नेप्से परिसूचक १०३ अंकको वृद्धि, ५ अर्ब ७७ करोडको सेयर कारोबार
काठमाडौं । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०३.८५ अंकले बढेर अन्तिम दिन १४८६ अंकमा पुगेको छ । लगातार पाँचै दिन खुलेको बजारमा सबैदिन नेप्से परिसूचक उकालो लागेको छ । सातामा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि उलेख्य सुधार भएको छ । साताभर बजारमा ५ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा १५५ कम्पनीको एक करोड ८ लाख ३३ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता कारोबार रकम गत साताको भन्दा २२२ प्रतिशत बढि हो । गत साता एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । उत्पादनमूलक समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सो मध्ये सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९६ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत्, होटल, वाणिज्य बैंक र वित्त समूहको परिसूचक क्रमशः १६५, १३५, १०४, ९९ र ४२ अंकले उकालो लागेका छन् । यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो अवधिमा कम्पनीको ३२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको जम्मा आठ लाख ४९ हजार कित्ताको सेयर किनबेच भएको छ । त्यसैगरी कारोबार संख्याका आधारमा नेपाल बंगलादेश बैंक अगाडी रहेको छ । साताभर बैंकको १८९२ वटा कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २२.८८ अंकले बढेर ३२३.२६ अंकमा आईपुगेको छ ।
५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै, ठूला लगानीकर्ता आकर्षित
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली कार्यान्वयनमा गरेपछि भएको सार्वजनिक निस्कासनमा ५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै भएको छ । बोर्डले माघ १ गते देखि धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका, २०७३ को नयाँ व्यवस्था बमोजिम अनुसार आस्वा प्रणाली लागु गरेको थियो । आस्वा प्रणाली कार्यान्वयनमा आएपछि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, यूनाईटेड मोदी र स्ट्याण्डर्ड चार्टर्ड बैंङ्क गरी तीन वटा कम्पनीहरुको सार्वजनिक निष्काशन भएको थियो । यी तीनवटा सार्वजनिक निस्कासनमा कुल रकमको ५० प्रतिशत आस्वा प्रणालीबाट आवेदन गरिएको हो । कुल आवेदन संख्याको ४५ प्रतिशतसम्म आस्वा प्रणालीबाट आएको पनि बोर्डले जानकारी दिएको छ । बोर्डले आस्वा प्रणालीमा लगानीकर्ताहरुको सहभागितामा वृद्धि हुँदै गैरहेको जनाएको छ । सो अवधीमा बोर्डले आस्वा सदस्यता प्राप्त सात वाणिज्य बैंक, दुई बिकास बैंक तथा दुई फाईनान्स कम्पनीमा स्थलगत निरीक्षण पनि गरेको थियो । निरीक्षणका क्रममा बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई आवेदन फाराम संकलन प्रकृया सम्बन्धमा थप अभिमुखीकरण गर्न, आवेदन फाराम संकलनको रिपोर्टिड समयमै गर्न तथा प्रणालीगत सुक्ष्म निरीक्षण गरी सञ्चालन जोखिम सम्बन्धमा सजग गराएकोे थियो । केही बैंकहरुले अनलाईनबाट समेत शेयर फारम भर्न मिल्ने व्यवस्था समेत गरेको बोर्डको निरिक्षणमा फेला परेको थियो । आस्वा प्रणालीको सफल कार्यान्वयनका लागि बोर्डले बैंक तथा वित्तिय संस्थाको उच्च नेतृत्वसँगको छलफललाई पनि तिब्रता दिएको छ । बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुले आस्वा शुल्क परिमार्जन गर्ने, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्याङ्कहरु मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन उपयुक्त हुने लगायतका सुझाबहरु दिएका पथए ।
नेपाल हाइड्रोले तीन लाख कित्ता आइपीओको लागि माग्यो बोर्डको अनुमति
काठमाडौं । नेपाल हाइड्रो डेभलपर लि. ले ३ लाख ९० हजार कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । हाइड्रोले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।