शब्दहरू, मेडिकल भाषा सबैले प्रस्ट बुझ्ने कुरै भएन । अनि यो भनेको यसो होला भन्दै अनुमानित अर्थ लगाउँदै बस्ने अनि त्यस विषयमा लेखिएका कुनै रोगका लक्षणहरू आफैँलाई भएको जस्तो लाग्ने, म त ज्यादै रोगी भएछु भन्ने मनस्थितिको विकास हुने, अब म मर्छु भन्ने जस्ता निराशावादी सोचको विकास हुने जस्ता समस्या पनि भएको पाइएको छ । इन्टरनेटमा लेखिएका कुराहरू प्रस्ट बुझ्ने क्षमता पनि हुनुपर्छ । कुनै कुरा नबुझे सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ । हैन भने यस्तो सामग्री नपढ्नु नै राम्रो हुन्छ ।      उच्च रक्तचापको नकारात्मक असरहरूबाट बच्न मानिस आफ्नो स्वास्थ्यको कुरामा अझ बढी सचेत हुन जरुरी छ । साधारणतया उमेर ४० वर्षको वरिपरि पुगेपछि यदि भविष्यमा स्वस्थ भएर बाँच्ने, लामो समय बाँच्ने हो भने विशेषगरी केही कुराहरू, दैनिक स्वस्थ खाना खाने, रक्सी चुरोट, सुर्ती तथा कुनै नशा सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने तथा मानसिक तनावबाट टाढा रहने आदि कुराहरू पालना गर्नैपर्ने देखिन्छ किनकि उमेरले ४० छोएपछि मानिसलाई धेरै रोगले छुन थाल्दछ । रासस (वरिष्ठ मुटुरोग विशेषज्ञ डा. श्रेष्ठ ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा कार्यरत छन्)

काजमै राज गरिरहेका भीआईपी चिकित्सक

काठमाडौं । विशेषज्ञ चिकित्सकहरू वर्षौंदेखि काठमाडौंका सुविधासम्पन्न अस्पतालमै काजमा बसिरहँदा उपत्यकाबाहिरका सरकारी अस्पतालको सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भएको पाइएको छ । विशेषगरी दरबन्दी भएका अस्पतालमा चिकित्सक नफर्किँदा प्रदेशस्तरीय अस्पतालहरू प्रभावकारी उपचार केन्द्रभन्दा रिफर अस्पताल जस्तै बन्न थालेको सम्बन्धित अस्पताल प्रमुखहरूले बताएका छन् । हाल कान्ति बाल अस्पतालमा भेरी अस्पतालका तीनजना विशेषज्ञ चिकित्सक काजमा कार्यरत छन् । यस्तै, कोशी अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखराका एक/एक जना विशेषज्ञ चिकित्सक पनि कान्तिमै कार्यरत रहेका छन् । दरबन्दी भने बाहिरका अस्पतालमा कायम छ । भेरी अस्पतालका प्रमुख डा. नवीन दर्नालका अनुसार यो समस्या कान्ति अस्पतालमा मात्र सीमित छैन । दुर्गम तथा मोफसलका अस्पतालमा दरबन्दी भएका धेरै विशेषज्ञ चिकित्सक पहुँच र प्रभावका आधारमा काठमाडौं तथा सुविधासम्पन्न सहरका अस्पतालमा काजमा बसिरहेका उनले जानकारी दिए । ‘दूरदराजका अस्पतालमा सेवा दिने भनेको पहुँच नभएका वा त्यस्तो गर्न नचाहने चिकित्सकहरूले मात्रै हो भन्ने अवस्था बन्दै गएको छ,’ डा दर्नालले भने । विशेषज्ञ चिकित्सक अभावका कारण बिरामीलाई सामान्य अवस्थामै पनि काठमाडौं रिफर गर्नुपर्ने बाध्यता छ । पश्चिमाञ्चल अस्पताल पोखराका सहायक सूचना अधिकारी दीपक जीसीले पनि दरबन्दी एक ठाउँमा राखेर काम अर्कै अस्पतालमा गर्ने प्रवृत्ति पुरानै रहेको बताए । पहुँच भएका चिकित्सकहरूले दरबन्दी पोखरामा राख्ने तर काम काठमाडौंमा गर्ने चलन वर्षौंदेखि चलिरहेको छ । मन्त्रिपरिषद्ले हालै गरेको निर्णय कडाइका साथ कार्यान्वयन भए मात्रै समस्या समाधान हुन सक्ने