हिमालयन बैंक अब फोनेपेमा, लाखौं ग्राहकलाई क्यूआर भुक्तानी सुविधा
काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले हिमालयन बैंक लिमिटेडलाई औपचारिक रूपमा नेटवर्कमा आबद्ध गरिएको घोषणा गरेको छ । यो साझेदारीलाई नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक अग्रणी संस्थासँग जोडेको छ । सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपालको प्रतिष्ठित निजी क्षेत्रीय बैंकका रूपमा परिचित छ । विश्वास, नवप्रवर्तन र वित्तीय नेतृत्वको पर्याय बनेको हिमालयन बैंक आधुनिक बैंकिङ सेवा नेपालमा भित्र्याउने अग्रणी संस्थामध्ये एक मानिन्छ । देशभर फैलिएको शाखा सञ्जाल र तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको बलियो ग्राहक आधारका कारण हिमालयन बैंकको फोनेपे नेटवर्कमा एकीकरणले डिजिटल भुक्तानीको प्रयोगलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ । यसबाट देशभरका लाखौं हिमालयन बैंकका ग्राहकहरूले सहज रूपमा क्यूआर-आधारित कारोबारको सुविधा प्राप्त गर्नेछन् । फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले हिमालयन बैंकलाई नेटवर्कमा स्वागत गर्दै नेपालको डिजिटल भुक्तानी यात्रामा यो परिभाषित क्षण भएको बताए । उनले हिमालयन बैंकले नेपाली ग्राहकहरूसँग निर्माण गरेको गहिरो विश्वास र फोनेपेका २० लाखभन्दा बढी व्यापारी टचपोइन्टहरूको पहुँचले नगदरहित नेपालको लक्ष्यतर्फ अझ तीव्र गतिमा अघि बढ्न मद्दत गर्ने उल्लेख गरे । उनले देशको अग्रणी निजी बैंकका रूपमा हिमालयन बैंकले अनुपम विश्वसनीयता र पहुँच ल्याएको भन्दै अब डिजिटल भुक्तानीलाई देशको हरेक कुनामा र हरेक नेपालीसम्म पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे । हिमालयन बैंकले पनि फोनेपे नेटवर्कमा आबद्ध हुनु आफ्नो दीर्घकालीन वित्तीय नेतृत्वको स्वाभाविक विस्तार भएको जनाएको छ । बैंकका अनुसार अब ग्राहकहरूले अन्तरसञ्चालनयोग्य डिजिटल भुक्तानीका सम्पूर्ण फाइदा छिटो, सुरक्षित र सहज रूपमा अनुभव गर्न सक्नेछन् ।
मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ उद्घाटन भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ (मल्टिडिस्प्लिनियरी इन्टरनेश्नल कन्फेरेन्स)को उद्घाटन आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले विश्वविद्यालयले शैक्षिक कार्यक्रमसँगै आफूलाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न नवीनतम विषयहरूमा ज्ञान र अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरेकोमा प्रशंसा व्यक्त गरे । उनले कृत्रिम बुद्धिमता, डिजिटल रुपान्तरण र दिगोपनको भूमिका सम्बन्धी विषयमा अन्तरविषयगत सहकार्य र विश्वव्यापी ज्ञानलाई आदानप्रदान गर्दै समावेशी, दिगो तथा नवप्रवर्द्धनशील समाज निर्माण महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकाना व्यक्त गरे । मुख्यमन्त्री कँडेलले भने, 'आजको युग ज्ञानको युग हो । सूचना र प्रविधि र नवप्रवर्तनको तीव्र विकाससँगै समाज शिक्षा प्रणालीमा व्यावसायिक सोचमा आमूल परिवर्तन भइरहेको छ । यसलाई स्वीकार गर्दै अब हाम्रा विश्वविद्यालयहरूले प्रविधि, नीतिगत, प्राज्ञिक र व्यावसायिक रूपमा आफूलाई अब्बल सावित गर्नुपर्ने अवस्था सृजना हुँदै गएको छ ।' कृत्रिम बुद्धिमता आजको विश्वको सबैभन्दा प्रभावशाली प्रविधि बन्न पुगेको उल्लेख गर्दै उनले स्वास्थ्य शिक्षा, कृषि उद्योग सञ्चारलगायतका क्षेत्रमा यसको प्रयोगले अभूतपूर्व परिवर्तनमात्र नभई यसले गोपनीयता, रोजगारको भविष्य, नैतिकता डिजिटल विभाजनजस्ता चुनौतीहरू पनि गम्भीर रूपमा उठान गरेकाले यस्ता जटिल समस्या समाधान गर्न एउटै विषयगत दृष्टिकोणमात्र पर्याप्त नहुने जिकिर गरे । उनले भने, 'आज हामी यस्तो ऐतिहासिक मोडमा उभिएका छौँ जहाँ विज्ञान प्रविधि र मानवीय मूल्यबीचको सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गरिँदैछ । कृत्रिम बुद्धिमत्तता र विश्वव्यापी रुपान्तरणले हाम्रो जीवनशैली, अर्थतन्त्र, शासन प्रणाली र सामाजिक संरचनामा गहिरो प्रभाव पारेको छ ।' यस्तो अवस्थामा दिगो भविष्य निर्माणका लागि अन्तरविषयगत सहकार्य र बहस अपरिहार्य बनेको उनले बताए । ‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्यूचर इन द एज अफ एआई एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तरराष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयासअनुरुप सम्मेलनको आयोजना गरिएको मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं सम्मेलन व्यवस्थापन समितिका सदस्यसचिव विष्णुकुमार खड्काले जानकारी दिए । कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दीगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्यालाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तरराष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरू गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन हुने उनले बताए । उनले भने, 'सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसङ्ख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायतका विषयअन्तर्गत ३४४ भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गरिनेछ । कार्यकारी निर्देशक डा. खड्काका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, ५०० भन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति, विश्वस्तरीय वक्ता, उपकुलपतिहरूको राउन्ड टेबल, डायोस्परासम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् । रासस
मेटलाइफको जुम्लामा सेवा विस्तार, स्मार्ट बोर्ड हस्तान्तरणसहित बीमा पहुँच बढाउने
काठमाडौं । मेटलाइफ नेपालले जुम्लामा सेवा औपचारिक रूपमा सुरु गरेको छ । यससँगै नेपालको दुर्गम तथा सेवा अभाव भएका क्षेत्रमध्ये एक मानिने जुम्लामा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार भएको छ । कम्पनीका अनुसार यो विस्तार देशभर, विशेषगरी दुर्गम समुदायसम्म बीमा सेवा सहज रूपमा पुर्याउने प्रतिबद्धताको एक हिस्सा हो । जुम्लाका बासिन्दाले भोग्दै आएका सीमित पूर्वाधार, वित्तीय सेवासम्मको दूरी तथा सेवा अभावलाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यस पहलमार्फत स्थानीय परिवारलाई व्यवहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ । जुम्ला समुदायलाई थप सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यस सहयोगले विद्यार्थीहरूलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकहरूलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ। साथै, मेटलाइफ नेपालले स्थानीय युवालाई लक्षित गरी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ । जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने प्रतिबद्धता दोहोर्याए । उनले भने, 'जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । बीमा सेवाको पहुँच विस्तारसँगै, हामी शिक्षामा सहयोग र युवामाझ बीमा सचेतना अभिवृद्धिमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रतिबद्ध छौं, जसले उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पुयाउँछ ।'