एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्राक्टिक–म्यानुअल थेरापीमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अब काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा छुट प्राप्त गर्ने भएका छन् । स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यसहित बैंक र थेरापी सेन्टरबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरूले बालुवाटार, त्रिपुरेश्वर तथा बुटवलस्थित थेरापी सेन्टरका शाखामा सेवा लिई डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा उपयोग गर्नका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकलाई स्वास्थ्य उपचारमा सहजता मिल्नुका साथै मुलुकभर डिजिटल भुक्तानी सेवाको प्रयोग बढाउन र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

स्वास्थ्यका लागि चिया र कफी कत्तिको उपयोगी ?

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका छन् । विश्वका धेरै देशहरुमा चिया, कफीको सेवन निकै हुने गरेको छ । अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्दछ । नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुने गर्दछ । पछिल्लो समय कफीको प्रयोग गर्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ । नेपालमा चिया र कफी खेती पनि हुने भएकाले यसको प्रयोगलाई सामान्य रुपमा लिने गरिन्छ । यहाँ चिया र कफीको प्रयोग स्वास्थ्यका दृष्टिले कत्तिको लाभदायक छ भन्ने कुरा उल्लेख गरिएको छ ।      संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो । हामीले धेरैथरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध र मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुर्वेदिक जडीबुटी मिसिएको हर्बल चिया आदि । धेरैले चियामा चिनी हालेर पिउँछन्, कसैकसैले चिनी नहालेको चिया मन पराउँछन् । दूध–चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया स्वादिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ । स्वास्थ्यका जानकारहरूले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्याउँछ भनी खबरदारी गर्छन् । यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मानिसले चियामा दूध–चिनी केही पनि नमिसाइ कालो चिया पिउने गर्छन् । कतिपयले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन् ।  कस्तो चिया फाइदाजनक ?      स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्नेबारे धेरैलाई जान्ने उत्सुकता हुन्छ । हामीले दिनदिनै दुई–चार कप चिया पिएकै हुन्छौँ । हरियो र कालो दुवै चिया एउटै जातको ‘क्यामेलिया’ नामक वनस्पतिबाट उत्पादन हुने गर्छ । चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ, त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ । हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो । चियाको पातलाई जति धेरै प्रशोधन गरिन्छ त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरू नष्ट हुँदै जान्छन् । यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वस्थ्यवर्द्धक मान्नुपर्छ ।      