कामना सेवा विकास बैंकले पायो अग्राधिकार सेयर निष्कासनको स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार निष्कासन गर्न स्वीकृति दिएको छ । बैंकले  अंकित मूल्य १ सयका दरले ३५ लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको छ । विकास बैंकको १८औँ वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि धितोपत्र बोर्डमा पेस गरिएको थियो । बोर्डले सबै प्रक्रिया पूरा भएपछि सेयर जारी गर्ने अनुमति दिएको हो । अग्राधिकार सेयर निष्कासनपछि बैंकको पूँजीगत संरचना थप सुदृढ हुने, पुँजीकोष बढ्ने तथा बैंकले व्यवसाय विस्तारका अवसरहरू थप पाउने अपेक्षा गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार हालको बजार तरलता तथा प्रतिफल दरको अवस्थालाई हेर्दा ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर संस्थागत लगानीकर्ताका लागि उचित माध्यम हुनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजीकोष सुदृढीकरणका लागि हकप्रद सेयरका विकल्प स्वरूप अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गर्न सर्कुलरमार्फत गरेको थियो । 

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद खुला

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद-पुनर्खरिद खुला राखेको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेर पहिलो चरणको बाँडफाँड सम्पन्न भएको मितिले तीन महिनाभित्र योजना नियमित खरिद-पुर्नखरिदका लागि खुला गर्नुपर्ने प्रावधानअनुसार मंसिर १५ गतेदेखि नियमित कारोबारका लागि खुला गरिएको जनाएको हो । हालका लागि इकाइ खरिद तथा पुर्नखरिद प्रक्रिया एनआईसी एशिया क्यापिटलको रजिस्टर्ड कार्यालय ट्रेड टावर नेपाल, थापाथली-काठमाडौंबाट गर्न सकिने व्यवस्था मिलाइएको छ । क्यापिटलका अनुसार निकट भविष्यमै मोबाइल एप, अनलाइन पोर्टल तथा डिजिटल भुक्तानी माध्यममार्फत पनि इकाइ खरिद-पुनर्खरिद गर्न सकिनेछ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित 'एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम' कम्पनीको दोस्रो खुलामुखी म्युचुअल फन्ड योजना हो । नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फन्डहरूमध्ये पहिलो पटक मिनी एसआईपी (५ सय रुपैयाँ) तथा एसटीपी (सिस्टेमाटिक ट्रान्सफर प्लान) जस्ता विशेषताहरू यस योजनामा समावेश गरिएको क्यापिटलले जनाएको छ । योजनामा संकलित रकममध्ये अधिकांश हिस्सा धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूका सेयरमा लगानी गरिनेछ । भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूको छनोट गरी लगानी गर्ने लक्ष्य यस इक्विटी-ओरिएन्टेड फन्डको रहेको छ । योजनाको पहिलो चरणअन्तर्गत १० रुपैयाँ अंकित दरका ५ करोड इकाइ साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो । सो अवधिमा ८२ हजार ७३७ जना लगानीकर्ताबाट ७४ लाख १७ हजार इकाई बराबरको आवेदन प्राप्त भएको थियो, जुन कुल मागको १.४८ गुणा बढी हो । योग्य आवेदन दिने सबै लगानीकर्तालाई भदौ १६ गते इकाई वितरण गरिएको क्यापिटलले जनाएको छ ।

नेप्से ४.२८ अंकले घट्यो, ४ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर दुई हजार ६४५.२४ को विन्दुमा कायम भएको हो ।      सोमबार ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता सेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबारमा विकास बैंक ०.२६, वित्त ०.९१, जलविद्युत् ०.२२, उत्पादन तथा प्रशोधन ०.३० र लघुवित्त ०.६१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।      बैंकिङ ०.६८, होटल तथा पर्यटन ०.०४, लगानी ०.७३, जीवन बीमा ०.५१, म्युचुअल फन्ड ०.१७, व्यापार ०.१० र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ ।      सोमबारको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र झापा इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको सेयर मूल्य ९.५१ प्रतिशतले घटेको छ ।      कारोबार रकमका आधारमा सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको २७ करोड १० लाख तीन हजार १८० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सात लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ ।