सोलु हाइड्रोमा लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज अन्तिम दिन
काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर ७ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्रीमा राखेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
नारायणी डेभलपमेन्ट बैंकमा संस्थापक सेयरधनी नै लगानी गर्न अनिच्छुक
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर संस्थापक सेयरधनी नै खरिद गर्न इच्छुक नरहेको देखिएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ७ गतेसम्म चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १:१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । तर, उक्त अवधिमा संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर बिक्री हुन सकेन । जसकारण संस्थापक समूहतर्फका सेयरधनी नै बैंकमा थप लगानी गर्न अनिच्छुक देखिएका हुन् । बैंकले अवितरित कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको छ । बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि मंसिर २५ गतेभित्र आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्श नगर वीरगन्ज, हेटौंडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल मिलनचोक, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
आजसम्म सेयरधनी बने दुई कम्पनीको बम्पर लाभांश पाइने
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुइटै कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । एनआरएनले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार रुपैयाँको ४० प्रतिशतका दरले ५१ करोड ३७ लाख ४८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ २.१० प्रतिशतका दरले २ करोड ७० लाख ३९ हजार रुपैयाँ नगद गरी ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ४ गते आम्रपाली व्याङक्वेट, काठमाडौंमा बिहान ९ बजे १३औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँको २.५ प्रतिशतका दरले १३ करोड ६४ लाख २० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशतका दरले ५४ करोड ५६ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले मंसिर २५ गते, राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान साढे १० बजे १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।