हरियो चियामा स्वस्थ्यवर्द्धक तत्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरूको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिदैन । चियामा भएको गुणकारी तत्वहरू पोलिफिनोल आदिले मुटु, हड्डी, पेट आदिलाई फाइदा गर्छ । यसले क्यान्सरको रोकथाममा पनि मद्दत पुर्याउँछ । मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ ।      चियालाई धेरै बेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्वहरू निष्क्रिय भइदिन्छन् । यस कारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो । हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुपर्यो ? फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौँ । यी चिजहरू खाए भइहाल्यो नि ! चियाको स्वाद बिगारी–बिगारी टर्रो चिया नै किन पिउनुपर्यो !      कोक, फन्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरू पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध–चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ । यस्तो चिया दैनिक एक–दुई कप पिउँदा केही पनि हानि छैन । तर जसले दैनिक दुई कपभन्दा बढी चिया पिउँछ, उसले विचार पुर्याउनुपर्छ कस्तो चिया पिउने ? कति कप पिउने ? कुनबेला पिउने ? चिनी–दूध हाल्ने कि नहाल्ने ? भन्ने कुरा आफ्नो स्वास्थ्यअनुसार विचार गर्न सकिन्छ ।      यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइडको मात्रा धेरै बढेको (४०० भन्दा बढी नै) छ, शरीर मोटो छ भने चियामा चिनी नहाली पिउनुहोस् । तपाईंले हरियो चिया पिएको राम्रो ।      पेटको समस्या छ, पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्ने समस्या छ, डकार धेरै आउँछ, अमिल्युकी आउँछ भने चियामा दूध नहालेको राम्रो । यस्तो समस्या भएकाहरूले दूधबिनाको कालो या हरियो चिया पिउँदा राम्रो हुन्छ । तर तपाईं चियाको असाध्यै पारखी हुनुहुन्छ, सेतो दूध हालेको चिया मन पराउनुहुन्छ भने खाली पेटमा नपिउनुहोस् । पहिले अलिकति पानी पिउनुहोस् अनि दूध हालेको चिया पिउनुहोस्, दैनिक एक कपभन्दा बढी सेतो चिया नपिउनुहोस् । चियामा अदुवा मिसाएर पकायो भने स्वाद पनि बढ्छ, पेटलाई फाइदा पनि हुन्छ ।      तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक चार कपसम्म पिउनुहोस् । यसभन्दा धेरै पिउँदा हानि पुग्न सक्छ, विचार पुर्याउनुहोस् । तपाईं स्वस्थ हुनुहुन्छ भने दैनिक दुई कपसम्म दूध–चिनी हालेर भकभकी पकाएको नेपाली चिया आनन्दपूर्वक पिउन सक्नुहुन्छ । चियामा रहेको पौष्टिक तत्व नष्ट भयो भनी चिन्ता नगर्नुहोस्, चियाको स्वादमा रमाउनुहोस् । तर दैनिक दुई कपभन्दा बढी यस्तो चिया नपिउनुहोस् । धेरै भयो भने यसमा भएको क्याफिनले नशा लाग्छ, उत्तेजित बनाउँछ, अनिद्रा गराउँछ, रक्तचाप बढाउँछ, मुटुको धड्कन बढाउँछ ।      यस कारण सावधानीका साथ चियाको मज्जा लिनुहोस् । चिया सेतो कि कालो पिउने भन्ने विषयमा धेरै नसोच्नुहोस् । तपाईलाई जुन चियाको बढी स्वाद लाग्छ त्यही चिया पिउनुहोस् तर सावधान ! धेरै नपिउनुहोस् ।  कफीको नशा      चिया जस्तै कफीको स्वादमा रमाउने मानिस पनि विश्वमा धेरै छन् । धेरैलाई कफीको नशाबारे थाहा छैन । कफी र रक्सी दुवैमा नशा लाग्ने तत्व हुन्छ । कडा कफी पिउने बानी भएकाहरूलाई कफी र रक्सीमध्ये एउटा छोड्नुपर्दा उनीहरू रक्सी छोड्छन् । रक्सी छोड्नसक्ने तर कफी छोड्न नसक्ने भनेको रक्सीमाभन्दा पनि कडा नशा कफीमा छ भनी बुझ्नुपर्छ । चुरोटमा हुने निकोटिन र रक्सीमा हुने अल्कोहलले स्वास्थ्यमा गम्भीर असर पार्छ । रक्सी र चुरोटको लत बसेकाहरूले यो छोड्दा हात काम्ने, टाउको दुख्ने, छटपटी लाग्नेजस्ता समस्या देखा पर्छन् । यसलाई ‘विड्रअल इफेक्ट’ भनिन्छ । कफीको लत बसेकाहरूले कफी पिउन नपाउँदा यस्तै अवस्था उत्पन्न हुन्छ ।      संसारमा धेरै पिइने पदार्थहरूमध्ये एक हो कफी । विकसित राष्ट्रहरूमा आधा जनसङ्ख्याले कफी सेवन गर्ने गरेका छन् । त्यहाँ प्रत्येक दिन एक जनाले सरदर तीन कप कफी पिउने गर्छन् । कफीको उत्पादन भने सबैभन्दा बढी विकासोन्मुख राष्ट्रहरूमा हुने गरेको छ । कफीको खेती संसारका ७० भन्दाबढी देशमा गरिन्छ । सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश ब्राजिल हो । यो देशले संसारको कूल ३५ प्रतिशत कफी उत्पादन गर्दछ । नेपालमा पनि कफीको उत्पादन हुन्छ । नेपालमा पाल्पा र गुल्मीका कफीहरू प्रख्यात छन् । कति पिउने कफी ?      रक्सीमा इथानोल र चुरोटमा निकोटिन भएजस्तै कफीमा क्याफिन हुन्छ । यसमा एक प्रकारको लत वा नशा बस्छ । मान्छेले एकपटक पिएपछि फेरि पनि पिउँपिउँ जस्तो लाग्ने कारण यही हो । दुई चिया चम्चा धुलो कफी मिसाएको एक कप कफीमा सय मिलिग्राम क्याफिन हुन्छ । स्वास्थ्यका दृष्टिले दैनिक दुई सयदेखि चार सय मिलिग्रामसम्म क्याफिन पिउन सुरक्षित मानिन्छ । अर्थात् एक जनाले दुईदेखि चार कपसम्म दैनिक कफी पिउन सक्छन् । तर कफी पिउन हुने/नहुने भन्ने कुरा व्यक्तिको स्वास्थ्य स्थितिमा भर पर्छ ।      क्याफिन तत्व कफीमा मात्रै नभएर चकलेट, चिया, कोल्ड ड्रिङ्क्स र इनर्जी ड्रिङ्क्समा पनि पाइन्छ । इनर्जी ड्रिङ्क्स पिउँपिउँ लाग्ने कारण पनि क्याफिनको नशा लागेर हो । कफीले स्वास्थ्यमा असर पार्छ भन्ने कुरा विज्ञानले पनि पुष्टि गरेको छ । यसले दिमाग र मुटुमा असर पार्ने, मुटुलाई उत्तेजित बनाउने एवं पाचन प्रणालीमा पनि असर गर्छ । थोरै प्रयोगले खासै असर नगरे पनि, धेरै हुनेबित्तिकै पाचन प्रणालीमा असर पार्छ । दैनिक चार कपभन्दा बढी कफीलाई धेरै मान्नुपर्छ । कफी धेरै पिउँदा छटपटी हुने, चक्कर लाग्ने, हात काँप्ने, निद्रा नलाग्ने, मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, अपच हुनेजस्ता समस्या देखिन सक्छन् । धेरै भयो भने मृत्युसमेत हुन सक्छ । दिनमा ५० कपदेखि एक सय कपसम्म कफी पियो भने मृत्युसमेत हुन सक्छ । १० हजार मिलिग्राम क्याफिन शरीरमा पर्यो भने तत्काल मृत्यु हुनसक्छ ।      कुनै व्यक्तिलाई कफी शरीरमा पर्नेबित्तिकै आनन्द महसुस हुन्छ भने कतिपयलाई छटपटी हुन्छ । कसैकसैलाई अलिकति कफी पिउनेबित्तिकै असर पर्छ, यसलाई कफीमा ‘सेन्सेटिभ’ भएको भनिन्छ । कफीमा सेन्सेटिभ भएकाहरूलाई थोरै कफीले पनि छटपटी गराउने, जीउ तातेर आउने, मुटु हल्लिने, निद्रा नपर्ने, अपच हुने, रक्तचाप बढ्ने, छिटोछिटो पिसाब लाग्नेजस्ता स्वास्थ्य समस्या उत्पन्न गराउँछ । मुटुको धड्कन खराब भएकाहरूले दैनिक एक कपसम्म कफी पिउनु सुरक्षित मानिन्छ ।   