विमानस्थलमा यात्रु आकर्षित गर्ने जिम्मा निजी क्षेत्रको पनि हो : इन्दु घिमिरे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पर्यटन महाशाखाको सहसचिव इन्दु घिमिरेले पर्यटन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु आकर्षित गर्ने प्याकेज निर्माण र त्यसको सेल गर्ने जिम्मा निजी क्षेत्रको पनि हुने बताएकी छन् ।  होटल संघ नेपालले आयोजना गरेको वेलनेस पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् । सो कार्यक्रममा घिमिरेले  वेलनेस पर्यटनसम्बन्धी सरकारी रणनीतिबारे जानकारी दिँदै उनले सरकारले पूर्वाधार विकास र नीतिगत वातावरण निर्माण गर्ने तर पर्यटन प्रवर्द्धन तथा बजार विस्तारमा निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक हुने स्पष्ट पारिन् । उनका अनुसार भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र त्यहाँबाट अन्तर्राष्ट्रिय यात्रु प्रवाह बढाउन आकर्षक पर्यटन प्याकेजहरू आवश्यक छन् ।  ‘यात्रु ल्याउने प्याकेज बनाउने र यसलाई ‘सेल’ गर्ने काममा निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भनिन् । यस वर्षको सरकारी नीति तथा कार्यक्रममा पर्यटन नीति र आरोग्य पर्यटनले विशेष महत्त्व पाएको छ ।  मन्त्रालयले आरोग्य पर्यटन रणनीति (२०२६–२०३६) तयार पारिएको छ । जसमा १० वर्षको रणनीति र ५ वर्षको कार्ययोजना रहेको छ । यो रणनीति हाल मन्त्रिपरिषदमा रहेको घिमिरेले बताइन् । रणनीतिमा आठ वटा रणनीतिक पिलरहरू राखिएका छन्, जसमा सर्टिफिकेसन (प्रमाणीकरण) र जनशक्ति विकासका कुराहरू समेटिएका छन् । धार्मिक र मेडिकल टुरिजमलाई भने अहिले स्पष्ट अवधारणा र पूर्वाधारको कमीले गर्दा केही समयका लागि बाहिर राखिएको उनको भनाइ छ ।  उनका अनुसार एसियाली विकास बैंक (एडीबी) ले डेस्टिनेसन डेभलपमेन्ट फ्रेमवर्क र कन्सेप्ट पेपरमा सहयोग गरिरहेको छ ।

निजी विद्यालयले प्रदान गर्दै आएको निशुल्क छात्रावृति विवरण अब सार्वजनिक गर्नुपर्ने

काठमाडौं । निजी विद्यालयले प्रदान गर्दै आएको निशुल्क छात्रावृति विवरण अब सार्वजनिक गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयलाई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली विद्यार्थीको सबै विवरण खुल्ने गरी र अभिभावकले देख्ने सुनिश्चित हुने गरी सार्वजनिक गर्न भनेको छ । मन्त्रालयले यो विषयमा सहजिकरण गरिदिनेगरी समन्वय गरिदिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।  जहाँ भनिएको छ,‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २७ को उपदफा ३ मा उल्लेख भए अनुसार निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालनमा रहेका विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिमका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नु पर्ने भन्ने व्यवस्था भएको र शिक्षा नियमावली, २०५९ को नियम १५१ को उपनियम २ मा संस्थागत विद्यालयले कुल विद्यार्थी संख्याको कम्तिमा दश प्रतिशतमा नघटाई गरीब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउनु पर्नेछ भन्ने व्यवस्था अनुसार सम्पुर्ण विद्यालयहरुले तोकिए बमोजिम छात्रवृत्ति प्रदान गर्न निर्धारण गरिएको छनौट विधिबाट छनौट भई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली आइइएमआइएसमा तत्काल अध्यावधिक गर्ने, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पुर्ण अभिभावकले देख्ने सुनिश्चित हुने गरी  तत्काल अद्यावधिक गर्न लगाउने साथै विद्यालयहरुले प्रदान गरेको छात्रवृत्ति सम्बन्धित विद्यार्थीले प्राप्त गरेको/नगरेको सम्बन्धमा अनुगमन गरी छात्रवृत्ति प्रदान नगर्ने विद्यालयहरुलाई कानुन बमोजिम आवश्यक कारवाही गर्न सम्पुर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गरिदिनुहुन निर्देशानुसार अनुरोध छ ।’ 

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर खरिदमा छुट

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा मर्केन्टाइल अफिस सिस्टमका तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री तथा प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सबिन शमशेर ज.ब.रा. राणाले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीले एसर ल्यापटप र एप्सन प्रिन्टर खरिद गर्दा अधिकतम १८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् भने बैंकका ग्राहकले ८ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, क्रेडिट कार्ड प्रयोगकर्ताले ‘इन्स्टापे’मार्फत किस्ताबन्दी सुविधासमेत लिन सक्नेछन् । उक्त छुट सुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरका आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालिबाट प्राप्त गर्न सकिने जनाइएको छ । प्रभु बैंकले हाल देशभर फैलिएका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित गुणस्तरीय सेवा प्रवाह गर्दै आएको जनाएको छ ।