हृदय रोग सम्बन्धी रोकथाममा सिंगापुरको नयाँ प्रविधि

काठमाडौं । सिङ्गापुरले सन् २०२७ को सुरुमा हृदय रोग सम्बन्धीको उच्च जोखिममा रहेका व्यक्तिहरू पहिचान गर्न नयाँ उपकरण लागू गर्ने योजना बनाएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार यो योजना सार्वजनिक गर्दै यो कदम रोकथाममुखी स्वास्थ्य सेवामा महत्वपूर्ण परिवर्तन ल्याउने भनेको छ । स्वास्थ्य प्रविधि एजेन्सीले विकास गरेको सहायक दीर्घकालीन रोग उपकरणले व्यक्तिको उमेर, स्वास्थ्य इतिहास, जीवनशैली, खानपान र अन्य व्यक्तिगत तथ्याङ्कको विश्लेषण गरी मधुमेह र उच्च रक्तकोष्ठ लाग्ने सम्भावना निर्धारण गर्छ । यसले हरेक व्यक्तिको जोखिम स्तर पहिचान गरेर स्वास्थ्य केन्द्रहरूमा लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउँछ । यो उपकरण लागू भएपछि, उच्च जोखिममा रहेका व्यक्तिहरूलाई हरेक वर्ष हृदय–सम्बन्धी रोगको जाँच गरिनेछ, जुन पहिले हरेक तीन वर्षमा गरिन्थ्यो । यसरी जाँचको आवृत्ति बढाएपछि प्रारम्भिक चरणमै रोगको पहिचान गर्न र समयमै रोकथामका कदम चाल्न सजिलो हुनेछ । जाँचका लागि आवश्यक पर्ने खर्च सरकारले व्यहोर्नेछ, जसले सबै नागरिकले सहज रूपमा यो सेवा पाउने सुनिश्चित गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार, उपकरणले उच्च जोखिममा रहेका व्यक्तिहरूलाई चिन्हित गरेमा ती व्यक्तिहरूमा आगामी तीन वर्षभित्र मधुमेह, उच्च रक्तकोष्ठ, वा दुवै रोग लाग्ने सम्भावना ७५ प्रतिशतभन्दा बढी हुन्छ । यसको अर्थ, समयमै जाँच र उपचार सुरु गर्न सके स्वास्थ्य जोखिम कम गर्न सकिन्छ ।  मन्त्रालयले यो पहललाई प्रविधिमा आधारित रोकथाममुखी स्वास्थ्य सेवातर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ । यसले व्यक्तिगत जोखिमअनुसार लक्षित सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ र दीर्घकालीन रूपमा स्वास्थ्य सुधारमा योगदान पु¥याउने विश्वास गरिएको छ । रासस

५० यात्रु बोकेको श्री एयरको जहाजको टायर कसरी पड्कियो ?

काठमाडौं । बुधबार श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९ एन-एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए । अहिले जहाज ग्राउन्डेड गरिएको छ । सुर्खेत–काठमाडौं उडान रद्द भएको छ ।  टायर किन र कसरी पड्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । 

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिका बमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित हुँदै आएको ।