विज्ञानले भन्छ–एक कप कफी गर्भवतीहरूका लागि समेत सुरक्षित छ तर यसभन्दा बढी भएमा गर्भपात हुने वा कम तौल भएको बच्चा जन्मिने खतरा बढ्छ । १८ वर्ष उमेरमुनिका र गर्भवती महिलाले कफी नपिउँदा बेस हुन्छ । आफ्नो स्वादअनुसारको कफी पिउने गर्नुहोस् । कालो, दूध–चिनी नहालेको ‘ब्ल्याक’ अथवा ‘मिल्क विथ सुगर’, ‘कफी लाटे’, ‘अमेरिकानो’, ‘एक्सप्रेसो’, ‘क्यापुचिनो’ आदि जुन स्वादिलो लाग्छ, छानीछानी पिउने गर्नुहोस् । यसबाट स्वाद, सन्तुष्टि र सुस्वास्थ्य प्राप्त हुन्छ ।      कफीले स्वास्थ्यमा पार्ने असरबारे धेरै अनुसन्धानहरू भएका छन् । कफी सेवन नगर्नेहरूको तुलनामा कफी सेवन गर्नेहरू धेरै वर्ष बाँच्ने गरेको कुरा वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् । दैनिक दुईदेखि चार कपसम्म कफी पिउनेहरूमा अरूको तुलनामा १६ प्रतिशतले मृत्युदर कम भएको पाइएको छ भने २१ प्रतिशतले हृदयघातबाट हुने मृत्यु घटेको पुष्टि भएको छ । हृदयघात भइसकेकाहरूका लागि पनि कफीको सेवन लाभदायी देखिन्छ । दैनिक दुईदेखि चार कपसम्म कफी पिउँदा यसले स्वास्थ्यमा राम्रो असर पार्छ ।      विज्ञानले के पनि भन्छ भने कफीले मधुमेह र मुटुरोगबाट बचाउन मद्दत गर्छ । दिमागसम्बन्धी रोग– ल्जाइमर्स, डिमेन्सिया र डिप्रेसन हुनबाट रोक्छ । पार्किन्सन्स रोग, लिभर सिरोसिस र क्यान्सर हुनबाट पनि धेरै हदसम्म रोक्छ । हिजोआज धेरै मानिसलाई कलेजोमा बोसो जम्ने रोग छ । यसलाई नन अल्कोहोलिक फ्याट्टी लिभर पनि भनिन्छ । यसलाई पनि कफीले घटाउँछ भन्ने वैज्ञानिक मान्यता छ । तर गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकाले कफी नपिउँदा राम्रो हुन्छ । किनकी उनीहरूलाई कफीमा हुने क्याफिनले नकारात्मक असर पुर्‍याउँछ । त्यसैले भरसक आफ्नो शरीरको स्थितिलाई विचार गरेर कफी पिउँदा राम्रो हुन्छ । दूध र चिनी नहालेको ब्ल्याक कफी पिउँदा स्वाद, सन्तुष्टि र सुस्वास्थ्यसमेत पाउन सकिन्छ । रासस (लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्)  

घट्दो जनसंख्याको मारमा विद्यालय, विद्यार्थी घट्दा सकस

काठमाडौं । हरेक बालबालिकाको शिक्षाको जग प्रारम्भिक बाल विकास केन्द्र (इसीडी) हो ।  बच्चा चार वर्ष पुगिसकेपछि बालविकासमा पठाउन सकिने प्रावधान छ । तर, पछिल्लो समय संस्थागत विद्यालयले सञ्चालन गरेका मन्टेश्वरीमा दुई/तीन वर्षका बालबालिकाहरूलाई पनि पठाउने गरेको पाइएको छ । कतिपय संघ संस्थाले कामकाजी अभिभावकको सुविधाका लागि डे केयर भनेरै बालबालिकाहरू राख्ने गरेको पाइन्छ । बालबालिकाले घरपछि धेरै समय बिताउने ठाउँ हो इसीडी । तर, आजभोलि तिनै बालविकास केन्द्रमा बालबालिकाको संख्या घटेको छ ।  सामुदायिक केन्द्रमात्र नभई निजी तथा संस्थागत बालविकास केन्द्रमा पनि विद्यार्थीको संख्या घट्दै गएको पाइएको छ । काठमाडौंको नक्सालमा रहेको नन्दी माविमा बाल शिक्षामा यो वर्ष ३१ जना बालबालिका भर्ना भए । तर, अहिले नियमित आउने बालबालिकाको सख्या २० जना जति छ । भर्ना भएका बालबालिका पनि बाल शिक्षामा नआउने गरेको विद्यालयले जनाएको छ ।  विद्यालयका अनुसार गत वर्ष ३५ जना बालबालिका बाल शिक्षामा भर्ना भएका थिए । विद्यालयका प्रधानाध्यापक  गीता काफ्ले बालशिक्षामा भर्ना हुने विद्यार्थीको सख्या घट्दै गइरहेको बताउँछिन् ।  