उनको भनाइ छ । कान्ति बाल अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा. मोनी सुवेदी पछिल्लो ६ वर्षदेखि काजमा कान्तिमै कार्यरत छिन् । उनको दरबन्दी भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ । सरकार परिवर्तनसँगै स्वास्थ्य मन्त्रालयले दरबन्दी भएको अस्पतालमा फर्किन निर्देशन दिए पनि उनी निरन्तर कान्तिमै कार्यरत रहेकी हुन् । राजनीतिक पहुँचले गर्दा उनलाई सरकारका पछिल्ला निर्देशनले समेत छुन सकेको छैन । यस्तै, कोशी अस्पतालमा दरबन्दी राखेर कान्तिमा कार्यरत अर्की विशेषज्ञ चिकित्सक डा. रेश्मा श्रेष्ठ कर्माचार्य हाल कान्तिमा प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिस्टका रूपमा कार्यरत छिन् । कान्ति अस्पतालकै प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा. रामहरि चापागाईं र कन्सल्टेन्ट पेडियाट्रिसियन डा. जगतजीवन घिमिरेको दरबन्दी भेरी अस्पतालमा रहेको छ । डा. दिनेश शिवाकोटी र डा. दिपेश भट्टराईको दरबन्दी पनि उपत्यकाबाहिरकै अस्पतालमा रहेको छ । डा. शिवाकोटीको दरवन्दी भेरी अस्पतालमा रहेको छ भने डा. भट्टराईको नारायणी अस्पतालमा दरबन्दी रहेको छ । काजमा कार्यरत डा. शिवाकोटीले सरकारले स्पष्ट र समान नीति लागू गर्न नसक्दा समस्या जटिल बनेको दाबी गरे । ‘सबैलाई समान व्यवहार र एउटै मापदण्ड लागू नहुँदा काज व्यवस्थापन विवादित बनेको हो,’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसी भने मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाइसकेको बताउँछन् । उनका अनुसार मन्त्रालयले काजमा रहेका चिकित्सकलाई दरबन्दी भएको अस्पतालमा फर्किन औपचारिक पत्राचार गरिसकेको छ । ‘मन्त्रालयले सबैलाई काज फिर्ता गरी दरबन्दी भएको अस्पतालमा हाजिर हुन निर्देशन दिइसकेको छ,’ डा केसीले भने, ‘यदि कसैले अटेरी गरेर काठमाडौंमै बसिरहनुभएको छ भने उहाँहरूले तत्काल आफ्नो अस्पतालमा गएर सेवा सुरु गर्नुपर्छ ।’ उनले अटेरी गर्ने चिकित्सकमाथि विभागीय कारबाही हुन सक्ने चेतावनी पनि दिए । ‘काज फिर्ता नगर्ने चिकित्सक मात्र होइन, दरबन्दी भएका चिकित्सकलाई नबोलाउने अस्पताल प्रमुखहरू पनि कारबाहीको दायरामा आउन सक्छन्,’ उनले भने । सरकारले हालै संघीय अस्पताल तथा स्वास्थ्य संस्थामा लामो समयदेखि चलिरहेको काज प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय गरेपछि मन्त्रालयले दरबन्दीअनुसार चिकित्सक फिर्ता गर्ने प्रक्रिया थालेको छ । तर, प्रभावशाली चिकित्सक र अस्पताल प्रशासनकै कारण निर्णय कार्यान्वयनमा चुनौती देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन् । विशेषज्ञ चिकित्सकको अभावका कारण उपत्यका बाहिरका सरकारी अस्पतालमा सेवा विस्तार प्रभावित हुँदै गएको छ भने बिरामीको चाप काठमाडौं केन्द्रित बन्दै गएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार दरबन्दी व्यवस्थापन प्रभावकारी बनाउन नसके संघीय स्वास्थ्य प्रणालीको उद्देश्य नै कमजोर बन्ने खतरा रहेको छ।   सम्बन्धित सामग्री कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण