साताको सेयर बजारः कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौं । धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ । आइतबारदेखि बिहीबारसम्मको समग्र बजार सूचक चार दशमलवभन्दा बढीले वृद्धि भई दुई हजार ६७६ दशमलव ०३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार साताभरि कुल छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता सेयर ३२ अर्ब १७ करोड १३ लाख ३६ हजार १८९ बराबर रुपैयाँमा कारोबार भएको छ । मङ्गलबारबाहेक सबै दिन कारोबार रकम छ अर्बभन्दा बढी रह्यो भने मङ्गलबारको कारोबार ५ अर्बमा सीमित रह्यो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३९ दशमलव ९२ अङ्कले बढेर दुई हजार ६०० दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन एक करोड २३ लाख ७६ हजार ४७१ कित्ता सेयर छ अर्ब १९ करोड १८ लाख ८० हजार ९९६ मा किनबेच भएका थिए । सामूहिक लगानी समूहबाहेक अधिकांश उपसूचक बढे । सागर डिस्टिलरी, बन्दीपुर केबलकार र झापा इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड सात दशमलव ५६ प्रतिशतले घटेर सर्वाधिक गुमाउने समूहमा पर्यो । त्यस्तै, सोमबार नेप्से परिसूचक ५० दशमलव ४४ अङ्कले उकालो लागेर दुई हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड ३१ लाख ७८ हजार ६७६ कित्ता सेयर छ अर्ब ९८ करोड तीन लाख ६६ हजार ७४३ मा कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स २४ करोड ८१ लाख ५१ हजार ५४६ को कारोबारसहित शीर्ष स्थानमा रह्यो । झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोटेक इन्डस्ट्री लिमिटेडका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । मविलुङ इनर्जी लिमिटेड चार दशमलव ४४ प्रतिशतले घट्यो । मङ्गलबार नेप्से पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ६५५ दशमलव ९९ विन्दुमा पुगेको थियो । त्यस दिन एक करोड १३ लाख ९९ हजार ४१० कित्ता सेयर पाँच अर्ब ७७ करोड २३ लाख ६७ हजार २९ मा कारोबार भयो । विकास बैङ्क, जीवन बीमा, सामूहिक लगानी कोष र व्यापार समूहका उपसूचक घटे भने अन्य समूह बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै एक दशमलव ४१ प्रतिशतले उकालो लाग्यो । कारोबारको तेस्रो दिन बन्दीपुर केबलकार २६ करोड ९९ लाख ९७ हजार ६४९ को कारोबारसहित अग्रस्थानमा रह्यो । झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्दा सागर डिस्टिलरी र श्रीनगर एग्रोटेक इन्डस्ट्रीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए । जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड चार दशमलव ९६ प्रतिशतले घट्यो । त्यस्तै बुधबार नेप्से नौ दशमलव ६१ अङ्कले बढेर दुई हजार ६६५ दशमलव ६० विन्दुमा पुगेको थियो, जुन अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशत वृद्धि हो । सो दिन एक करोड २३ लाख ३१ हजार ७९१ कित्ता सेयर ९० हजार ७८२ पटकको कारोबारमार्फत छ अर्ब ६३ करोड ३९ लाख ४८ हजार ९३६ मा किनबेच भयो । वित्त, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बिमा समूहका उपसूचक घटे भने अन्य उपसूचक बढे । होटल तथा पर्यटन समूह शून्य दशमलव ९९ प्रतिशतले वृद्धि भएको थियो । बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर ६२ करोड ४३ लाख ४३ हजार २१५ बराबरको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई पुनः सकारात्मक सर्किट लाग्यो । त्यस्तै सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक, रिभरफल्स पावर र माहुली लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाए भने बोटलर्स नेपाल (बालाजु) तीन दशमलव ९४ प्रतिशतले घट्यो । साताको अन्तिम दिन बिहीबार पनि नेप्से बढेर साताभरिको कारोबार सकारात्मक रह्यो । नेप्से १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७८ दशमलव शून्य तीन विन्दुमा पुगेको थियो । बिहीबार कुल एक करोड ३७ लाख १३ हजार २५६ कित्ता सेयर छ अर्ब ५९ करोड २७ लाख ७२ हजार ४८३ मा कारोबार भयो । सागर डिस्टिलरीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रोटेक इन्डस्ट्री, झापा इनर्जी र एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीको लाभ कमाए । हिमस्टार ऊर्जा कम्पनी सर्वाधिक घट्ने कम्पनी बन्यो । बैङ्किङ समूहको उपसूचक एक दशमलव ४९ प्रतिशतले बढेर सबैभन्दा बढी उकालो लाग्यो । बजार निरन्तर उकालो लागिरहेको अवस्थामा निकट भविष्यमा आउने मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने देखिन्छ । हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्ताको मनोभाव मिश्रित देखिन्छ । यस्तोमा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा विस्तारमा प्रोत्साहन, पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ । साथै आगामी निर्वाचनको वातावरण स्थिर र सकारात्मक बन्दै जाँदा आर्थिक गतिविधि बढ्ने र यससम्बन्धी नीति सकारात्मक भए यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने जानकारहरू बताउँछन् ।
सिटि होटलको सेयरको कटअप मूल्य अधिकतम ४३६ रुपैयाँ, शुक्रबारदेखि रकम फिर्ता
काठमाडौं । सिटि होटलको कटअफ मूल्य निर्धारण गरिएको छ । होटलले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य अधिकतम ४३६ रुपैयाँ निर्धारण भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक समूहको सेयरको कटअफ मूल्य प्रतिकित्ता २५१ रुपैयाँ, कर्मचारीतर्फको लकईनमा रहेको सेयरको प्रतिकित्ता ३०६.१० र सर्वसाधारण समूहतर्फको लकईनमा नरहेको सेयरको प्रतिशत ४३६ रुपैयाँ निर्धारण भएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाको छ । सिटि होटलले गत कात्तिक २३ गतेदेखि कात्तिक ३० गतेसम्म २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमध्ये संस्थापक समूहतर्फ १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीतर्फको लकईनमा ६ हजार कित्ता र सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको १ लाख ५४ हजार ४१९ कित्ता थियो । प्राप्त शिलबन्दी बोलपत्र मंसिर ५ गते खोली मंसिर ११ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको जनाएको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर बापतको रकम मंसिर १२ गते शुक्रबारदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत मार्फत रकमान्तर गरिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
नेप्से १०.४३ अंकले बढ्यो, ६ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार वृद्धि भएर बन्द भएको छ । आइतबारदेखि लगातार बढ्दै आएको बजारले बिहीबार पनि उकालो यात्रा कायम राख्दै नेप्से परिसूचक १०.४३ अंकले उक्लिएर २,६७६ विन्दुमा पुगेको हाे । बजारमा १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३३३ कम्पनीका १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ, जसको कारोबार ४० करोड १७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा सागर डिष्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर इनर्जीकाे सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।