उनी भन्छिन्, ‘सामुदायिकमात्र हो कि निजीमा पनि हो थाहा छैन । हाम्रोमा त विद्यार्थीको संख्या विगतका वर्षभन्दा घट्दै गएको छ ।’ उनी देशभरका बालबालिका काठमाडौं हुँदा धेरै सख्यामा घटेको नदेखिए पनि बाहिरका विद्यालयमा बालबालिकाको संख्या घटेको कुरा आइरहेको बताउँछिन् । काठमाडौंको डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रममा पनि ईसीडीमा पढ्ने विद्यार्थीको संख्या गत वर्षभन्दा घटेको छ । गत वर्ष ३० जना बालबालिका भर्ना भएको इसीडीमा यो वर्ष २६ जना भर्ना भएका छन् । विद्यालयका प्रधानाध्यापक रिता तिवारी बालबालिका गत वर्षको तुलनामा घटेको बताइन् । सामुदायिक विद्यालयमा मात्र होइन, संस्थागत विद्यालयमा पनि बालबालिकाको संख्या घटेको छ । अछामको साँफेबगर नगरपालिकामा रहेको नन्दामाई बोर्डिङ स्कुलमा पनि मन्टेश्वरीमा पढ्ने विद्यार्थीको सख्या घटेको छ । विगतका वर्षमा मन्टेश्वरीमै ५०–६० भर्ना हुने गरेको बोर्डिङ स्कुलमा यो वर्ष २५,३० जना विद्यार्थी पनि भर्ना भएका छैनन् ।  बढ्दो सहरी बसाइँसराइले ग्रामीण क्षेत्रमा रहेका बोर्डिङमा विद्यार्थीसमेत नपाउने अवस्था छ । बोर्डिङका शिक्षक अमित थापा विद्यार्थीको अभावमा बोर्डिङ नै बन्द गर्नुपर्ने अवस्था आइसकेको बताउँछन् ।  विगतका वर्षमा बोर्डिङ राम्रो चल्थ्यो, विद्यार्थी खचाखच भरिन्थे । तर, अहिले गाउँमा बालबालिका कोही नहुँदा विद्यार्थी पाउन गाह्रो भएको छ । हुने खोनमात्र नभई हुँदा खानेहरू पनि छोराछोरी पढाउनुपर्छ भन्दै सहर केन्द्रित हुँदा विद्यार्थीको संख्या घटेको बताउँछन् थापा । उनी बोर्डिङमा मात्र नभई सामुदायिक विद्यालयमा पनि अवस्था उस्तै रहेको बताउँछन् । ८० हजार बालबालिका घटे ईसीडीमा अध्ययन गर्ने बालबालिकाको संख्या गत वर्षभन्दा ८० हजारले कम भएको छ । शिक्षा मन्त्रालय अन्तगर्तको मानव स्रोत विकास केन्द्रका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा गत वर्षको तुलनामा ८० हजारले विद्यार्थी घटेको छन् । गत वर्ष १३ लाख १ हजार ४ सय २८ बालबालिका इसीडीमा भर्ना भएकोमा यो वर्ष १२ लाख २० हजार ५ सय ३८ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्षको तुलनामा सामुदायिक विद्यालयमा ३८ हजारले विद्यार्थी कम भएका छन् भने संस्थागततर्फ करिब ४२ हजारले विद्यार्थीको संख्या घटेको छ । पालिकाले सञ्चालन गरेका र निजी तथा संथागत गरी नेपालमा करिब ४२ हजार बढी बाालविकास केन्द्र रहेका छन् । जसमा ३५ हजार हाराहारीमा बाल सहजकर्ताहरू छन् ।  शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक हरिप्रसाद निरौला अहिलेसम्मको तथ्यांकअनुसार विद्यार्थीको सख्या घटेको देखिए पनि अझै थपघट हुनसक्ने बताउँछन् ।  ‘लाखौको संख्यामा विद्यार्थीहुँदा तथ्यांक राख्न पनि समस्या हुने रहेछ,’ उनी भन्छन्, ‘एक जना विद्यार्थी थपियो भने फेरि डाटा थप्नुपर्छ । कतिपय बालविकास केन्द्रले तथ्यांक पनि नपठाइ यकिन तथ्यांक उपलब्ध गर्न समस्या हुँदो रहेछ ।’ उनी विद्यार्थीको संख्याको आधारमा बालविकास केन्द्रले अनुदान पाउने भएकाले विद्यार्थीको एकिन तथ््यांक पठाउनु पर्ने बताउँछन् । किन घटे विद्यार्थी ? विज्ञहरू बाल विकास केन्द्रमा विद्यार्थीको संख्या घट्नुको कारण दुइटा रहेको बताउँछन् । पहिलो बच्चा जन्माउने जन्मदर नै कम अनि दोस्रो गाउँदेखि सहरमा विद्यालयको संख्या निकै बढ्नु ।  महानिर्देशक निरौला नेपाली दम्पत्तिहरूले छोराछोरी जन्माउने चाहना नराख्नु र चाहना राख्नेले पनि बढीमा दुई जनामात्र जन्माउँदा बालबालिकाको संख्या घट्दै गएको बताउँछन् । बालबालिका कम जन्मदा विद्यालय पढ्न आउने बालबालिकाको सख्या पनि कम हुनु स्वाभाविक रहेको उनी बताउँछन् । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल देशमै जनसंख्या घटिरहेको बेला त्यसको प्रभाव विद्यालयमा परेको बताउँछन् । उनको पालिकामा करिब ५० प्रतिशतले जन्मदर घटेको बताउँदै उनले यो वर्ष भन्दा अबको दुई तीन वर्षमा विद्यालयमा पढ्ने बालबालिकाको संख्या डरलाग्दो तरिकाले घट्ने दावी गर्छन् । उनी यसका लागि पछि सोच्नुभन्दा बेलैमा सोच्न आवश्यक रहेको बताउँछन् ।  विज्ञहरू देशमै जन्मदर घटिरहेकोबेला यसको प्रभाव विद्यालयमा देखा पर्न थालेको बताउँछन् ।   सामुदायिक भन्दा निजीमा बढी बच्चाको जन्मदर घटेर विद्यार्थी घटेको समस्या एकातिर छ भने अर्कोतिर सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको ईसीडी निजीको तुलनामा अझ घट्दो छ । सरकारले ईसीडीका लागि भनेर बर्सेनि अर्बौं बजेट छुट्याएको हुन्छ ।  शिक्षा मन्त्रालयका अनुसार देशभर ३० हजार ६ सय २३ सामुदायिक विद्यालयमा ईसीडी सञ्चालनमा छन् । तिनमा हरेकमा एक जनाका हिसाबले ३० हजार ६ सय २३ सहजकर्ता अर्थात् शिक्षक छन् । तर, विद्यार्थी मुस्किलले ५ लाख ६१ हजार छन् भने विद्यार्थी पनि बर्सेनि घट्दै गएका छन् । गत वर्ष ६ लाख विद्यार्थी भर्ना भएकामा यो वर्ष ५ लाख ६१ हजार मात्र भर्ना भए । निजी तथा संस्थागत बालविकास केन्द्रमा भने सामुदायिकको तुलनामा विद्यार्थी बढेका छन् ।  नेपालमा निजी शिक्षण संस्थाका ८ हजार २ सय बालविकास केन्द्रमा ६ लाख ५९ हजार बालबालिका भर्ना भएका छन् । सामुदायिक विद्यालयका ३० हजार ६ सय २३ बालविकास केन्द्रमा मुस्किकले ५ लाख ६१ हजार विद्यार्थी हुँदा संस्थागत  विद्यालयका इसीडीमा ६ लाख ५९ हजार बालबालिका भर्ना भएका छन् । भर्नादेखि पठनपाठनसम्मै निःशुल्क हुँदा पनि विद्यार्थीको संख्या घट्दै गएको छ ।  सरकारले सामुदायिक विद्यालयका बालबालिकाको लागि दिवा खाजाका लागि भनेर ८ अर्बभन्दा बढी ठूलो बजेट छुट्याउने गरेको गरेको छ । तर विद्यार्थीको आकर्षण भने छैन ।  सामुदायिक विद्यालयमा विद्यार्थीलाई पढ्ने, खेल्नेसँगै खाजाको  व्यवस्था हुँदा पनि अभिभावकको रोजाइमा मन्टेश्वरी पर्ने गरेका छन् । प्रधानाध्यापक काफ्ले बालबालिका नआउनुको कारण व्यक्ति संघ संस्थाले खोलेका मन्टेश्वरीमा अभिभावकको रुचि बढी देखिनु रहेको बताउँछिन् । निरौला सामुदायिक विद्यालय कमजोर भएर निजी विद्यालयमा गएको भन्न नमिल्ने बताउँछन् ।  ‘अहिले सामुदायिक विद्यालयमा पनि राम्रो व्यवस्था छ, बालबालिकालाई खेल्ने, पढ्ने सिक्न सजिलो हुने व्यवस्था छ । शिक्षकहरू पनि तालिमप्राप्त  छन्, पाठ्यपुस्तक पनि राम्रो छ । तर बढ्दो सहरमुखी बसाइँसराइका कारण निजी बढी रोज्छन्,’ उनले भने ।