मञ्जुश्री फाइनान्सको १० लाख कित्ता सेयर लिलामीमा, चैत २८ गतेदेखि आवेदन खुला

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको १० लाख ९० कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीको ९ लाख ३५ हजार ०७४ कित्ता संस्थापक र ६५ हजार ०१६ कित्ता सर्वसाधारण सेयर गरि सो मात्राको सेयर लिलामीमा आएको हो । कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक र सर्वसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । कम्पनीले लिलामीमा राखिएको ९ लाख ३५ हजार ०७४ कित्ता संस्थापक सेयर हाल भएको कुल संस्थापक सेयरको ६४.१६ प्रतिशत हो । फाइनान्सले पुस मसान्तमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार चुक्ता पुँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीमा ५१ प्रतिशत अर्थात १४ लाख ७५ हजार २८० कित्ता संस्थापक सेयर छ । कम्पनीले १ बराबर १.७५ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । निष्काशन गरेको हकप्रद सेयरमध्ये ३५ प्रतिशत सेयरको लागि आवेदन नै परेन । आवेदन नपरेको १० लाख ९० कित्ता सेयरको कम्पनीले लिलामीमा राखेको बताएको छ । फाइनान्सले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर चैत २८ गते खुला गरिने छ । साथै, आगामी वैशाख ५ गतेसम्ममा बिक्री प्रबन्धक एस क्यापिटलमा आवदेन गर्न सकिने संस्थाले जनाएको छ ।

सानिमा बैंकको १ करोड ५९ लाख कित्ता हकप्रद निष्कासन, १० कित्ता हुनेले ३ कित्ता हकप्रद पाउने

काठमाडौं । सानिमा बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अंकित १ करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैैंकले १० कित्ता सेयर बराबार ३ कित्ता (१०:३ को अनुपातमामा) सेयर दिने गरी हकप्रद निष्कासन गरेको हो । यो बैैंकले ५ अर्ब ३० करोड ५८ लाख ७२ हजार ३ सय रुपैयाँको चुक्ता पुँजीमा १ अर्ब ५९ करोड रुपैयाँ थप गर्ने उद्देश्यले हकप्रद निष्कासन गरेको हो । यो बैैंकको सेयर आवेदन आगामी बैशाख १७ गतेबाट जेठ २१ गतेसम्म खुला हुने भएको छ । यसको धितोपत्र निष्सकाशन तथा विक्री प्रवन्त्रक सीबीआईएल क्यापिटल लिमिटेड हो । यसको सेयर लागि सीबीआईएल क्यापिटल लिमिटेड डिल्लीबजार, सानिमा क्यापिटल लिमिटेड र सानिमा बैंकका शाखाबाट आवेदन दिन सकिने पनि उल्लेख छ । यो बैंकको प्रतिकित्ता सेयर ४९३ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर बजारमा सामान्य गिरावट, १ अर्ब ४१ करोडको सेयर कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । दिनभर उतारचढाव भएको बजारमा नेप्से परिसूचक ५ दशमलब ९८ अंकले ओरालो लागेर १६५१ अंकमा झरेको छ । सो दिन एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी एनसीसी बैंकको १२ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको छ । बजारमा कुल १४३ कम्पनीको २३ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको हो । बजारमा बीमा, अन्य र उत्पादनमूलक समूहको परिसूचक बाहेक कारोबार भएका सबै समूहका परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ५१ अंकले ओरालो लागेको छ । बीमा समूहको परिसूचक १५ अंकले उकालो लागेको छ भने अन्य र उत्पादनमूलक समूह स्थिर रहेका छन् ।